उनीहरू पनाघरमा पुग्न लागेका के थिए मृगान्कोबाबुको आशंकाको पुष्टि भइहाल्यो। उनका कारको पेट्रोल सकियो। निकै समययता पेट्रोल देखाउने यन्त्रले राम्ररी काम गर्न छाडेको थियो। आज बिहान बाटो लाग्नुअघि उनले यो कुरा उनको चालक सुधीरलाई बताएका थिए। तर सुधीरले टेरपुच्छर लगाएन। वास्तवमा कारमा पेट्रोल यन्त्रले देखाएको भन्दा कम थियो।

‘अब तिमी के गर्छौ ? ’ मृगान्कोबाबुले सोधे।

‘म हिँडेर पनाघर जान्छु र पेट्रोल लिएर आउँछु,’ सुधीरले जवाफ दियो।

‘पनाघर कति टाढा छ ? ’

‘करिब तीन माइल।’

‘त्यसको मतलब मैले यहाँ कम्तीमा पनि अढाई घन्टा कुर्नुपर्ने भो। यो सब तिम्रै दोष हो। अब मैले के गर्ने हो तिमीले सोचेका छौ ? ’

मृगान्कोबाबु रमाइला मानिस थिए। साधारणतया उनी आफ्नो चालक वा नोकरलाई हप्कीदप्की गर्दैनथे। तर, त्यो एकलासे ठाउँमा दुई घन्टाभन्दा बढी समयसम्म कारमा एक्लै बस्नुपर्ने भयो भन्ने कुरा सम्झेर ल्याउँदा उनलाई झिज्याट लागेर आयो।

‘अँ, तिमी गइहाल। हामी ८ बजेसम्ममा कलकत्ता पुग्न सकौंला ? अहिले साढे तीन बज्यो।’

‘पुगिएला, हजुर। ८ बजेसम्ममा हामी अवश्यै फर्किन सक्छौं।’

‘पेट्रोललाई यो पैसा लेऊ। फेरि यस्तो गल्ती नदोहोर्‍याउनू। यति लामो यात्रामा तिमीले कहिल्यै यस्तो जोखिम उठाउनु हुँदैन।’

पैसा लिएर सुधीर पनाघरतिर हिँड्यो।

मृगान्कोशेखर मुखोपाध्याय प्रख्यात लेखक थिए। दुर्गापुरको एउटा क्लबले उनको अभिनन्दन गर्ने हेतुले सांस्कृतिक कार्यक्रममा उनलाई निम्ता गरेको थियो। रेलमा रिजर्भ सिट पाउन नसकेका हुनाले उनी कारमा निस्केका हुन्। एक कप चिया खानेबित्तिकै बिहान एकदम सबेरै उनले दुर्गापुरतिर प्रस्थान गरेका थिए। अहिले उनी घर फर्किने क्रममा थिए। उनी अन्धविश्वासमा विश्वास गर्ने खालका मानिस थिएनन्, त्यसैले कतैको यात्रामा जानुअघि उनी कहिल्यै पात्रो पल्टाएर साइत हेर्दैनथे। तर अहिले उनलाई कस्तो लाग्यो भने आज उनले यसो पात्रो हेर्ने लेठो गरेका भए र त्यसबाट लामो यात्रा गर्नु अशुभ हुन्छ भन्ने थाहा पाएका भए त्यो कुनै अचम्मको कुरा हुने थिएन।

उनले कारबाट ओर्लेर यसो आङ तन्काए अनि चुरोट सल्काए। त्यसपछि उनले यताउति हेरे।

उत्तरतिरका बादलहरूले छिटछिटो फैलिँदै गएर आकाशलाई ढाकिदिए। ठीक त्यहीबेला शीतल हावा चल्न थाल्यो। मृगान्कोबाबुले झोलाबाट जर्सी झिकेर लगाए। घाम ५ बजेतिर अस्ताउँथ्यो। त्यसपछि झन् चिसो हुन्थ्यो। अहो, सुधीरले उनलाई कस्तो अक्करमा फसाइदियो !

