कलङ्की खसीबजारस्थित ‘अण्डर पास’को निर्माण कार्य अन्तिम चरणमा

  • 502
    Shares

नेपालमा पहिलोपटक बनेको कलङ्की खसीबजारस्थित ‘अण्डर पास’को निर्माण अन्तिम चरणमा पुगेको छ।

आगामी छ महिनामा सक्ने गरेर काम अघि बढिरहेको काठमाडौं चक्रपथ सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए। कलङ्की–कोटेश्वर सडक निर्माण द्रुतगतिमा अघि बढेको र ‘अण्डर पास’ निर्माण पनि त्यही गतिमा भइरहेको छ।

‘जम्मा आठ सय मिटर सडकमा ‘अण्डर पास’ निर्माण भइरहेको हो। माथि मुख्य सडकमा चार लेन र र सो सडक मुनि रहेको अण्डर पास आठ लेन हुनेछ। उनले भने, ‘मुख्य लेन तल र सहायक लेन माथि हुनेछ।’ सहायक लेनमा जानका लागि दायाँबायाँ गरेर बनाइएका सर्भिस ट्रयाक पनि माथि नै हुने उनी बताउँछन्।

अरु सामान्य सडक निर्माण भन्दा ‘अण्डर पास’ को निर्माण तुलनात्मक रूपमा महँगो भएको उनी बताउँछन्। कोटेश्वर–कलङ्की सडक निर्माणको जम्मा बजेट पाँच अर्ब रुपैयाँ हो। ‘अण्डर पास’ लाई कलङ्की–थानकोट सडकको जाम हटाउने उपायका रूपमा हेरिएको छ।
उनी भन्छन्, ‘उपत्यकाभित्रै र बाहिर आउने/जाने यात्रुले अब घण्टौं जाममा फस्नुपर्ने छैन।’ चिनियाँ निर्माण कम्पनी संघाइ निर्माण सेवा समूहले कोटेश्वर–कलङ्की सडक निर्माणको ठेक्का लिएको छ।

भूकम्प र नाकाबन्दीका कारण एक वर्ष काम रोकिएपछि आगामी जुलाईसम्म काम सक्ने गरेर सरकारसँग सम्झौता भएको थियो। समयमा नै सक्नेगरी काम भइरहेको आयोजनाले जनाएको छ।


  • 502
    Shares

Comments

comments