“धर्म ” र “अध्यात्म ” का जिम्मेवार “देवता , गुरुवर्ग ,” हरुको यथार्थ

  • 31
    Shares

अजय भट्टराई
एक सन्त घाम तापेर बसिरहेका थिए । त्यसैबेला एक ” वैभवशाली” सम्राट सन्तको छेउमा आएर टक्क रोकिन्छन् र सन्त सङ्ग कुरा गर्छन,” मैले यो राज्यमा रहेका सम्पुर्ण जनलाइ दिन नसक्ने कुरा केहि पनि छैन । तपाइँ जे माग्नुहुन्छ , म त्यही उपहार टक्र्याउछु।” यो सुनेर सन्त आज्ञा गर्छन् ,” हे राजन ! अहिले तपाईंले मलाइ दिनसक्ने कुरा तपाइँसङ्ग केही पनि छैन , मात्र एउटा कुरा तपाईंले दिनसक्नुहुन्छ, त्यही कुरा माग्छु ,दिनुहोला। यतिखेर म घाम तापेर बसिरहेको छु, तपाइँको उपस्थितिले घाम छेकियो। कृपया घाम नछेकिदिनुहोला।”
यो सम्बाद निक्कै नै महत्त्वपूर्ण छ । सृष्टिमा सबैका लागि हावा, पानी आदि सम्पुर्ण आधारभूत कुराहरु पर्याप्त मात्रामा उपलब्ध छ । केवल अरुको भाग समेत ओगटेर राज नगरीकन बसे पुग्छ, कसैले कृपा , कष्ट गरेर कसैलाई केही दिनु पर्दैन ।
यो कुरा ” वैभवशाली” कृपालु देवताहरुको प्रसङ्गमा प्रासंगिक हुन्छ। हे देवताहरु ! हामी सम्पुर्ण नादान प्राणीमाथी सम्राट्ले सन्तसङ्ग गरेजस्तो व्यबहार कृपया ननगरिदेउ ।
देवताहरु वैभवका मालिक हुदाहुदै पनि भगवान बुद्ध सङ्ग ज्ञानको लागि शरण पर्थे। बुद्धलाइ कहिल्यै पनि देवताको वैभव आवश्यक परेन ।देवता बुद्ध बन्न नसक्लान ,तर ” सम्पुर्ण मानवमा बुद्ध बन्ने क्षमता छ।” यो भगवान् बुद्धको वाणी हो। तर आम मानव देवतासङ्ग भिख मागिरहेका छन, आफुलाइ चिन्न नसक्नाले।
हामी देवतालाई किन मान्छौ भन्ने कुरा हाम्रो आ-आफ्नो आवश्यकता र उद्देश्यमा भर पर्छ । यदि हामी आफुभित्र सुतिरहेको बुद्धत्वलाइ बिउँझाउन चाहन्छौ भने ,देवता राक्षस भन्दा पनि ठूलो ” मिठो खतरा” हुनसक्छ। किनभने आखा अगाडि देखिने खराब दैत्य तत्वबाट बच्न र उम्कनको लागि सजग र सचेत रहन सकिन्छ।तर देवताको अस्थित्व हामीसङ्ग यति धेरै सुमधुर र मिठो रुपमा गासिएको छ कि दैवी तत्व देखी मुक्त र स्वतन्त्र हुन त्यत्ति सजिलो छैन । मुक्ति वा निर्वाणको लागि राम्रा र नराम्रा ( दैवी र राक्षस ) दुवै तत्वबाट अलग्गै रहेर आफ्नो शुद्ध चैतन्य स्वरुपमा स्थित हुन सक्नुपर्छ।मुक्त पुरुष आदरणीय रामकृष्ण परमहम्स समेत कुनै समयमा काली माताको परमभक्त हुनुहुन्थ्यो।तर उहाँको कालीभक्तिले मुक्ती सम्भव नभएकोले कालीमाताको तस्बिरलाइ चकनाचुर पारेर पुर्णतः कालीभक्ति त्यागेपछि मात्र उहाको मुक्ति सम्भव भयो। त्यसैले हामी देवता र राक्षस तत्वबाट मुक्त नहुने हो भने जसरी हामी बेहोस भै जन्मेका थियौ, जिवनभर अज्ञानतामा बाचिरहेका छौ, त्यसैअनुरूप मुर्छा मै मर्ने छौं । जन्म जन्मान्तर सम्म यो चक्र चलिरहने छ।
