उपत्यकामा साइबर अपराधका घटना बढ्दो

काठमाडौँ, साउन १० गते । राजधानीको खिचापोखरीस्थित फेन्सी पसलमा काम गर्ने युवतीको फेसबुक म्यासेन्जरमा ‘अनौठो’ तस्बिर आयो । त्यो तस्बिरमा अनुहार उनकै थियो भने शरीर भने अर्कै महिलाको । परिचित युवकले पठाएको सो तस्बिर बोकेर महानगरीय प्रहरी अपराध महाशाखा टेकु पुगेकी पीडित युवतीले पीडक युवकविरुद्ध विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा उजुरी गरिन । त्यसको भोलिपल्टै पक्राउ परेका पीडक युवकले प्रेममा धोका भएपछि यस्तो अपराध गरेको स्वीकारे ।

फेन्सी पसलमा काम गर्दा गर्दै एकअर्काप्रति नजिकिएका युवक र युवतीबीचको सम्वन्ध केही वर्ष राम्रो नै रह्यो । तर, युवतीका क्रियाकलापप्रति शङ्का लागेपछि बदनामी गराउन भन्दै उनले अर्कै युवतीको नाङ्गो तस्बिरमा परिचित युवतीको टाउँको टाँसेर पठाएको स्वीकारेका छन् ।

त्यस्तैं, राजधानीको एकचर्चित अस्पतालमा कार्यरत युवतीलाई पनि त्यस्तै समस्या प¥यो । फेसबुकमा उनकै नामबाट खोलिएको एक झुठा फेसबुक आइडीबाट नाङ्गा तस्बिरहरू पोष्ट गरिनुका साथै मोवाइल नम्वर समेत सार्वजनिक गरेको पाइयो ।

फेसबुकको वाल पेजमा पनि उनकै फोटो राखिएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीसँगको बयानमा ती युवतीले फेसबुकमा पोष्ट गरिएका तस्बिरहरू भने आफूले नै खिचेको स्वीकारिन । तर, नक्कली फेसबुक आइडी बनाएर तस्बिर सार्वजनिक गर्नेको भने पहिचान हुन सकेन ।
ती युवतीले उच्च अध्ययनको क्रममा होस्टेलमा बस्दा आफैले नै आफ्नो नाङ्गो तस्बिर खिचेकी थिइन । साइवर अपराधको अनुसन्धानमा संलग्न प्रहरी नायव निरीक्षक राजेश महर्जन विद्युतीय भन्दा सामाजिक अपराध बढेको बताउनहुन्छ ।

विशेष गरी फेसबुकमा फेक आइडी बनाएर रिस परेको व्यक्तिको चरित्र हत्या गर्न एउटाको तस्बिरमा अर्कै ब्यक्तिको टाउको जोडेर फोटोहरू सार्वजनिक गरिदिने, यौन सम्वन्ध कायम राख्न र आर्थिक लाभ लिन बार्गेनिङ गर्ने समस्या बढेको उहाँले बताउनुभयो ।

वास्तविक अपराध धेरै कम छ, अनुसन्धानकर्ता महर्जनले भन्नुभयो,‘ युवायुवती बीचको सम्बन्धबाट सिर्जित विवाद बढी नै आउने गरेको छ । ‘साइवर क्राइम’को उजुरी लिएर आउने अधिकांशमा आफैभित्र कमी कमजोरी देखिन्छ ।’

सम्वन्ध राम्रो रहेसम्म सबै कुरा खुला राख्ने, चिसिएपछि त्यसैलाई हतियार बनाइ चरित्र हत्या गर्नेदेखि नगदको वार्गेनिङ गर्ने समस्या रहेको पाइएको छ । अपराध महाशाखाका अनुसार, साइवर अपराधका पीडित र पीडक दुबै पक्षले आफू निर्दोष छु भन्ने अवस्था कही देखिदैन ।

यतिसम्मकी राजधानीका किशोर उमेरका युवकयुवतीमा स्मरणका लागि भन्दै भिडियो खिचेर राख्ने समस्या झन विकराल बन्दै गएको पाइएको छ । ‘मिल्दा राम्रो चिल्दा अर्गेलो’ भने जस्तै साइबर क्राइमको उजुरी बोकेर आउनेहरूमा यस्तो समस्या बढी देखिएको छ ।

