लाहुरेको यात्रा संस्मरण

  • 11
    Shares

भैरव अर्याल-

एक त आफ्नो जातै वीर, दोस्रो वीरबहादुरको झनाति, तेस्रो नामै मेरो वीरबल  पाँडे – अब म कत्रो वीर हुँला भन्नै पर्दैन ! त्यसमाथि पनि नेपालको नाइटैबाट जन्मेको कान्तिपुरेकाजी भनेपछि त कुरै खलास । त्यसैले त, वीरधाराको कलकल जल वीरगन्जे ताप्केमा उमालेर सुक्र्याइदिएपछि कहिलेकाहीँ भोजन र सोजन, मेरो भोक त स्वयं भकुरिएर भागिहाल्छ । आखिर भुँडी भर्नुसम्मै त हो, बल र तागत भन्ने वस्तु त बाबुबाजेको नामैदेखि टाँसिएर आएको छँदै छ नि !

कत्राकत्रा युद्ध, महायुद्दमा वीरता देखाउन सक्नेको सन्तान, एक बटुको खोले पियोस् वा हाफ प्लेट छोलेको भरमा जिओस्, यति मामुली कुरामा केको खोजीनिती ? अझै मेरो वीरतामाथि विश्वास छैन भने हेर्न आउनुहोला, बाजेले बर्माको लडाइँमा वीरगति प्राप्त गरी कमाएको वीरचक्र अहिलेसम्म चूलोमाथिको दलिनमा घुसारेको छँदै छ ।

त्यसैले त हो, रोग लागेको बेलामा पनि सौभाग्य मिले वीर अस्पतालै पुग्न पाइन्छ जहाँ औषधिले रङ्गाएको उही वीरधाराको निर्मल जल कैयौँ वीरहरुले प्रत्यक दिन सितैमा सुक्र्याउन पाउँछन्, जसमध्ये म पनि एक हुँ । तर मेरा कुनैकुनै साथी यस्ता निर्दोष छन्, वीरको अस्पताल पुग्न छाडेर रोगाएको एक महिना नहुँदै डाक्टर–पूजा गर्न थाल्छन् । यो कुरा मलाई पटक्कै मन पर्दैन र म भन्छु( नामर्दको ओखती पो नमर्दै हुन्छ त, मर्दको ओखती मर्दा भोलिपल्टसम्म गरे हुन्छ बाबै ! कतिपय साहित्यकार, कलाकार आदिलेसमेत अवलम्बन् गरेको यो सिद्धान्त आफूले छाड्ने कसरी ? आखिर बेकार भए पनि म एउटा कार हुँ, लुरे भए पनि वीर जातिको आकार हुँ ।

आजको आर्थिक युगमा, आर्थिकै दृष्टिले हेर्ने हो भने पनि मेरो सिद्दान्त रामबाण जस्तो छ । ‘मर्दको दसोटी हुँन्छन्’ भन्ने हाम्रो लौकिक आदर्शमुताबिक एउटा भालेलाई दसोटीसम्म पोथि गुटमुटयाउने  लाइसेन्स समाजले दिएकै छ । यो विख्यात मर्दताको फलस्वरुप चूल्हैपिच्छे खोलिएका पुत्रपुत्री प्रोडक्सन ‘बहुपत्नी लिमिटेड’ का शाखाहरुबाट धडाधड उत्पादन हुने साराका साराले भोक लाग्नेबित्तिकै खान र रोग लाग्नेबित्तिकै उपचार गराउन थाले भने भोलिदेखि आकाशतिर फर्केर फूलौरा बर्सलान् कि भनि आँऽऽ मुख बाउन नपर्ला भन्ने के ग्यारेन्टी? वीर भएकोले इलमउधोगको पीर गर्नापट्टि लागिएन त, कि दाउरे बन,कि लाहुरे बनकै जम्बामर्दी संस्कारमा हुर्कियो अहिलेसम्म ! अनि भन्नोस् मैले झैँ रोग, भोकलाई स्वातन्त्र्य नदिने हो भने आखिर पोखरा–भर्ती केन्द्रजस्तै लमजुङ–भर्ती केन्द्रसमेत खोल्नुर्पयो भने !