त्यो जनवरी महिनाको आखिरीतिरको कुरा हो। जमिनबाट सबै बाली उठाइसकिएका थिए। नाङ्गा बाँझा मैदानहरू अनेकौं माइल परसम्म पैmलिएका थिए। धेरै पर एउटा इमलीको रुखनेर सानो छाप्रो उभिएको देखियो। त्यहाँ बसोबासको अरू कुनै चिह्न देखिएन। त्यसभन्दा पर पाम वृक्षहरूको लस्कर ठडिएको थियो, अनि त्यसभन्दा उता घना, कालो जंगल थियो। सडकको एकातिर अर्थात् पूर्वतिर उनलाई त्यही दृश्यले स्वागत ग¥यो।

पश्चिमतिर पनि चिजबिज उति फरक थिएनन्। सडकदेखि करिब ४० फुट पर एउटा पोखरी थियो, तर त्यसमा पानी उति धेरै थिएन। केही काँडेदार झाडीलाई छाडेर त्यहाँबाट देखिने केही रुख एकदमै टाढा थिए। त्यहाँ दुईवटा छाप्रा थिए तर मानिसको चाहिँ कतै नामनिशान थिएन। जमिनको बीचमा एउटा बुख्याचा थियो। उत्तरतिरको आकाशमा बादलहरू थिए, तर मृगान्कोबाबु उभिएको ठाउँ भने एकदमै घमाइलो थियो।

हिउँदको बेला भए पनि अलिबेरपछि मृगान्कोबाबुलाई गर्मी अनुभव हुन थाल्यो। त्यसकारण उनी फर्केर कारमा आए। अनि झोलाबाट जासुसी उपन्यास झिकेर पढ्न थाले।

केही मिनेटअघि दुईवटा एम्बासेडर कार र एउटा लरी त्यहाँबाट अगाडि गएका थिए। दुईमध्ये एउटा कार कलकत्ताको दिशातिर लागेको थियो। केही मद्दत चाहिन्छ कि भनेर उनलाई सोध्न कुनै चालक पनि त्यहाँ रोकिएन। सबै बंगालीहरू स्वार्थी छन्, मृगान्कोबाबुले सोचे। उनीहरू कम्तीमा पनि त्यसो गर्दा आपूmलाई कुनै असुविस्ता हुने भएमा अरूको भलाइ वा सुविस्ताबारे कहिल्यै सोच्दैनन्। हैन, उनले पनि त त्यसै गरेका हुँदा हुन् ?       उनी पनि त आखिर बंगाली नै थिए। उनी सुविख्यात लेखक थिए, तर उनको यशले उनमा अन्तर्निहित कमजोरीहरूलाई पन्छाउन निश्चय नै सक्दैनथ्यो।

उत्तरतिरका बादलहरूले छिटछिटो फैलिँदै गएर आकाशलाई ढाकिदिए। ठीक त्यहीबेला शीतल हावा चल्न थाल्यो। मृगान्कोबाबुले झोलाबाट जर्सी झिकेर लगाए। घाम ५ बजेतिर अस्ताउँथ्यो। त्यसपछि झन् चिसो हुन्थ्यो। अहो, सुधीरले उनलाई कस्तो अक्करमा फसाइदियो !

मृगान्कोबाबुलाई आफ्नो चित्त पुस्तकमा एकाग्र हुन सक्दैन भन्ने थाहा भयो। सायद उनको कथाको लागि नयाँ विषयबारे यसो सोची हेर्नुपर्ला। भारत भन्ने पत्रिकाले एउटा कथा मागेको थियो, तर उनले अहिलेसम्म लेखेका थिएनन्। दुर्गापुरबाट आउँदा छोटो यात्राको क्रममा उनको दिमागमा एउटा कथाले स्वरूप लिन थालेको थियो। अहिले नोट बुक झिकेर उनले केही बुँदा टिपोट गरे।

लौ, कारमा बस्दा त झ्याउ लागेर पो आयो।

उनले नोट बुक थन्क्याए, बाहिर निस्के र अर्को चुरोट सल्काए। त्यसपछि केही पाइला हिँडेर उनी सडकको बीचमा उभिन पुगे। यस्तो लाग्थ्यो मानौं सिंगो संसारमा मानव प्राणी उनी एकजना मात्र छन्। उनलाई यतिविधि निर्जनपनाको अनुभूति कहिल्यै भएको थिएन।

