स्थानीय तहको केन्द्रमै मतगणना हुने

चन्द्रागिरि ।

निर्वाचन आयोगले पहिलो चरणको चुनावको मतगणना सम्बन्धित स्थानीय तहको केन्द्रमा नै गर्ने निर्णय गरेको छ ।मतपेटिका ओसार-पसार गर्दा सुरक्षामा जटिलता आउनसक्ने भएकाले सदरमुकामसम्म नलैजाने र स्थानीय तहको केन्द्रमा नै मतगणना गर्ने आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, ‘२८३ वटै स्थानीय तहमा एकसाथ मतगणना हुन्छ । त्यसको अधिकार निर्वाचन अधिकृतको कार्यालयलाई दिइएको छ । मतगणना सम्बन्धमा आयोगले थप निर्णय गर्नुपर्दैन ।’

हरेक गाउँपालिकाको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय खुलेकाले सोही कार्यालयमै हरेक वडा र तहको मतगणना हुने प्रवक्ता शर्माले जानकारी दिए । मतगणना कहिलेबाट र कहाँ गर्ने भन्ने अधिकार निर्वाचन ऐनले नै निर्वाचन अधिकृतको कार्यालयलाई दिएको छ । निर्वाचन अधिकृतको कार्यालयले स्थानीय राजनीतिक दलसँगको समझदारीमा मतगणना हुने स्थान तथा समय टुंगो लगाउने र त्यसबारे सूचना टाँसेर जानकारी दिने कानुनी व्यवस्था छ ।