जेस्सिज इन्टरन्यास्नल बोर्डिंग स्कूलका विद्यार्थीहरु योमरि बनाउन सिक्दै

जेस्सिज इन्टरन्यास्नल बोर्डिंग स्कूलमा विद्यार्थीहरुलाई योमरि बनाउन सिकाईएको छ। आफ्ना बजैहरुले घरमा योमरि बनाएर खुवाउने गरे पनि आफुहरुले कहिल्यै नबनाएको विद्यार्थीहरुले बताए । आफुहरुले सिकेको योमरि बनाउने कला आउँदा दिनमा अरुलाई पनि सिकाउने र परिवारमा योमरि बनाएर योमरि चाड मनाउने विद्यार्थीहरुले बताए ।

नेवारी चाड पर्व मध्यको महत्वपूर्ण पर्व योमरि पुन्हि हो। योमरी पुन्ही वा योमरी पूर्णिमा हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने गर्दछ।

योमरि संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि आफुहरुले विद्यार्थीहरुलाई योमरि बनाउन सिकाएको विद्यालयका प्रधान अध्यापक सरोज महर्जनले बताए।

बनाउने तरिका:

योमरि बनाउदा चामलको पिठोमा तातो पानी हाली मुछेर डल्लो बनाई एक छेउ चुच्चो हुनेगरी औंलाको सहायताले खाल्डो पारिन्छ । अण्डाकारको स्वरुपमा आइसकेपछि पिठोभित्र विशेष प्रकारले बनाएको चाकु र तिलको मिश्रण राखिन्छ । योमरी मास, खुवा आदि राखेर पनि बनाउने गरिन्छ । यसरी बनाएको योमरी बाफले मात्रै पकाइन्छ । चामलको पिठोबाट बनाई बाफले मात्रै पकाईने भएकाले योमरी स्वादिलो र स्वास्थ्यका हिसाबले पनि उपयुक्त मानिन्छ ।

महत्व:

नेवार संस्कृतिमा योमरीको बिषेश महत्व छ । धनसम्पत्ति, बृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासले नेवार समुदायमा योमरी पुन्हीका दिन सबैले योमरी सहित विभिन्न देवी देवताको पूजा गरी दान गर्ने गरिन्छ । बच्चाहरुको जन्मदिन मनाउँदा १२ वर्षसम्म योमरीको माला बनाई पूजा गर्नुपर्ने र माला लगाइदिने चलन छ । जन्मदिनमा बच्चालाई दुई वर्षमा दुई वटा, चार वर्षमा चार वटा यस्तै प्रकारले योमरीको माला लगाइदिने चलन छ ।

त्यस्तै छोरीको गर्भावस्थामा बच्चा जन्मिनु केहि समय अघि माइतीबाट दही च्यूरा खुवाउन जाने चलन छ । यसबेला पनि कुनै कुनै समुदायमा १ सय ८ वटा योमरी लैजानुपर्ने चलन रहेको छ । त्यस्तै नयाँ घर वा मन्दिर बनाउँदा अनि मन्दिरमा नयाँ पताका चढाउँदा पनि घर र मन्दिरको धुरीबाट पूजा गरेर योमरी खसाल्ने चलन छ ।

नेवार समाजमा योमरीको साँस्कृतिक एवं धार्मिक महत्व रहेको पाइन्छ । तर नेवार समुदाय भित्र पनि केही ठाउँमा योमरी पुन्हीको दिनमा योमरी पकाउनु पर्दैन वा चलन छैन । सात गाउँमा हुने न्हय्गां जात्रा मनाइने कीर्तिपूर, पाँगा, नगाउँ लगायतका क्षेत्रमा जात्रा लगत्तै पर्ने पर्व भएकोले योमरी पुन्हीलाई यस क्षेत्रका बासिन्दाले खासै महत्वपूर्ण पर्वको रुपमा लिने गरेको पाइदैन ।

विद्यार्थीहरुले योमरि बनोउनदै गरेका तस्बिर :