तर होइन, त्यहाँ अर्को कोही पनि थियो।

त्यो थियो उही बुख्याचा।

त्यहाँ जमिनको एउटा सानो चक्ला थियो जसमा कसैले केही बिरुवा उमारेको थियो। सायद त्यो अर्को हिउँदे बाली हुँदो हो। जमिनमा बाँसको नोल ठाडो पारेर गाडिएको थियो, अनि त्यसमाथि अर्को बाँस तेर्सो पारेर अड्याइएको थियो। तेर्सो बाँसका दुई छेउ दुईवटा पाखुराजस्तो गरी तन्किएका थिए। त्यस ढाँचामा एउटा सर्ट भिराइएको थियो। त्यसका बाहुलाले ती ‘पाखुरा’लाई ढाकिदिएका थिए। ठाडो बाँसको टुप्पोमा माटाको भाँडो घोप्टो पारेर राखिएको थियो। टाढाबाट त्यो उति सजिलै देखिन्नथ्यो, तर मृगान्कोबाबुले अन्दाज गरे, त्यो भाँडामा कालो रङ लगाइएको होला अनि त्यसमा सेतो रङले बडाबडा आँखाका चित्र कोरिएका होलान्। कस्तो अचम्म ! चराहरू भ्रममा परेर त्यो बिजोकको आकृतिलाई मानिस भन्ठान्थे, अनि तिनीहरू डरले थुरथुर हुने हुँदा बाली बिगार्न पाउँदैनथे। हैन, चराहरू साँच्ची नै त्यति मूर्ख होलान् ! कुकुरहरू त त्यसबाट तर्सिदैनन् नि ! हो, तिनले त साँच्चीको मानिसलाई सुँघेर चिनिहाल्छन्। के काग र भँगेरामा त्यस्तो खालको सुँघ्ने शक्ति हुँदैन र ?

बादलहरूको छिद्रबाट सूर्यको प्रकाश निस्क्यो र त्यो बुख्याचामा पर्यो । मृगान्कोबाबुले देखे, बुख्याचाले बुट्टे सर्ट लगाएको रहेछ। उनले त्यो च्यातिएको, रातो र कालो बुट्टे सर्ट पहिले नै देखिसकेका थिए। अथवा कम्तीमा पनि त्यसले उनलाई कसैको सम्झना गरायो। हैन, को होला त्यो ?  मृगान्कोबाबुले सम्झिन खुब कोसिस गरे, तर सम्झिन सकेनन्। तैपनि उनलाई के कुराको निश्चय भयो भने उनले धेरै पहिले कसैले यस्तो सर्ट लगाएको देखेका थिए।

मृगान्कोबाबुले घडी हेरे। चार बजेर २० मिनेट गएछ। कारमा थर्मसमा चिया थियो। अब उनले अलिकता चिया खाए भयो। उनी फर्केर कारमा गए, थर्मसको बिर्कोमा चिया खन्याए र पिए। अहिले उनलाई अलि न्यानो अनुभव भयो।

काला बादलहरूको बीचबाट फेरि घामले चियायो। घाम पश्चिमतिरका रुखमा लागेको थियो। अर्को पाँच मिनेट जितमा घाम अस्ताउनेवाला थियो। बुख्याचामाथि रातोरातो प्रकाश प¥यो।

मृगान्कोबाबुको कारको छेउबाट अर्को एम्बासेडर अगाडि गयो। अरू अलिकता चिया पिएर उनी फेरि बाहिर निस्के। सुधीर अर्को एक घन्टासम्म आउनेवाला थिएन। हैन, त्यो समय उनले कसरी बिताउने होला ?

पश्चिमी आकाश बैजनी रङमा परिणत भएको थियो। बादलहरू हटेका थिए। घामको रातो चक्का छिटै नै क्षितिजमा डुबिहाल्यो। अब साँझ पर्न बेर लाग्ने छैन।

त्यो बुख्याचा ! कुनै अज्ञात कारणवश मृगान्कोबाबुको चित्त अचम्मसँग त्यो आकृतितर्फ आकृष्ट भइरह्यो। उनले आँखा झिमिक्क नपारी त्यसलाई हेरे। केही मिनेटपछि उनले त्यस्ता केही चिज देखे जसले उनको मुटुको ढुकढुकीलाई बढाइदिए।

हैन, त्यसको रूपरंग अलि बदलिएको हो ?  पहिलो नोलको छेउमा अर्को नोल ठाडो पारेर उभिएको हो ?  अथवा ती बाँसका नोल नभई खुट्टा पो हुन् कि ?

