मकवानपुरमा ट्रकमा आगजनी, औद्योगिक क्षेत्रमा शंकास्पद वस्तु फेला

मकवानपुर । मकवानपुरमा बुधवार राति ट्रकमा आगजनी गरिएको छ भने हेटौंडा औद्योगिक क्षेत्रनजिकै शंकास्पद वस्तु फेला परेको छ । मकवानपुरको थाहा नगरपालिका ४, नयाँगाउँमा बुधवार राति ट्रकमा आगजनी गरिएको हो ।

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडी गएराति १२ बजे अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

मास्क लगाएको एक समूहले गुडिरहेको गाडी रोकेर चालक तथा सहचालकलाई बसबाट ओराली पेट्रोल छर्केर आगजनी गरेको ट्रकका चालकले बताए ।

ट्रकमा आगलागी भएपछि थाहा नगरपालिकाको दमकलले नियन्त्रण गरेको थियो । आगलागीबाट ट्रकको अगाडिको भाग पूरै जलेको छ ।

त्यस्तै पूर्वपश्चिम राजमार्गको हेटौंडा औद्योगिक क्षेत्रनजिकै शंकास्पद वस्तु फेला परेको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुण कुशुवाहका अनुसार निलो प्लाष्टिकमा बेरेको अवस्थामा शांकास्पद वस्तु भेटिएको छ । उक्त शंकास्पद वस्तु बम भएको आशंका गरिएको छ । शंकास्पद वस्तु भेटिएको जानकारी आएलगत्तै नेपाली सेनाको बम डिस्फोज टोली घटनास्थल पुगेको छ ।

उक्त नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहले आज (बिहीवार) देशव्यापी बन्दको आह्वान गरेको छ । यद्यपी यही समूहले उक्त शंकास्पद वस्तु राखेको हुनसक्ने प्रहरीको भनाइ छ ।

तर, अहिलेसम्म कसैले पनि घटनाको जिम्मेवारी लिएको छैन ।