पोखरी मासेर पानी ट्यांकी!

  • 94
    Shares

ललितपुर, इमाडोलको ‘बोझे पोखरी’ मा पोखरी भन्नलायक कुनै अवशेष बाँकी छैन। बाँकी छ त केवल खुला चौर।

स्थानीय चुनाव बेला मेयरले ‘बोझे पोखरी जिर्णोद्वार गरेर पर्यटन स्थल बनाउने’ बाचा गरेका थिए। अहिले जे भइरहेको छ, त्यसले स्थानीय झस्किएका छन्।

जिर्णोद्वार गर्नु त कहाँ हो कहाँ, उल्टै पोखरी मासिने गरी रड, बालुवा र सिमेन्ट प्रयोग गरेर ट्यांकी बनाउने काम भइरहेको छ।

‘चौर बनेको पोखरीलाई प्राविधिक र विशेषज्ञ ल्याएर जिर्णोद्वार गरिएला भन्ने आस थियो,’ स्थानीय सञ्जय अधिकारीले सेतोपाटीसँग भने, ‘यहाँ त पोखरी मासेर कंक्रिटको पानी ट्यांकी बनाइदैछ।’

ट्यांकीको रूप लिँदै गरेको यो पोखरी कुनै बेला काठमाडौं उपत्यकाकै चार दहमध्ये एक थियो भन्दा धेरैलाई पत्याउन मुश्किल पर्छ।

उपत्यकाका चार दह टौदह, नागदह, इन्द्रदह र इबिदहमध्ये इबिदहकै नाम परिवर्तन गरी बोझे पोखरी राखिएको हो। बस्ती बाक्लिँदै गएपछि पहिलेको दह मासिएर पोखरीमा परिणत भयो। त्यस वरिपरि घना बोझो उम्रने भएकाले बोझे पोखरी नामाकरण गरिएको संरक्षण समितिका उपाध्यक्ष सानुकाजी महर्जनले जानकारी दिए।

‘महेन्द्र सरकार पालामा सेना खटाएर पोखरी सफा गरिएको थियो,’ उनले भने, ‘त्यसपछि खासै सरसफाइ भएन। दहबाट पोखरी बन्यो। विस्तारै पोखरी पनि सुक्दै गयो।’

सञ्जयका अनुसार यहाँ पहिले ‘डकविड लोटस’ तैरिरहेको हुन्थ्यो। माछा, हाँस लगायत जलचर जलक्रिडा गरिरहेका देखिन्थे। लगभग छ वर्षकै बीचमा पोखरी मासिँदै गएर चौरमा परिणत भयो।

तस्बिरः सञ्जय अधिकारीको फेसबुक
यस्तो कसरी भयो त?

‘हाम्रा प्रायः पोखरी विनाश गर्ने मनसायले भन्दा विकास र सुन्दर बनाउने प्रयोजनमा मासिएका छन्,’ केही साताअघि रानीपोखरी संरक्षणसम्बन्धी अन्तक्र्रियामा सम्पदाविद् पद्मसुन्दर जोशीले भनेका थिए।

बोझे पोखरी पनि सुन्दर बनाउने नाममै मासिएको स्थानीय सञ्जय बताउँछन्।

संरक्षण समितिले छ वर्षअघि पोखरी सुन्दर बनाउने भन्दै विभिन्न संरचना निर्माण गर्यो। सुरुमा पोखरीका केही भाग ओगटेर दुईवटा मन्दिर बनाइयो। मन्दिर बनाउँदा कसैले विरोध गर्ने कुरा भएन। संरक्षणका नाममा पर्खाल पनि लगाइयो।

यतिले नपुगेर एक वर्षयता पोखरीमा भएको पानी सुकाएर ट्यांकी बनाउन लागिएको छ। ‘हुँदाहुँदा अब त पोखरीको स्वरुप नै नरहने अवस्था आएको छ,’ उनले भने।

खानेपानी उपभोक्ता समितिका उपाध्यक्षसमेत रहेका सानुकाजी भने इमाडोलमा पानीको समस्या भएकाले ट्यांकी बनाउन लागेको बताउँछन्। करिब ४ लाख ५० हजार लिटरको ट्यांकी निर्माण गरेर इमाडोलमा रहेका १५ सय परिवारलाई खानेपानी आपूर्ति गर्ने योजना रहेको उनले सुनाए।