त्यो कालो भाँडो पनि निकै सानो देखियो।

सामान्यतया मृगान्कोबाबु उति धेरै चुरोट खाँदैनथे। तर अहिले भने उनलाई अर्को चुरोट सल्काउन मन लाग्यो। उनी यहाँ यो सुदूर ठाउँमा उभिएर चिजबिजहरू हेरिरहेका थिए।

हैन, बुख्याचाको आकृतिमा जीवन सञ्चार हुन सक्दो हो ?  हैन, अवश्यै सक्दैन। तर … मृगान्कोबाबुका आँखा फेरि त्यतै सोझिए। अब कुनै सन्देह रहेन। त्यो त अघि सरेको पो थियो। होइन, कुरो त्योभन्दा पनि बढी थियो। बुख्याचा हिँड्दै थियो, जोडतोडका साथ उनीतिर आउँदै थियो।

त्यो खुट्टा खोच्याउँदै हिँडिरहेको थियो, तर त्यसका खुट्टा त निश्चय नै दुईवटा थिए। माटाका भाँडाको सट्टा त्यसले त मानिसको टाउको पो भिरेको थियो। तर त्यसले सर्टचाहिँ अझै उही नै लगाएको थियो, अनि छोटो, अलि मैलो धोती।

‘बाबु !’ मृगान्कोको शरीरमा त्रासको लहर दगुर्यो । बुख्याचाले साँच्चि नै मानिसको स्वरमा बोल्यो र उनले त्यो स्वर चिने। त्यो अभिरामको स्वर थियो, जो धेरै वर्षअघि मृगान्कोबाबुको नोकर थियो। उसको घर यसै भेगमा कतै थियो। मृगान्कोबाबुले एकचोटि उसलाई तिम्रो घर कहाँ हो भनेर सोधेका थिए। मेरो घर मन्कारभन्दा उतातिर हो भनेर उसले जवाफ दिएको थियो। हैन, पनाघरभन्दा पहिले आउने स्टेसनको नाम मन्कार होइन र ?

डरले थुरथुर हुँदै मृगान्कोबाबुले पछिल्तिर केही पाइला सारे अनि कारमा झ्याप्पै अडेस लागेर उभिए। अहिले अभिराम झन् नजिक आइसकेको थियो। ऊ खाली दस गज जति पर उभिएको थियो।

‘तपाईं मलाई चिन्नुहुन्छ, बाबु ? ’ उसले सोध्यो।

मृगान्कोबाबुले भएभरको सबै साहस बटुलेर भने, ‘तिमी अभिराम हौ, हैन र ? ’

‘हजुर। लौ, तपाईंले यतिका वर्षपछि पनि मलाई साँच्चै नै चिन्नुभो।’

अभिराम सामान्य मानिसभन्दा फरक देखिएन। सायद त्यसैले त मृगान्कोबाबुले ऊसँग बोल्न साहस बटुल्न सकेका होलान्। ‘हो,’ उनले भने, ‘तिम्रो सर्टले मलाई तिम्रो सम्झना गरायो। यो सर्ट मैले तिमीलाई किनिदिएको होइन र ?’

‘हो, यो कुरा सही हो। तपाईंले मेरो लागि धेरै नै गर्नु भो, बाबु। तर त्यो सबैको अन्त्य किन त्यति नराम्रोसँग भएको होला ?       म पूरापूर निर्दोष थिएँ। तपाईंले मेरो कुरो किन नपत्याउनुभएको ? ’

मृगान्कोबाबुलाई तीन वर्षअघिको घटनाको सम्झना भयो। अभिरामले उनका परिवारमा काम गरेको २० वर्ष भएको थियो। सबैले उसलाई विश्वास गर्थे। तर एकदिन उसको दिमाग पन्चेट भएभैmं लाग्यो। मृगान्कोबाबुले विवाहको उपहारको रूपमा पाएको सुनको घडी उसले चोर्‍यो। अभिरामले आरोप त अवश्यै अस्वीकार ग¥यो, तर उसलाई त्यो वस्तु झिक्न समय र अवसर दुवै मिलेको थियो। त्यसको अतिरिक्त, मृगान्कोका पिताले रैथाने झाँक्रीलाई डाकेर उसले मन्त्र जपेपछि जब एउटा साधारण छेस्को अभिरामलाई देखाउँदै फन्फनी घुमेर रोकियो, ऊ दोषी हो भन्ने कुरामा सायद कुनै सन्देह रहेन। त्यसपछि अभिरामले आफ्नो जागिर गुमायो।

