चन्द्रागिरिमा १० राजनीतिक पार्टी चुनावी प्रतिष्पर्धामा, वडा अध्यक्षमा ९ पार्टीको मनोनयन

काठमाण्डाै, वैशाख २१ ।

अासन्न स्थानीय निकायको निर्वाचन कार्यक्रम अन्तर्गत अाज तीन कार्यक्रम हुनेछन् । मनोनयन पत्र जाँच, मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन र मनोनयन दर्ता भएका उम्मेदवारहरूले नाम फिर्ता लिन सक्ने तालिका निर्वाचन अायोगले प्रकाशित गरेको छ ।


चन्द्रागिरि नगरपालिका निर्वाचन अायोगको कार्यालयले बुधबार प्रकाशित गरेको मनोनयन पत्र दर्ता भएका उम्मेदवारहरूको सूची प्रकाशित गरेको छ जसअनुसार चन्द्रागिरि नगरपालिकाबाट यस निर्वाचनमा १० राजनीतिक दलले भाग लिनेछन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माअोवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, नेकपा माले, संघीय समाजवादी फोरम, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) र नयाँ शक्ति पार्टीले चन्द्रागिरि नगरका विभिन्न वडाहरूमा अध्यक्ष पदका लागि मनोनयनपत्र दर्ता गराएका छन् । मेयर र उपमेयरमा उम्मेदवारको मनोनयन दर्ता गराएको जनमोर्चा नेपालले वडागत रूपमा कुनैपनि उम्मेदवारको मनोनयन पत्र दर्ता गरेको छैन् । सत्ता साझेदारहरू नेपाली कांग्रेस, नेकपा माअोवादी केन्द्र र भर्खरै सरकारबाट फिर्ता भएको राप्रपा तथा प्रमुख विपक्षी दल नेकपा एमालेले नगरका सबै १५ वडामा वडा अध्यक्षका लागि मनोनयन पत्र दर्ता गराएका छन् । नेपाल मजदुर किसान पार्टी, संघीय समाजवादी फोरम, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) तथा नयाँ शक्ति पार्टीले  पनि केहि वडाहरूमा अध्यक्ष पदका लागि उम्मेदवारको मनोनयन दर्ता गरेको चन्द्रागिरि नगरपालिका निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए ।