त्रिपुरेश्वर–नागढुंगा र चावहिल–जोरपाटी–साँखु सडकमा १०५८ घर भत्काइँदै, कति पाइन्छ क्षतिपूर्ति ?

काठमाडौं । त्रिपुरेश्वर–कलंकी–नागढुंगा र चावहिल–जोरपाटी–साँखु सडकमा अझै १०५८ वटा घर भत्काउन बाँकी नै रहेको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख दिपक केसीका अनुसार त्रिपुरेश्वर–कलंकी–नागढुंगा खण्डमा ४८८ वटा घर भत्काउन बाँकी छ । त्यस्तै, चावहिल–जोरपाटी– साँखु सडकमा ५७० वटा घर भत्काउन बाँकी रहेको छ ।

यी घरहरुका अदालतले अन्तरिम आदेश दिएको अवस्था छ भने कतिपय घरलाई असोज २ गतेको सर्वाेच्च अदालतको फैसलाले रोकेको छ । हाल उपत्यका सडक विस्तारका क्रममा भत्काईने घरहरुमा आरसीसी ढलानका लागि प्रतिवर्ग मिटर २६१५ रुपैंयाँ उपलब्ध गराइँदै आएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाईकाजी तिवारीले न्युन क्षतिपुर्तिका कारण सडक विस्तारमा स्वेच्छाले घर भत्काउन तयार भएका स्थानीय पनि असन्तुष्ठ बनेको बताए । उनले तत्कालै क्षतिपूर्तिको दर बढाउनु पर्नेमा पनि जोड दिए ।

प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले कालोपत्रे गर्न मिल्ने ठाउँमा कालोपत्रे गरेर अघि बढ्नुपर्ने बताए । महानगरिय ट्राफिक महाशाखाका प्रमुख सर्वेेन्द्र खनालले जहाँ जहाँ पिच गर्न सकिन्छ, त्यहाँ कालोपत्रे गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । तिवारीले सडक विस्तारका लागि मुआब्जा प्रदान गर्न एक अर्ब २६ करोड रुपैंयाँ बजेट अर्थमन्त्रालयसँग मागेको जानकारी पनि दिए । उपत्यकाको सडक विस्तारमा जनप्रतिनिधिहरुले समेत अपेक्षाकृत सहयोग नगरेको उनको भनाई छ ।विकास न्युज|