त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक : साढे १२ किलोमिटर सडक निर्माणमा १६ सय अवरोध

त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकको कुल लम्बाइ १२ दशमलव ४८ किलोमिटर मात्र हो । तर, यो सडकले रणनीतिक रूपमा उच्च महत्व राख्छ र सबैभन्दा व्यस्त सडकमध्ये एक हो । तर, यो सडक विस्तारको कार्यप्रगति निर्माण कम्पनीसँग सम्झौता गरिएको ३२ महिनामा १७ प्रतिशत मात्र छ ।

सडक विस्तारका लागि मुख्य समस्या अवरोधक रहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजना प्रमुख दीपक केसीले बताए । आयोजना सडक विस्तारमा त पछाडि परेको छ नै, विस्तारका लागि खाली गर्नुपर्ने ठाउँमा रहेका अवरोधक हटाउनसमेत सफल हुन सकेको छैन ।

आयोजना प्रमुख केसीका अनुसार सडक विस्तारका लागि कुल १ हजार ६ सय ३२ वटा अवरोध देखिएका छन् । ‘अहिलेसम्म सडकमा रहेका अवरोधक हटाउने काममा १७ प्रतिशत मात्र प्रगति भएको छ,’ उनले भने, ‘कुल अवरोधकमध्ये २ सय ८३ वटा अवरोधक मात्र हटाउन सकिएको छ ।’ अझै १ हजार १ सय ४९ वटा अवरोधक हटाउन बाँकी रहेको उनको भनाइ छ ।

निर्माण सम्झौता हुनुभन्दा पहिला नै हटाउनुपर्ने यस्ता अवरोधक निर्माण कम्पनीसँग सम्झौता भएको साढे २ वर्ष नाघिसक्दा पनि हटाउन सकिएको छैन । आयोजना प्रमुख केसीले सडक विस्तारमा प्रगति हुन नसक्नुका दर्जनभन्दा बढी कारण रहेको बताए । ‘सडक सीमाभित्रको घर–टहरा समयमै नहट्नु, ‘राइट अफ वे क्लियर’ गर्न समस्या रहनु, राजनीतिक दबाब, स्थानीयको अवरोध हुनु, नापी विवाद भएर पटक–पटक रेखांकन गर्दा सीमांकन फरक पर्न गएपछि विवाद सिर्जना हुनु, सडक सीमा र घरजग्गाको मुआब्जा–क्षतिपूर्तिको विवाद हुँदा विस्तारमा ढिलाइ भइरहेको छ,’ उनले भने ।

स्रोतको अभाव समस्याको अर्को कारण
काठमाडौं उपत्यकाको सडक विस्तारमा स्रोतको अभावलाई पनि समस्याका रूपमा लिइएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले विस्तारले गति लिन नसक्नुमा बजेट न्यून हुनु पनि कारण रहेको बताए ।

त्यस्तै, मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालय प्रमुख शिवहरि सापकोटाले पनि ठूलो परिमाणको बजेट आवश्यक रहेकोमा जोड दिए । अर्कोतिर निर्वाचित जनप्रतिनिधि आएपछि सहज हुन्छ भन्ने सोचिएको, तर उनीहरूले जनतालाई साथ दिएका कारण पनि विस्तारमा ढिलाइ भएको उनको भनाइ छ ।

सबैभन्दा बढी अवरोधक विद्युत् प्राधिकरणसँग सम्बन्धित
आयोजनाले तयार गरेको तथ्यांकअनुसार सबैभन्दा बढी अवरोधक नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित रहेका छन् । प्राधिकरणका ५ सय १२ विद्युत् पोल र ३७ वटा ट्रान्सफर्मर हटाउनुपर्ने दायित्व छ । अहिलेसम्म २ सयवटा पोल र १० वटा मात्र ट्रान्सफर्मर हटाइएको छ ।

केही दिनअघि सडक विस्तारमा भएको कठिनाइबारे सरोकारवालाको बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले भने प्राधिकरणकै कारण प्रगति नरोकिएको बताए । ‘विद्युत्का पोलका कारण सडक विस्तार अवरुद्ध भयो भन्नु आफ्नो कमजोरी लुकाएर अरूलाई दोष लगाउनु मात्र हो । किनभने, विद्युत्को पोलमा नेपाल विद्युत् प्राधिकरणका मात्र तार छैनन्, टेलिकम, इन्टरनेट सेवा प्रदायकका तार पनि त्यही पोल भएर लगिएको छ,’ उनले भने । सबै निकायसँगको समन्वयविना प्रगति कठिन हुने उनको भनाइ छ ।

अर्कोतर्फ पोल सार्ने उपयुक्त ठाउँ तयार नहुँदा पनि समस्या भइरहेको र पोल राख्नुपर्ने ठाउँमा घर भत्काउन वा ढल तयार नपारिएको घिसिङले बताए । ‘एउटै कम्पनीले सबै प्रयोजनका तार व्यवस्थापन गर्ने हो भने यो समस्या समाधान हुने उनले सुझाब दिए । नयाँ पत्रिका।