आर्थिक लेनदेन र ठगीको विवादमा पनि महिलाले पुरुषको र पुरुषले महिलाको चरित्र हत्या गर्न अर्कैको तस्बिरमा उक्त ब्यक्तिको टाउँको जोडेर सामाजिक सञ्जाल मार्फत् आफन्त चिनजानका ब्यक्तिलाई पठाइ चरित्र हत्या गर्ने गरेको पाइएको छ ।

आफ्नो रिस मार्न र ठग व्यक्तिको चरित्र हत्या गर्न यस्तो तस्बिर पोष्ट गर्ने गरेको भनाइ पीडकहरूको छ । महाशाखाका अनुसार, एउटाको शरीरमा अर्कोको टाउँको जोड्ने भन्दा पनि आफ्नो भिडियो आफै बनाउनेहरूको समस्या चुनौतीपूर्ण बन्ने गरेको छ ।

स्कुल कलेजमा अध्ययन गर्ने किशोर उमेरका युवकयुवतीले आफूखुशी भिडियो बनाउने र तस्बिर खिच्ने गर्छन । जुन भिडियो तथा तस्बिर कहीकतैबाट सार्वजनिक भएमा पनि पीडित उजुरी दिन आउँदैन्न ।

चर्चित मोडल परि तामाङले ब्वाइफ्रेण्डसँगको भिडियो सार्वजनिक भए पनि उनी उजुरी दिन समेत नआएको महाशाखाले जनाएको छ । उनको सो भिडियो कुनै वेभसाइटले समेत अपलोड गरेको थियो । तर, नेपाल प्रहरीको आग्रहपछि हटाइएको छ ।
त्यस्तै, नेपाली चलचित्रका चर्चित सेलिब्रेटीका तस्बिर तथा भिडियोहरू अझै विभिन्न पोर्न वेभसाइटमा यथावत रहेका छन् । महाशाखाका प्रहरी उपरीक्षक एवम् प्रवक्ता नरेन्द्र उप्रेती भन्नुहुन्छ,‘ सेलिब्रेटीहरूको देखासिकीमा लागेर स्कुल कलेज पढ्नेहरू बिग्रिन थाले ।’
‘किशोरवस्यकहरूले आफूखुशी छाडा भिडियो खिच्नु भनेको त देखासिकी नै हो,’ उहाँले भन्नुभयो, सामाजिक विकृति नियन्त्रण गर्न केही भिडियो तथा तस्बिरहरू हटाउन समेत लगाएका छाँैं ।’ शर्मिला गुरुङ, युनिष्का राई, अर्चना पनेरु र जेनिशा गुरुङ लगायत केही युवतीको भिडियो र तस्बिरहरू महाशाखाले हटाउन लगाएको छ ।

महाशाखामा प्रत्येक दिन १५ देखि २० वटासम्म उजुरी आउने गरेका छन् । उक्त उजुरीमा वेभसाइट ह्याक भएको, अनलाइन पेमेण्टमा समस्या आएको, आर्थिक हिनामिना र महत्वपूर्ण कागजपत्र चोरी भएको धेरै कम छन् ।

सामाजिक सञ्जालबाट गाली गलौज, अपशब्द प्रयोग गरी बदनामी गराएको र तस्बिर तथा भिडियो पोष्ट गरी चरित्र हत्या गरेको जस्ता उजुरीको चाङ नै लाग्ने गरेको छ । महाशाखा प्रवक्ता उप्रेतीले भन्नुभयो–चरित्र हत्याको मुद्दा बढी आउँछन् । उक्त मुद्दाहरूमा अदालतले समेत पुर्पक्षका लागि थुनामा पठाएको आदेश एउटा पनि छैन । ‘साइवर क्राइम’को प्रायः सबै मुद्दामा अभियुक्तहरू धरौटीमा रिहा हुने गरेका छन् ।साभार : गोरखापत्र दैनिक