प्रशिक्षक जिदानले रियल मडि्रड छाडे

म्याड्रिड (एजेन्सी) – तीन सिजनमा तीनै च्याम्पियन्स लिगको उपाधि जितेका रियलका प्रशिक्षक जिनेदिन जिदानले पद छोडेका छन् । रियलले यही साता मात्र लिभरपुललाई च्याम्पियन्स लिग फाइनलमा ३-१ ले हराएको थियो ।

जिदानको सो निर्णयबाट रियलका प्रशंसक र फुटबल विश्लेषकहरु समेत आश्चर्यचकित परेका छन् । जिदानले सिजनको अन्त्यमा क्लब छोड्ने हल्ला बजारमा बारम्बर आए पनि जिदानले आफुले भने यसबारे केही बोलेका थिएनन् ।

” मैले निर्णय गरेको छु कि अर्को सिजन म रियलसँग रहंदिनँ । मैले क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग आफ्ना कुराहरु राखेको थिएँ । सबै मेरो निर्णयबाट आश्चर्य पर्नु भयो होला तर यो नै मेरो लागि सही निर्णय हो,” जिदानले भने ।

“रियलले जितिरहनु जरुरी छ तर तीन वर्ष भइसकेपछि क्लबलाई पनि केही नयाँ चाहिने नै हुन्छ । मलाई अध्यक्ष पेरेजले यहाँ ल्याउनु भएकोमा आभारी छु र म यस क्लबलाई सधै माया गरिरहने छु,” जिदानले पत्रकार सम्मेलनमा बताए ।

रियल म्याड्रिड यस सिजन च्याम्पियन्स लिग जितेबापत ला लिगामा भने तेस्रो स्थानमा रहन पुग्यो । जिदानको निर्णयको पछाडी पनि यही कारण रहेको बुझाई छ । जिदानले प्रशिक्षकको पद छोड्ने निर्णय आफ्नै भएको पनि स्पष्ट पारे ।

जिदान सन् २०१६ को जनवरीमा रियलको प्रशिक्षक नियुक्त भएका थिए । उनले रियलका लागि १ सय ४९ खेल सम्हाल्दै १ सय ५ मा जित दर्ता गर्न सफल रहे । ३ च्याम्पियन्स लिग साथै जिदान २०१६-१७ मा लिगको उपाधि पनि जित्न सफल भएका थिए ।