मच्छेगाउँमा राँगोको आतंक आक्रमणमा परी एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँमा राँगोको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ ।  राँगोको आक्रमणबाट शनिबार बिहान मर्निङवाकमा हिँडेका स्थानीय ७० वर्षीय मानबीर महर्जनको मृत्यु भएको हो । राँगोकाे आक्रमणमा गम्भीर घाइते महर्जनलाई उपचार गर्न कीर्तिपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । राँगो कीर्तिपुरतिरबाट बिच्किएर आएको अनुमान गरिए पनि कसको हो भन्ने खुलेको छैन ।

राँगोले मान्छे मारेपछि महानगरीय प्रहरी वृत्त थानकोटको टोली र स्थानीयबासीले राँगोलाई समात्ने प्रयास गरेका थिए । मच्छेगाउँबाट खेद्दै दहचोक पुगेपछि प्रहरीले राँगोमाथि गोली चलाएको थियो । थप क्षति हुनबाट जोगाउन गोली चलाएको प्रहरीले बताएको छ ।