हामी सबैलाई भ्रमपुर्ण पाठ के सिकाइएको छ भने “देवताहरु भगवान हुन् । ” जान्नैपर्ने र बुझ्नैपर्ने यथर्थ के हो भने देवता पनि भगवानको अंश मात्रै हो, भगवान होइन। हामी र पशु पन्छी पनि भगवानको अंश हौं ।फरक यत्ति मात्र छ कि देवताको अस्थित्व हाम्रो भन्दा अलग आयाममा र शक्तिको हिसाबले ठूलो छ। भगवान हुनलाई त देवता पनि भगवानको पुर्णतामा एकाकार हुन सक्नुपर्छ ।प्रायः देवतामा त्यो पुर्णता हुदैन। देवतामा पनि धेरै कमि कमजोरी र नराम्रा पक्ष हुन्छन् । यो कुरा सामान्यतया मन्छेलाइ थाहा नहुन सक्छ। एउटा उदाहरण हेरौ ; स्वस्थानी ब्रतकथामा लेखिएको छ – शिवजिले निर्दोश सात बर्षकी कन्या गोमा लाई भिक्षुकको रूपमा आइ भिक्षा दिन ढिलो गरेको सामान्य निहुँ पारेर ठूलो श्राप दिएका थिए। वास्तविक कारण के थियो भने गोमाका आमा बाबाले गणेशको सेवा भक्ती धेरै गरेकोले स्वर्गमा इन्द्रको आशन खतरामा पर्यो। त्येसैले इन्द्राशन जोगाउनको लागि शिवले त्यो कुकर्म गरेक थिए। तर शिवको आफ्नो तर्क थियो,”सेवकले पाप पनि गर्नुपर्छ।”
यस्तो अपराधलाइ पनि न्यायपुर्ण हो भनी भजाउन सक्ने वैदिक र दैवी शक्ति देवतासङ्ग छ र त देवताहरुले मानव समाजमा आफुलाइ परम नायकको रुपमा स्थापित गराउन सकेका छन् । भनिन्छ नि शक्ति जसको हुन्छ ,भक्ती उसको चल्छ, राज र राज्य पनि उसकै हुन्छ।
देवताहरु भित्र पनि दुःख, पिडा, असन्तोष आदि धेरै बिकार हुन्छ ।स्वर्गको भोग गर्न पाउँदा पाउदै पनि , चिताएको कुरा पुग्ने सिद्धि हुदाहुदै पनि देवताको मन शान्त रहन सक्दैन ।त्यसैले अनाहकमा ऋषिपत्नीको इज्जत लुट्न समेत देवता पछि नपरेको उदाहरण भेटिन्छ। समाजमा देवताहरुको अधिनत्व कायम रहेकोले उनिहरुकको बारेमा नराम्रो कुरा कमै सुनिन्छ। सबै वेद , पुराण र शास्त्रमा देवताकै चरम गुणगान भेटिन्छ। देवताको बिरुद्दमा बोल्नेलाइ त शास्त्रमै यो लोक र परलोकमा समेत दण्दित गराउने प्राबधान राखिएको छ। अनि को साहसी पुरुषले जोखिम मोलेर देवताको असलियत उदाङ्गो पार्ने हिम्मत गर्ला र आम मान्छेलाई देवताको बारेमा सहि जानकारी होस।
भारतमा धेरै महत्वपुर्ण दैवी स्थानहरुमा माता दुर्गाको मुर्ती निर्माणका लागि अनिवार्य रूपमा वेश्यालयहरुको (विशेषगरी रेड लाइट एरियाबाट )माटो संकलन गरी प्रयोगमा ल्याइन्छ।तन्त्र-शास्त्र र काम वासनालाइ विशेष महत्वका साथ हेरिने हिन्दु धर्मका सम्पुर्ण देवताका बरेमा राम्रा र नराम्रा पक्ष केलाइ , बुझी पुजा र भक्ती गर्नेहरु थोरै नै छ्न।