लौ, म कुरो गर्न लागेको त सोझै हो, तर अतिथि इन्जिनियरहरुले बनाइदिएको बाटाघाटाको नक्साझैँ दसतिर टेढिएर लम्किन गएकोमा माफ राख्नुहोला । मुख्य कुरो के भने, यत्रो वीर भएर पनि अहिलेसम्म गोडामा एक जोर लाहुरे जुर्राफ पर्न सकेको छैन । हुन त नामको लागि एउटा काम गर्नुभन्दा नामको लागि सत्रोटालाई सलाम गर्नु आजको सभ्यता हो, तर एक बारको चोलामा झोला बोकेर लाहुरै नगई के मर्नु जस्तो लागेर आयो । तन्नेरीमा लाहुर नपस्ने र बुढयाइँमा काशी नबस्ने नेपाली गति पर्दैन भन्छन् । हुन पनि वीरको छाउरो भएपछि फ्याउरोझैँ के आफ्नै घरका लुते धन्धामा लाग्नु त ।

ल, कुरो त फेरि मन्त्रीज्यूको भाषणझैँ उही पो दोहोरियो । आखिर जति भूमिका भट्टयाए पनि म जान लागेको थिएँ लाहुर, त्यसैले इस्टकोटको टाँक लगाएर खुकुरीवाल टोपी छड्के पारेँ, अलिअलि सामलतुमलको झोला भिरेँ, हिँडे । तपाईलाई के ढाँटौँ कुरा ! जति ढाँट्ने साहूलाई नै ढाँटी गोजीमा जमाएको थिएँ– गोडा सोरेक रुपियाँ । त्यहि पनि साट्सुट गर्दा ठयाम्मै भयो दसको नोट । पैसा मात्रै भनेर हुन्छ, देशी पैसा, हामीकहाँबाट मसिना चामल झिकाउने पैसा, हाम्रो पैसा उताबाट उसिना चामल बेसाउने पैसा ? जे होस्, आफूलाई चाहिएको थियो नयाँ ठाउँमा जान नयाँ पैसा । आखिर पुग्नुसम्मलाई त हो, लाहुर पुग्नेबितिकै त वीर नेपाली आएको भनेपछि नोटको माला लिएर स्वागत गरिहाल्छन् । त्यसैले आनेकाने कुरा नहेरी कालधाराबाट म लुसुक्क निस्केर पुगिहालेँ सुनधारा ।

“ओहो ! वीरबलबाबू कता नि ?” बसमा उक्लनेबित्तिकै सुनियो एउटा बूढी–स्वर । यसो हेर्छु त आफ्नै भक्तिनी बज्यै । दुई तिनोटी तरुनीको माझमा बसेर रामनामी टाउकोमा राखेर रुद्रा घुमाइरहेकी । “म त लाहुरतिर, आमै कता नि ?”

मैले सोधि नसक्तै बूढी थोते मुख नचाउँदै भन्न थालिन् – “कहाँ हुन्थ्यो, उनै विश्वनाथ बाबाको पाउमा त हो नि ? यी नानिहरुले पनि साह्रै सास्ती पाएछन्, सबै अनाथको बाबा विश्वनाथ भनेर उतै लिएर हिँडेकी । एउटीलाई सासूले नसहेर छुट्टी,  अर्कीको पोइ लाहुर… ।” बूढी परी लाउँदै थिइन्, बीचैबाट अर्को एउटा भलादमीले प्वाक्क भन्यो– “कूरो राम्रो, विश्वनाथ बाबालाई सधैँ भेटी मात्र कति चढाउनु त, कहिलेकाहीँ केटी पनि चढाइदिनै पर्छ । यसबाट एकतिर चेलिबेटीको उद्धार हुन्छ, अर्कोतिर आफ्नो दालरोटीको समस्यै टर्छ ।” भलादमीले यो कस्तो कुरा गरेका हुन्, म त लक्क न बक्क भै जिल्लिँदै थिएँ, बूढी आमै भने जिस्क्याइएको जँडयाहाझैँ पाखूरा खैँचेर सराप्न थालिन्– “तीर्थ जान लागेका मेरा छोरीबेटीसँग आँखा जुधाउने तँ लुठलाई पख्लास् !” वास्तवमा त्यो बिचरो भलादमीले आँखा जुधाएकै थिएन है,  नभएको कुरा भन्नु पाप लाग्छ,तर बूढी किनकिन त्यसै रन्किन् र मसित भन्न थालिन्– “हेर्नोस् न बाबू,  के मैले यी  केटीहरुलाई भागीरथीमा बगाइदिउँला त ?” भलादमीले भने – “भागीरथीमा बगाए त केही थिएन, माझीले उताथ्र्यो, तर च–चार पाथि चनामा मोलाउली भन्ने पो डर त ।” यो औडेखौडे कुरा के हो, मैले भने आधुनिक साहित्यजस्तै सबै बुझेर पनि केही बुझ्न सकिनँ ।

