निर्वाचन थाहा पाउनैपर्ने कुरा

चन्द्रागिरि ।  

डा. अयोधिप्रसाद यादव (प्रमुख निर्वाचन आयुक्त)

आजको दिन ऐतिहासिक दिन । यो एउटा पवित्र दिन पनि हो । वैशाख ३१ गते इतिहासमा पनि स्वर्णअक्षरले लेखिनेछ । यो अर्थमा कि १९ वर्षपछि हुन लागेको स्थानीय तहको चुनाव आफैंमा ऐतिहासिक छ । लामो समयपछि नागरिकले संविधान सभाबाट बनाएको संविधानको आधारमा स्थानिय तहको चुनाव हुँदैछ ।
पहिलो त संविधान कार्यान्वयनको पक्ष नै हो । दलीय सहभागिता, व्यवस्थापकीय दृष्टिकोण अनि प्रविधिको दृष्टिकोणबाट पनि यसलाई महत्वपूर्ण मान्नुपर्छ । २०५४ सालपछि नागरिकले स्थानिय तहमा प्रतिनिधी चयन गर्दैछन् । सरकार, राजनीतिक दल, नागरिक सँगै निर्वाचन आयोगको पनि हरसम्भव प्रयासबाट आजको दिन आएको हो ।
मतदाता भोट खसाल्न आतुर हुनुहन्छ । उहाँहरु स्वतन्त्र, स्वच्छ र निर्भिक मतदाता हुनुहुन्छ । त्यसैले उहाँहरुलाई कतै केही अवरोध छैन । सुरक्षाको प्रत्याभूति गरिएको छ । ढुक्क भएर आफ्नो घरबाट मतदान केन्द्रसम्म आएर मत दिन सक्नुहुन्छ । कुनै पनि डर, धम्की र प्रलोभनमा नपरी मतदान गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।
निर्वाचन आयोगले एकदमै छोटो समयमा सम्पूर्ण तयारी गरेको हो । तीनवटा प्रदेश ३, ४ र ६ मा आज चुनाव हुँदैछ । २ सय ८३ निर्वाचन क्षेत्रमा ६ हजार ६ सय ४२ मतदान केन्द्र छन् ।
६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला मतदाता छन् । मतदान केन्द्र निर्माण गर्दा पनि महिला÷पुरुषको लाइन छुट्टाछुट्टै बनाएका छौं । त्यसमा पनि असक्त, अपाङगता भएका, बृद्धबृद्धा र सुत्केरी÷गर्भवतिका लागि अग्राधिकार विशेष अधिकार दिएर मतदानको व्यवस्था गरेका छौं ।
मतदान केन्द्रमा के गर्न पाइन्छ ? के गर्न पाइदैन ?
मुख्य विषय त के गर्न पाइन्छ भन्ने हो । मतदान केन्द्रमा पुगेपछि आफ्नो अमूल्य मत दिन पाइन्छ । सकेसम्म निर्वाचन आयोगले दिएको फोटो सहितको मतदाता परिचय पत्र बोकेर आउनुपर्ने हुन्छ ।
अनि मतदाता लाइनमा बस्नुहुन्छ । निर्वाचन आयोगका कर्मचारी, दलीय प्रतिनिधीले परिचय पत्र माग्छन् । परिचय पत्रमा फोटो पनि हुने भएकाले त्यो मतदाता हो होइन, नाम मतदाता सूचिमा छ-छैन भनेर चेकजाँच हुन्छ । चेकजाँच पछि अगाडि पठाइन्छ ।
अगाडिको प्रक्रियामा सहि गरीसकेपछि मतपत्र लिएर उहाँ भित्र जानुहुन्छ । अनि आफूले चाहेका उमेद्वारका चिन्हमा अध्यक्ष-प्रमुख, उपाध्यक्ष-उपप्रमुख, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र दुईजना वडा सदस्यका लागि मत दिनुहुन्छ । यसरी मत दिदा मुख्य कुरा स्वस्तिक छाप नलत्पतियोस्, राम्ररी पट्याएर मतपेटिकामा खसालेपछि उहाँ निस्कनुहुन्छ ।
मतदाताले के नगर्ने ?