शिवजी भुत , प्रेत, मसान आदि वरिपरि राखेर हिड्ने गर्छन् भन्ने कुरा त धेरैलाई जानकारी छ। यसैगरी अरु देवताहरु पनि द्वारपाल, वीर , बोक्सी आदि सेनाबेना आफ्नो साथमा राख्ने गर्छन।कतिपय देवता त आफै बोक्सी हुन्छन् ।मत्स्येन्द्रनाथको आमा, दक्षिणकालीको आमा बोक्सी देवी हुन भनिन्छ । तान्त्रिक सन्सारका खेलाडी र बिज्ञहरुलाइ राम्रै थाहा छ, हिन्दु तान्त्रिक कु – शक्ति र बोक्सीहरुकी आराध्य देवी (गुरु) शिवकी अर्धाङ्गीनि हुन। यी त जो कोहीले थाहा पाउन नसक्ने कुरा हुनसक्छ। तर निर्दोश पशु पन्छीहरुलाइ मठ -मन्दिरमा , चाड-पर्वमा वलि दिएको त सबैले देखेका नै छौ। तपाईंले आफ्नो मनलाई कहिल्यै सोध्नुभयो ,” के यो कार्यले पशु पन्छी को हकमा न्याय भयो त ?!” सबैको भित्री मनले भन्छ ,” यो त सिधै अन्याय हो !” एकाथरी काटमारका पक्षधरहरु तर्क

गर्छन् ,” देवतालाई वलि दिएपछी प्राणीको मुक्ती हुन्छ ।” यो तर्क पुर्णतः सहि होइन।प्राणीको मुक्ती तबमात्र हुन्छ, जब उसको प्राणले गतिपुर्बक शरीर त्याग्न पाउछ। हरेकले बलि दिने बेला कुन चाहिँ विधि अपनाएको हुन्छ र , कि त्यो विधिले प्राणीको मुक्ति होस ?! ठुलो आर्तनाद र क्रन्दन अनि असह्य पीडाले छट्पटी गर्दै प्राणीको हत्या भएको सबैले देखेकै हो। त्यही कहालीलाग्दो अन्तिम च्युत चित्त लिएर प्राणीको चेतनाले शरीर त्याग गरेपछि के त्यो प्राणीको चेतना मुक्त र शान्त भै ब्रह्माण्डमा बिचरण गर्ला त !!! ? यो त देवताको नाममा भएको पापको नाङ्गो रुप हो ।
देवता भगवान हुन भन्ने आम मान्यताले गर्दा सबै मान्छे जानी नजानी पुजा भक्ती गर्दा सेवाको फल मेवा त पाउलान् तर आफ्नो चीर शान्ति ,पुर्ण रूपमा दुःख हरण र मुक्तिको आभाष पाएको भेटिन्न।भन्न खोजेको के हो भने शास्त्र र वेद पुराणमा सिकाइए अनुसारको देवताको सेवा भाव र सत्कर्म त गरिन्छ , भौतिक फल पनि प्रचुर मिल्ला नमिल्ला तर त्यसमा उल्लेखित जिवन मृत्युको चक्र्भ्युह बाट नै मुक्ती मिलेको कसैलाई पनि देखिन्न।
समाज भनेको एक किसिमको सम्मोहनको सन्सार हो , यहाँ कुशल सम्मोहकले राज गर्छन भने जो नादान छन् र उनिहरुबाट सम्मोहित हुन पुगेका छन् , उनिहरु आफुलाइ जानी नजानी कौडिको भाउमा लुटाइरहेका छन् ।देवताहरुको पनि यो समाजमा यस्तै सम्मोहन ब्याप्त रहेको छ।
काल आएपछि हामीलाई कुनैपनि देवताको ताकतले बचाउन सक्दैन । जिवनमा यस्ता धेरै कुराहरू छन् जसमा देवताको कुनै जोड चल्दैन ।अब भन्नुस् हामी कसरी आफ्नो समग्र अस्थित्व देवता सामु सुम्पेर ढुक्कसँग बस्न सक्छौ र?! सामान्य अवस्थामा त देवताको सेवा गरेर मेवा खान पाइएला तर जिवनमा कुनै संकटको घडी आउदा हाम्रो भित्री मन देवता प्रति पुर्ण रूपमा बिस्वस्त हुन नसकेको सबको अनुभब हो। ढुक्कसँग बसेको अवस्थामा चर्चमा येशु भक्तहरु भुकम्प आउँदा प्रभुले बचाउनु हुनेछ भनी नभागी बस्दा भबनमै किचिएर मरेको जस्तो हालत हुन्छ। देवतालाई बिश्वास गर्छु भनी मुखले र मनले भन्न सजिलो छ ,तर वास्तवमै विस्वास गरिन्छ कि गरिन्न भन्ने कुरा त अग्नि परिक्षा को घडीमा थाहा हुन्छ ।
