कक्षा ११ को परीक्षा तयारी पूरा

चन्द्रागिरि ।

राष्ट्रिय परीक्षा बोर्डले आगामी असार १ गतेदेखि हुने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा ११ तयारी पूरा गरेको छ ।

परीक्षामा सम्बन्धन प्राप्त तीन हजार ७६५ विद्यालयका कुल चार लाख ४९ हजार ५४ परीक्षार्थीका लागि कुल ९९३ केन्द्र तोकिएका छन् । बोर्डले आज पत्रकारसम्मेलन गरी परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित र विद्यार्थीमैत्री एवम् प्रभावकारी वातावरण निर्माणका लागि सबैमा आग्रह गरेको छ ।

शिक्षा मन्त्रालयका सचिव एवम् बोर्डका कावा अध्यक्ष शान्तबहादुर श्रेष्ठले परीक्षा अवधिमा कुनै पनि दल र समूहबाट बन्द–हडतालका कार्यक्रम नगर्न आग्रह गरिएको र त्यस्तो अवस्था आएमा वैकल्पिक व्यवस्थाबाट परीक्षा दिन लगाइने बताए। उनले विगतको तुलनामा परीक्षा केन्द्र तर्जुमा र व्यवस्थापनमा सुधार भएको दाबी गरे।

बोर्डका सदस्यसचिव डा डिल्लीराम रिमालले गत वर्षको कक्षा १२ को परीक्षामा प्रश्नपत्र नपुगेको लगायतका समस्याका कारण तत्कालीन परीक्षा नियन्त्रक सन्तोषकुमार अर्याललाई निलम्बनपछि भएको छानबिनको प्रतिवेदन प्राप्त भएको र बोर्ड बैठकले थप निर्णय हुने जानकारी दिए । छानबिनका लागि मन्त्रालयका सचिव डा हरि लम्सालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । अर्याललाई हटाइएपछि हाल उपसचिव डम्बरकुमार बतासलाई नियन्त्रकको जिम्मेवारी दिइएको छ ।

रासस