कालिमाटीमै प्याज १३० रुपैयाँ !

कालिमाटी फलफूल तथा तरकारी बजारमै प्याजको मूल्य प्रतिकेजी १३० रुपैयाँ पुगेको छ। विगत एक सातामा प्याजको मूल्य ४७ प्रतिशतले बढेको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले गत बिहीबार प्रतिकेजी ८५ रुपैयाँ तोकेको प्याजको खुद्रा मूल्य आज १३० रुपैयाँसम्म पुगेको छ। यसअघि आइतबार ११५ रुपैयाँ थियो।

अन्य खुद्रा बजारमा भने प्रतिकेजी १४० रुपैयाँसम्म प्याजको कारोबार हुने गरेको छ। समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार मुलुक प्याजमा भारतनिर्भर भएकाले त्यहाँको नियमले यहाँ महँगो पर्न गएको हो।

‘प्याज भारतबाटै आयात हुन्छ, भारतले निर्यात दरमा कडाई गरेपछि त्यसको असर परेको हो’ उनले भने। नयाँ सिजनको उत्पादन बजारमा नआइसकेको र बाढीका कारण यसअघि ठूलो परिमाण नष्ट भएकाले भारतले निर्यात नीति कसिलो बनाएको हो।

निर्यातसम्वन्धी नयाँ नीति लागू गर्दै उसले दर बढाएपछि महँगो हुन गएको हो। श्रेष्ठका अनुसार भारतले अहिले प्याजमा प्रतिटन ८५० डलर निर्यात शुल्क लगाउने गरेको छ। डिसेम्बर (पुस मध्य) महिनासम्म यो शुल्क लागू हुने भएकाले त्यसयता प्याजको मूल्य नघट्ने भएको छ।

नयाँ प्याज आउन थालेपछि भारतले नीति परिवर्तन गर्ने बताइएको छ। डिसेम्बरपछि नयाँ प्याज आउने र त्यसपछि मात्रै नीति परिवर्तन भई सस्तिने अनुमान गरिएको छ। आर्थिक वर्ष २०७३/७४ मा भारतबाट ४ अर्ब २० करोड रुपैयाँ बराबरको प्याज आयात भएको भन्सार विभागको तथ्याङ्क छ।