यहाँ त देवताको भक्ती गर्ने ढोङीहरुको बिगबिगी छ।त्यसैले त धर्म र अध्यात्मको व्यापार पनि निक्कै नै फस्टाएको छ।यो व्यापारले व्यापारी वर्गलाइ त भौतिक समाजमा नाम,दाम र स्थान मिल्छ नै तर आम ग्राहक वर्ग भने आफ्नो आत्मिक जिन्दगीको अमुल्य समय खर्च गरेर, अमुल्य जुनि बर्बाद गरेर सामान्य क्षणभङ्गुर शान्ति र तुच्छ भौतिक फलको खरिद गरिरहेका छन ।विभिन्न धर्म सम्प्रदायहरु, आध्यात्मिक समूह र संगठनहरु, विभिन्न तह र तप्काका ” गुरु,पण्डित ,………” आदिले यो समाजमा गहिरो जरो गाडेका छन् ।आम मानव समुदाय पुजा , पाठ देखि लिएर ठुलो ठुलो त्यागका कर्म गरी परमात्मा खरिद गर्ने प्रलोभनमा आफ्नो अमूल्य जिन्दगी बिक्री गरिरहेका छन् ।हजारौं ,लाखौंमा एउटाले त बुद्धले जस्तै आफुले खरिद गर्न चाहेको कुरा पाउन सक्ला तर बाकी सबै मान्छे अलपत्र परेका छन् ।भारतमा मात्रै करिब एक करोड मान्छेहरु सन्यासी जीवन बिताइरहेका छन ।
भौतिक सन्सारको लागि ” ब्यापार ” नराम्रो काम होइन तर के कुराको ब्यापार हो , त्यो महत्त्वपूर्ण हुन्छ ।समग्र मानव समुदायलाइ मानसिक चिन्ता र समस्याले पिरोलिरहेको बर्तमान समयमा “धर्म “र ” अध्यात्म ” का ब्यापारीहरु भयानक रुपले फस्टाएको अवस्था छ।जुन कुरा खराब हुन्छ , त्यसबाट हामी सतर्क रहन सक्छौ।तर यी धर्म र अध्यात्मका ब्यापारीहरु यत्ति धेरै मनमोहक हुन्छन् कि यिनिहरुदेखी सतर्क हुन सक्ने कुनै बाटो नै छैन ।जुन दिन हाम्रो आखा खुल्छ वा यिनिहरुलाइ चिन्छौ, हामी बर्बाद भैसकेको हुनसक्छौ।यसको मुख्य कारण हाम्रो अन्धकारमय जीवन यात्रा हो। अलिकति चेतनशील व्यक्ति उज्यालो र अर्थपुर्ण जीवनको खोजिमा लाग्छ तर उ पनि समाजमा बिगबिगी र बर्चस्व रहेको देखिने यस्ता ब्यपारीहरुको चक्रभ्युहमा आफ्नो जीवन बर्बाद गर्छ ।आखिर हामी जस्तो अन्धो चेतनशील ब्यक्तिलाइ आफ्नो आखा नखुलेको त थाहा हुन्छ तर अरु कसको आखा खुलेको छ भन्ने चाहिँ थाहा हुन्न ।फलस्वरूप अन्धा ब्यापारीको प्रकाश-बर्णन सुनेरै जीवन अन्धकारमा इति श्री गर्छन् । हे धर्म र अध्यात्मका ब्यापारीहरु ,देवताहरु ! ताकत छ भने अन्धो चेतनाको आखा उघर्ने काम गर, प्रकाशको बर्णन त अन्धोले पनि गर्न सक्छ ,सुगाले पनि रट्न सक्छ ।


  • 31
    Shares

Comments

comments