‘पानीको समस्या सुल्झाउन स्थानीयले ट्यांकी निर्माणमा सहमति जनाएका छन्। पोखरी नजिकै बोरिङ पनि गरिएको छ,’ उनले भने, ‘यही बोरिङबाट ट्यांकीमा पानी भरिनेछ र पोखरी पनि जिर्णोद्वार गरिनेछ।’

यो योजना लागत करिब २ करोड रुपैयाँ हो। असारदेखि काम भइरहेको छ। अबको १८ महिनामा निर्माण सकिने उनले जानकारी दिए।
सञ्जय भने पोखरीको महत्व नबुझ्दा ट्यांकी बनाउने योजनामा सहमति जुटेको बताउँछन्।

तस्बिरः सञ्जय अधिकारीको फेसबुक
‘पोखरी भनेको सम्पदा हो। कानुनमै यो कुरा उल्लेख छ। हामीले एउटा पुस्ता मात्र होइन, पुस्तौं पुस्ताका लागि पोखरी सुरक्षित राख्नुपर्छ र हस्तान्तरण गर्दै जानुपर्छ,’ उनले भने, ‘पुरानो पोखरीमाथि यत्रो भारको ट्यांकी बनाउँदा भासिने डर हुन्छ।’

इमाडोलमा बोझे पोखरीझैं कमलपोखरी पनि मासिएको छ। यहाँ पोखरी भएको ठाउँमा सडक विस्तार गरिएको छ। नजिकै राजकुलो चोक छ। त्यो चोक पहिले पानी आपूर्ति गर्ने राजकुलो हुन सक्ने कमलपोखरीका स्थानीय शम्भु मानन्धरले बताए।

लिच्छविकालदेखि नै काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति गर्न राजकुलो प्रणाली स्थापना गरिएको थियो। त्यसमध्ये तीनवटा राजकुलो प्रमुख थिए– काठमाडौंका लागि बुढानिलकण्ठ, भक्तपुरका लागि बागेश्वरी र ललितपुरका लागि टीकाभैरव।

टीकाभैरवदेखि सोह्र किलोमिटर लामो राजकुलोबाट आउने पानीले नै ललितपुरका पोखरी भरिभराउ हुन्थे। पोखरी भरिएपछि ढुंगेधारा र इनार रसाउँथे।

‘पहिले पहिले पोखरीको पानी नै लुगा धुन, घरायसी काम गर्न, आगो लाग्दा निभाउन प्रयोग हुन्थे,’ मानन्धरले भने, ‘अहिले त घरघरमा बोरिङ वा धाराको पानी आउँछ। आगलागी हुँदा दमकल आइपुग्छ। मानिसलाई पोखरी जोगाउनुपर्छ भन्ने सोचाइ नै रहेन। बरु पोखरी सुकाएर मन्दिर बनाउन वा चौर बनाउनमा धेरैको रुचि छ। सबै जना भएको पोखरी मासेर आफ्नो स्वार्थ पूरा गर्नमा लागिपरेका छन्।’

सबैले आफू बाँचेको समय मात्र सोच्दै जाने हो भने पोखरी लगायत सम्पदा आउँदो समय किम्बदन्तीमा सीमित हुने सञ्जय बताउँछन्।
‘मान्छे आफ्नो दैनिक जीवनमा यति अभ्यस्त भइसके, उनीहरूलाई पोखरीजस्तो प्राकृतिक सम्पदाको कुनै मतलब छैन। स्थानीयले पोखरीमा बन्दै गरेको ट्यांकी मात्र देखेका छन्, भोलि यो पोखरी नहुँदा दैनिक जीवनमा पर्ने असरबारे उनीहरू अज्ञान छन्। पोखरी नै मासेर ट्यांकीको

भरमा कति दिन पानी आपूर्ति गर्ने?’ उनले भने, ‘भोलि हामीले सबैले पछुताउनुपर्नेछ।’

बोझे पोखरीझैं काठमाडौंको रानीपोखरी पनि मासेर बगैंचा तथा क्याफे बनाउने भनिएको थियो। पुरानो स्वरुपको महत्व बुझ्दै सामाजिक अभियन्ता तथा सम्पदाविद रानीपोखरी जोगाउन अघि सरेपछि अन्ततः महानगरपालिकाको होस खुल्यो। सञ्जय आफू पनि रानीपोखरी संरक्षणमा अभियानमा जोडिएका थिए।

‘सबैले आवाज उठाएपछि रानीपोखरी त बल्लतल्ल जोगिने अवस्थासम्म पुगेको छ,’ उनले भने, ‘आफ्नै घर नजिकैको बोझे पोखरी त खोई!’


  • 94
    Shares

Comments

comments