‘असार–साउनको माटो, बाइरोडको बाटो ।’ ड्राइभर रमले रन्न, ट्रक यात्रुले टन्न । अब चाहियो के र ? एकछिन त थचाराथचार धक्कमधक्काले निकै स्वाद चखाएको थियो, तर जतिजति ट्रक उँभोउँभो लाग्दै गयो, उतिउति आफ्नो हंश भने उँधोउँधो हुँदै गयो । तै पनि वीरको यात्रा वीरताकै माफिक हुन्छ भन्दै बूढीका चेलीबेटीलाई म आश्वासन दिँदै थिएँ– तीर्थ जानेलाई केको डर ? बाँचे वाराणसी, मरे अमरावती । तर, नढाँटीकन भनूँ भने आफूलाई चाहिँ सन्देहै थियो । बाँचे त म लाहुर पुग्छुपुग्छु मरे कहाँ पुग्छु ? स्वर्ग कि नरक ? स्वर्गै पुग्न त अमरावती इन्स्योरेन्सन कम्पनीका एजेन्ट–बाजेहरुलाई खीर खुवाएकै छैन । जे होस्, वीरजातिको सन्तान भएकोले बाबुबाजेले कमाइदिएको नामकै भरमा चित्रगुप्तले कमसेकम सेकेन्ड क्लास सिट त कसो नदेलान् !

म आफ्नै सोचाइमा एकसुर थिँए, पछाडिबाट कोट्टयाउँदै एक जना साहूजीले भने… “तपाईं लाहुर जाने भए त्यतातिर रायोको सागको माग विचार गर्नुहोला है ! नभए एजेन्ट बनेर प्रचार गरे कमिसन पनि दिउँला । मेरो व्यापार चानचुने छैन बुझ्नुभो, यसपालि मात्रै पाँच हजारको साग निकासी भयो ।” आफ्नो मूल राष्ट्रिय तरकारी पनि विदेश निकासी गर्ने साहुको कुरा सुन्दा मरो भने सार्है चित्त दुख्यो र भनिहाले – “बिहानबेलुका अरु थोक केही नपाए पनि डुकुको झोलसित ढिँडो पुकुपुकु निल्न सकिन्थ्यो, त्यही डुकु पनि निकासी गरिदिएपछि त तरकारी मात्रै होइन, भोलिदेखि तिहुनकै समस्या त पर्दैन ?” साहूले बीचमै कुरा काट्तै भने– “तिहुनको समस्या झन् टर्छ । गहिरिएर हेर्नोस् त, यताबाट सागका मुठा पठायो, उताबाट सब्जीको डिब्बा झिकायो । मीठोको ठाउँमा मीठो, छिटोको ठाउँमा छिटो, कुरा बुझ्नुभएन ? यस्तै हुन्छ चतुरहरुको व्यापार !” साहूको कुरा मलाई मनासिबै लाग्यो । आजको जमानामा पनि उहाँको झिलिमिली रेडिमेड ‘सब्जी’ खान छाडेर टुकुचामा पखालेको डुकुचा को केलाइरहोस् । सरकारी काममा होस् कि तरकारी खानमा होस्, सबैतिर छिटोछरितोपनको आवश्यकता छ आज, आधुनिक सभ्यता भनेकै यही न हो !

