जेसिसले जित्यो स्वर्ण सहित आठ पदक

आठौँ कोरियन एम्बास्डर नेशनल तेक्वान्दो च्याम्पियनसिप २०१७ मा जेसिस इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कुलमा अध्ययनरत नवीन श्रेष्ठले स्वर्ण पदक सहित ट्रफी, प्रमाणपत्र मात्र जितेनन् पुम्सेतर्फबाट बेस्ट प्लेयर घोषित हुँदै सामसुङ (जी ५ प्राइम) मोबाइल समेत हात पार्न सफल भए । उनले डिसेम्बर १४ देखि १७ सम्म सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा भएको च्याम्पियनसिपमा इन्डिभिजुअ पुम्से, पियर पुम्से तथा टिम पुम्से तीनै विधाबाट क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका हुन् ।

सो च्याम्पियनसिपमा जेसिसबाट सहभागी सबै खेलाडीहरूले पदक हात पार्दै विद्यालयलाई एक स्वर्ण सहित ८ पदक दिलाएका हुन् । विद्यालयकी छात्रा मोनिका मगरले पियर पुम्से तर्फबाट रजत पदक र सेकेन्ड ट्रफी जितिन् भने यवन दाहालले इन्डिभिजुअल पुम्सेतर्फबाट कास्य, तथा टिम पुम्सेतर्फबाट पनि कास्य पदक हात पारे । प्रतीक श्रेष्ठले टिम पुम्सेतर्फबाट कास्य तथा पुजन रानाभाटले इन्डिभिजुअल पुम्से तर्फबाट कास्य पदक प्राप्त गरे ।

च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई खेल समापनको दिन, डिसेम्बर १७ गते प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटीका महासचिव तथा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेन्डी शेर्पाले पदक तथा प्रमाणपत्र सहित सम्मान गर्दै विजयी खेलाडीहरुलाई बधाई तथा शुभकामना दिनुभयो ।