उपत्यकाबाट होलीमा दुई सय बढी पक्राउ

काठमाडौं : जिल्ला प्रशासन कार्यालय र प्रहरीले होली शान्तिपूर्ण रुपमा मनाउन आग्रह गर्दागर्दै होहल्ला गरेर हिंडेका दुई सय बढी सर्वसाधरण प्रहरी नियन्त्रणमा परेका छन् ।

महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलले टेकु, कालिमाटी, गौशाला, पुतलीसडक, चावहिल, न्यूरोड लगायतका स्थानमा होहल्ला गरेर होली मनाउन हिंडेकालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई अनुसन्धान गरेर मुद्दा चलाउन मिल्ने भएमात्रै राख्ने र नमिले छाडिने जानकारी पोखरेलले दिए । प्रहरीले विभिन्न स्थानबाट दुई सय ५० वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन (मापसे)गरेर, हेल्मेट नलगाई र एउटै मोटरसाइकलमा तीन जनासम्म चढेका मोटरसाइकललाई नियन्त्रणमा लिइएको जानकारी एसएसपी पोखरेलले दिए । उनले भने, ‘अहिले जति पक्राउ परेका छन्, उनीहरुलाई स्क्रिनिङ गरेर मात्रै छाडिन्छ।’

यसपाली प्रहरी र ट्राफिकले संयुक्त रुपमा सय बढी स्थानमा चेक प्वाइन्ट राखेका थिए । दिउँसै मापसे गरेर सवारी हाक्ने र क्षमता भन्दा बढी यात्रु राखेर गुडाएका सवारीसाधनमाथि प्रहरीले सोधपुछ गरेको थियो ।