साहूजीसित कुरा गर्दागर्दै आफू त सातघुम्तीमा हाराबारा तोरी गर्दै घुम्न पुगिसकिएछ । भक्तिनी बुढिया रामराम भन्दै थिइन्, तर ड्राइभर हराम परेकोले ट्रक झन्झन् वेगसित घुम्न थाल्यो । घच्चाघच्ची गर्दागर्दै लागेछ क्यार चौधरीज्यूलाई १ कालोकालो अनुहारलाई रिसले झन् कालो पार्दै झपारिहाले– “पहाडिया लोग मूर्ख होते हैं । सडक बनवा दी है हम लोगों ने, घच्चा देते हैं हमें ही । जरा सन्मान के कायदे सीखो ।” आफूले त पक्की भाषा जानेको भए पो बुझ्नु ! पक्की बात गर्न पनि कि लाहुर हुनुपर्छ कि जोगी हुनुपर्छ यहाँ । तैपनि शिष्टतापूर्वक चौधरीज्युलाई भनेँ– “बाटोमा कहिलेकाहीँ घच्चा लाग्छ हजुर ! नरिसाउनोस् ।” चितुवाका जस्ता आँखा एक पटक तरेर उनकी श्रीमतिले भनिन्– “आइन्दा ऐसा मत करना, कहाँ जा रहे हो ? हमारे यहाँ नौकर बैठेगा ?” यो कुराले भने मलाई यस्तरी रनक छुटायो कि फट्कारेर भनिदिएँ– “म त लाहुर पस्न लागेको पो त, तिमीकहाँ नोकर बस्छु ?” “बैठोगे तो तुम्हें हम दरबान भी बना देंगे” भनी चौधरनी भाउजू आँखा नचाउँदै थिइन्, म फरक्क फर्केर पुगेँ अर्कै छेउमा ।

प्राणवायु अपानवायु दुवै समान भएकाले ट्रकभित्र सास फेर्न पनि मुस्किल परिरहेको थियो । घुइँचोले कुन कसको सीट हो,कोको कहाँनिर छन् पत्तै भएन, मानौँ संसार–सागर त्यहीँ थियो । त्यसैले मलाई लागिरहेको थियो– लाहुरबाट फर्किंदा त म यो भद्रगोलमा के बस्थेँ, त्यति बेला आफूसित रुपियाँको ब्याग हुन्छ, स्वास्नीलाई ल्याइदिएका लुगागहना हुन्छन केके हुन्छन् केके ! सम्झेर के साध्य ! देश भनेको देशै हो, धन हुने बाबूसाहेबहरुको राख्न जाने ठाँउ पनि उहीँ, नहुनेहरुको कमाउन जाने ठाँउ पनि उहीँ । दाजुभाइसित झगडा परे झिटीझाम्टा जिम्मा दिने पनि उतै, बाबुआमाले गाली गरे पाखुरा खैँचन पाइने पनि उतैबाट । कस्तो विचित्र ठाउँ होला त त्यो !

मैले गम्दागम्दै ट्रक त पुगिसकेछ रक्सोल । उत्रनेबित्तिकै विभिन्न थरी उर्दीपोसाक लाएकाहरुले “बाबूजी, इधरउधर” भन्दै मलाई छोपिहाले । वीर नेपाली भनेपछि स्वागतार्थी पनि कतिकति आएका ए ! मैले नेप्टै  पनि आफ्नो नाक फर्सीजस्तो पारी फुलाएँ । तर फसादचाहिँ के प¥यो भने सबैले तानेपछि जाने कतातिर ? ससुराली भिन्न भएको साल सोह्रसरादको श्राद्धमा गएको जुवाइँलाई जस्तो अप्ठयारो प¥योे आफूलाई त । “क्याहो ए वीरबल भान्जा ! तिमी पनि यहाँ ?” त्यहीँ नजिकबाट आफ्ना मामाको स्वरले मलाई झसङ्ग पारिदियो । “ओहो, मामा तिमी पनि यहाँ ?” मामालाई झम्टँदै मैले पनि सोधिहालेँ– “उता लाहुर गएको भन्थे– यहीँ हो कि क्या हो लाहुर ?” मलाई आफूले तानिरहेको रिक्सामा बस्ने अनुरोध गर्दै मामाले भने– “तिमी अलि सोझा छौ भान्जा ! नेपालीको निम्ति डाँडो काटयो कि लाहुर ! तिमी कता नि ?” मैले चकित भावमा जबाफ दिएँ– “म पनि लाहुरतिर लागेको !” “लाहुर त लाहुर, तिमी साँच्चीकै लाहुर पुग्न आँटेछौ, पोकोपन्तरो खोइ ?” यताउति हेरेर झपार्दै मामाले भने । नभन्दै पोकोपन्तरो त अर्कै स्वागतार्थीले अघि नै लगिसकेछ– अब कहाँ कसलाई समाउन जाने त लौ !