‘मैले तपाईंको घर छाडेपछि के भयो तपाईंलाई थाहा छ ? ’ अहिले उसले सोध्यो। ‘त्यसपछि मैले अन्त कतै पनि काम गरिनँ। बिरामी भएकाले गर्दा मैले काम गर्नै सकिनँ। मलाई लठ्ठिने बिमार लाग्यो र बिमारले झन्झन् च्याप्दै ल्यायो। तर मसँग डाक्टरकहाँ जाने वा दबाई किन्ने पैसा थिएन, न त मेरो गतिलो खान्की खाने औकात नै थियो। मलाई कहिल्यै निको भएन। यो सर्ट मेरो छोराले राख्यो। यो उसले अलि दिन लगायो। अनि यो फाट्यो। यस प्रकार यो बुख्याचाले लगाउन मिल्ने भयो। अनि मचाहिँ त्यही बुख्याचा भएँ। किन थाहा छ ?       किनभने एक न एक दिन फेरि तपाईंसँग भेट हुनेछ भन्ने मलाई थाहा थियो। मृत्युपछि मैले के थाहा पाएँ त्यो तपाईंलाई सुनाउन मेरो हृदयमा एकदम गहिरो इच्छा थियो – हो, मरेको मानिसको पनि त हृदय हुन सक्छ।’

‘तिमीले के थाहा पायौ, अभिराम ? ’

‘आज राति घर फर्कनु भएपछि लुगाफाटा राख्ने आलमारीमुनि हेर्नोस्। हो, त्यहाँ भित्तामा तपाईंले आफ्नो घडी भेट्टाउनु हुनेछ। तपाईंको नयाँ नोकर सबै कुनाकानी बढार्दैन, त्यसकारण उसले त्यो भेटेको छैन। त्यो घडी हात परेपछि अभिराम चोर होइन रहेछ भन्ने तपाईलाई थाहा हुनेछ।’

अभिरामको आकृति धमिलो भयो। अहिले एकदम अँध्यारो भइसकेको थियो। मृगान्कोबाबुले फेरि एकचोटि उसको स्वर सुने, ‘अब मलाई शान्ति मिल्यो। यतिका वर्षपछि आखिरमा मैले तपाईंलाई सत्य कुरा भन्न पाएँ। अहो, मलाई के साह्रो चैन भयो !… बिदा, बाबु। अब मैले जानैपर्छ।’

मृगान्कोबाबुका आँखाअगाडि अभिराम अलप भयो।

‘मैले पेट्रोल ल्याएँँ, हजुर !’

सुधीरको आवाजले मृगान्कोबाबुलाई ब्युँझाइदियो। कथाको उपयुक्त कथानकबारे सोच्दासोच्दै उनी झपक्क निदाएका थिए। उनले हातमा कलम समातेका समात्यै थिए। आँखा उघार्नासाथै उनले झटपट बुख्याचालाई पुलुक्क हेरे। पहिले उनले त्यसलाई जस्तो देखेका थिए ठीक त्यही रूपमा त्यो पर अभैm उभिइरहेको थियो।

घर पुगेपछि मृगान्कोबाबुले सोभैm आफ्ना कोठामा गएर आलमारीमुनि खोजतलास गरे। उनलाई आफ्नो घडी फेला पार्न गाह्रो परेन। अनि आइन्दा आफ्नो घरबाट कुनै चिज हरायो भने उनले कहिल्यै पनि झाँक्री नलगाउने निधो गरे।

अनुवादक : खगेन्द्र संग्रौला

(यसै साता सार्वजनिक हुने रायको कथासंग्रह ‘सत्यजित रायका कथा’ भित्रको एक कथा।)

Chandragirinews rocky बुख्याचा कृषि    chandragiriChandragirinews careerad बुख्याचा कृषि    chandragiriChandragirinews jebsad बुख्याचा कृषि    chandragiri

Comments

comments