भिण्डी, अकबरे खुर्सानी र हिउँदे सिमीमा अधिक विषादीको प्रयोग भेटिएको छ। त्यसो त गत वर्षभन्दा यस वर्ष पाँच करोडले बढी विषादी आयात भएको छ। गतवर्ष ६४ करोडको विषादी आयात भएकोमा यस वर्ष ६९ करोडको विभिन्न थरिका विषादी आयात भएको हो।

विभिन्न नाका भएर राजधानी भित्र्दै गर्दा तरकारीमा ४५ प्रतिशतभन्दा माथि विषादीको प्रयोग परीक्षणबाट पुष्टि भएको बाली संरक्षण निर्देशनालयले जनाएको छ। खेतीपातीमा प्रयोग गरिने सबै प्रकारका रासायनिक विषादी विष हुन्।

विषबाट जोगिन तरकारीलाई कम्तीमा ३० मिनेट नुनपानीमा डुबाएर मात्र पकाउन बालीविज्ञले सुझाव दिएका छन्।

रासायनिक विषादीको प्रयोगका कारण गर्भवती महिला र बालबालिकामा पहिलो प्रभाव देखिन्छ। गर्भवती महिलाको पेटमा रहेको बच्चा अपांग र नपुंसक जन्मनु, महिलाको पाठेघर सुक्न गई बाँझोपन देखिनु र जन्मिसकेका बालबालिकापछि सुस्तःमनस्थितिको हुनु विषादीको प्रमुख असर हो।

डाक्टर गेहेन्द्र वैद्य विषादीका अन्य कारण मानिस मुर्छा पर्नु, झाडापखाला, कम्पन, दृष्टी कमजोर तथा मृत्युसम्म ल्याउँछ भने लामो समयपछि देखिने असरमा अन्धोपना, क्यान्सर, ट्युमर, नपुंसक, विकृत बच्चाको जन्म, शरीरका विभिन्न अंगमा असर, नशासम्बन्धी समस्या ल्याउने बताउँछन्।

खेतबारीमा विषादीको प्रयोगबाट शिकारी माकुरा, गोब्रे किरा, चिप्लेकिरा, गाइने किरा, कर्ण किट, बाघे खपटे, मित्रु खपटे, मिरौड पतेरोलगायत सयौँ थरीका मित्रजीव लोपोन्मुख भएका छन्। शत्रुजीव व्यवस्थापनमा मित्रजीवको उल्लेखनीय भूमिका रहन्छ।

विश्व स्वास्थ संगठनका अनुसार झण्डै ३२ प्रतिशत आत्महत्या विषादीकै कारण भएको उल्लेख छ। संयुक्त राष्ट्रसंघले खतरनाक विषादी मानव स्वास्थ्य र वातावरणको लागि चुनौती रहेको जनाएको छ।

विषादी लक्षित समस्या समाधान गर्नेभन्दा मानव, वन्यजन्तु, पानीका स्रोत, माटो तथा हावामा समाविष्ट भइरहेको छ। मौरीलगायत परागसेचकको संख्यामा कमी आउनका कारण कृषि उत्पादनमा ह्रास तथा कृषि पर्यावरणमा रहेका मित्रजीवको कमी आउँदा र शत्रुजीवले विषादी पचाउने क्षमता विकास हुँदा विभिन्न रोगकिरा महामारीको रुपमा आउने गर्छ।

संसारमा हरेक वर्ष चार करोड मानिसमा विषादीले कतै न कतै र कुनै न कुनै रुपमा असर गरेको अनुमान छ। विश्वमा विषादीकै कारणबाट वार्षिक तीन लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको बाली संरक्षण निर्देशनालयका निर्देशक डा डिल्लीराम शर्मा बताउँछन्।

नेपालमा ४१० टन विष आयात भएको तथ्यांक छ। कीटनाशक १३८ टन, रोगनाशक १६४ टन, झारनाशक १०१ टन र अन्य सात टन रहेको छ।

सन् १९५२ मा नेपालमा मलेरिया नियन्त्रण गर्नका लागि विषादी भित्र्याइएको तथ्यांक छ। नेपालमा करिब एक हजार ४०० थरीका विषादी पञ्जीकृत गरिएको भएपनि १६ थरी क्रमशः क्लोरडेन, डिडिटी, डाइअल्ड्रिन, इन्ड्रिन, अल्ड्रिन, हेप्टाक्लोर, मिरेक्स, टोकसाफेन, बिएचसी, लिन्डेन, फस्फामिडन, अर्गेनोमर्करी, मिथायल पाराथायन, मेनोक्रोटोफस, इण्डोसल्फान र फोरेटलाई नेपालमा निषेध गरिएको छ।रासस

Comments

comments