“फ्याकिँदेउ त्यो टोपीसोपी, यता टोपीको दर्शन पाएपछि पोको मात्रै होइन पोकोवालालाई बोकोझैँ घिच्च्याएर बेचिदिन बेर छैन बाबै !” मामाको यो व्याख्यान मैले केही पनि बुझिनँ  । तैपनि टोपी फुकालेर रिक्सामा बसेँ । मामा सोध्दै गए– “अब के गर्छौ त ? रिक्सै चलाउँछौ भने, मामाभानिजको कामकुरो मिलिहाल्यो । होइन, म त नोकरी नै गर्छु भन्छै भने कुनै होटेलमा बेरा खाली छ कि बुझ्नुपर्ला ।” मामाको यस प्रश्नले मलाई छक्क पार्‍यो र सोधेँ– “के साँच्चै लाहुर यही हो मामा ?” मामाले मुस्कुराउँदै जबाफ दिए( “भनिहालेँ नि, हाम्रो निम्ति डाँडो काटयो कि सबतिर लाहुर  । रक्सोलमा रिक्सा चलाऊ वा दरभङ्गामा दरबानी गर, मलायामा बुट ठोक कि मणिकर्णिकामा मुर्दा बोक, घर गएपछि कमसेकम पाइजामा नफाटुन्जेल तिमी लाहुरे भइहाल्छौ ।” मामाका यी मार्मिक कुराले म त छानाबाट खसेजस्तै भइहालेँ, निधारमा चिटचिट पसिना आयो, नाक–मुख खङ्ग्रङ्ग सुकेर रिक्सैमा घोप्टो परौँला भन्ने डर लाग्न थाल्यो । “के यही हो त लाहुर ! हजारौँ नेपालीले आउने गरेको लाहुर ? वीरजातिले पुरुषार्थ देखाउने लाहुर ?” मैले अतासिँदै सोधेँ आफ्ना लाहुरे मामासँग । मामाले च्याँठिएर जबाफ दिए– “के तिम्रो हाम्रो वीरता खलङ्गामा लड्ने नेपालीको वीरता हो र? त्यसो भए त तिमीलाई देशको माया हुन्थ्यो, उतै घोट्टिन्थ्यौ, उतै बाँच्थ्यौ । तर तिम्रो वीरता, त्यो ‘गुर्खा’ को वीरता, जसले देशमा एउटा काम गर्नुभन्दा विदेशमा सत्रोटालाई सलाम गर्नुलाई पुरुषार्थ ठान्यो, आफ्नो पसिना दिनुभन्दा अरुको निम्ति रगत दिन जान्यो । तिमी त्यो कुँवर–कुलको कमानमा दीक्षित नेपाली जसले तन्नेरीको तन, तरुनीको मन सबको दरभाउ बसायो, धन कमायो, कैयौँ ब्याङ्क जमायो । कुरो बुझ्यौ?” तर सत्यसत्य मैले कुरो बुझिनँ । मैले मामाको कुरा बुझिनँ । तर मनको भित्री भागमा चाहिँ के लाग्यो भने– घरबाट ल्याएको पोकोपन्तरो मात्रै नहराएको भए पनि म ठाडै खुट्टाले फर्कन्थेँ घर । तर, अब परियो यता आफू अलपत्र, जहान उता अलपत्र, जो भएको झिटीझाम्टा पर्न गयो साहूको सत्र ! जे होस्, हामी वीरको साथै उदार पनि त हौँ, दुई–चार जना हामीजस्ता स्वदेशीहरु हराएर के भो, कैयौँ ‘देशी’ हरु नक्कली मयूरझैँ भित्रिँदै पनि त छन् के नि ! तर जति सम्झाए पनि मनचाहिँ बिग्र्यो बिग्र्यो, लाहुर बस्नै मानेन र फर्केँ घरैतिर । त्यसैले, हेर्नोस्, कहाँ लाहुरे बन्न गएको मान्छे अहिलेसम्म दाउरे बनेर झ्याउरे गाउँदै छु ।

–भैरव अर्यालको निबन्धसंग्रह जय भुँडीबाट साभार


  • 11
    Shares

Comments

comments