मत दिन जाँदा मतदाताले त्यस्ता कुनै किसिमको निषेधित सामग्री मतदान केन्द्रमा लैजानु हुँदैन । जस्तो कि हुन सक्छ लाइटर, छुरा, चक्कु, कैंची जस्ता कुराहरु निषेध गरिएको छ । र फोटो खिच्ने सामग्री र मोवाइल पनि लैजानु हुँदैन । मोवाइल बोकेको भएपनि साइलेन्स बनाउनुपर्छ ।
यो मतदाताको अनुशासनमा पर्ने सामान्य व्यवहार हो । शान्तिपूर्ण ढंगबाट आफ्नो पालोका लागि बस्नुपर्छ । मत खसालिसकेपछि केन्द्रभित्रै बसिरहने अनुमति पनि हुँदैन ।
मत बदर हुने आशंका
त्यो आशंका त स्वभाविक नै छ । मतपत्रको जुन आकार छ त्यो अलि भद्दा र ठूलो छ हामी भन्दै पनि आएका छौं । मत बदर हुने प्रतिशत न्यून गर्ने गरी घरघरमा मतदाता शिक्षाका लागि टोली खटाएका हौं, मतदान केन्द्रमा पनि टोलीले बुझाउने काम गरेको हो ।
राजनीतिक दलका उम्मेद्वारले पनि सिकाएका छन् । यति हुँदाहुँदै पनि छोटो समय भएकाले मतदाता शिक्षाको कोर्स पूरा हुन सकेन होला, हाम्रा मतदाता गम्भीर भएर मत खसाल्नुहुन्छ यो हाम्रो अपेक्षा छ । तैपनि केहि मत बदर हुने अनुमान गर्न सकिन्छ ।
मतदाता परिचय पत्र नभए के गर्ने ?
कुनै चिन्ता गर्नुपर्दैन, मतदाता नामावलीमा नाम भएका मतदाताले परिचय पत्र नभएपनि मत दिन पाइन्छ । तर फोटो भएका परिचय पत्र नागरिकता, पासपोर्ट, सवारीचालक परिचय पत्र जे उपलब्ध हुन सक्छ साथमा हुनुपर्छ ।
साँझ पाँचै बजे मतदान नसकिए कतिबेलासम्म मत दिन सकिन्छ ?
मतदान सुरु हुने विहान ७ बजेदेखि हो । साँझ ५ बजेसम्म मत खसाल्न पाइन्छ । ५ बजे सम्ममा मतदान केन्द्रको घेराभित्र पसिसक्नुपर्छ । यसरी केन्द्रमा पुगेर लाइनमा बसेका मतदाताले पालैपालो मत खसाल्नुपर्ने भएकाले जति समय लाग्छ त्यो ६ बजे पनि हुन सक्छ, ७ पनि बज्न सक्छ ।
मतदान सकिएपछि मतपेटिका र मतगणना के कसरी हुन्छ ?
मत खसेको केन्द्रबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याइन्छ । जुन की हरेक नगरपालिका÷गाउँपालिकाको सदरमुकाममा ल्याउनुपर्छ । हरेक नगरपालिका-गाउँपालिकामा एउटा निर्वाचन अधिकृत हुन्छ ।
मतदान सकिए लगत्तै मतपेटिका बुझाउने भरपाइ गर्ने गराउने काम हुन्छ । ती मतपेटिका निर्वाचन अधिकृतको जिम्मेवारीमा हुन्छन् । त्यसपछि मात्रै निर्वाचन अधिकृतले मतगणनाको समय तय गर्नुहुनेछ । सम्वन्धित नगरपालिका वा गाउँपालिकाको केन्द्रमै मतगणना हुन्छ ।
र अन्तिममा नतिजा मुख्य कुरा भयो, कहिलेसम्म परिणाम आउँछ होला ?
मतगणना सुरु भैसकेपछि वडागत रुपमा गणनाको काम सुरु हुन्छ । अनि क्रमशः अध्यक्ष-उपाध्यक्ष, मेयर÷उपमेयरको गणना हुँदै रिजल्ट आउँछ । अहिले जुन मतपत्रको आकार छ त्यसले गर्दा गणनामा पनि समय लाग्छ ।
मतदाताको संख्यामा पनि भर पर्छ । धेरै मतदाता भए अलि बढि समय लाग्छ । काठमाडौं जस्तो धेरै जनसंख्या भएको ठाउँ, महानगर, उपमहानगर, नगरपालिकामा अलि धेरै समय लाग्ला । अनुमान गर्दा ३ दिनभित्रमा सबै परिणाम आइसक्ला भन्ने हाम्रो अपेक्षा छ ।