१. विषयप्रवेश
सामान्य भाषामा भन्नुपर्दा इन्फ्लुएञ्जा रोगलाई भाइरल ज्वरो, रुघामर्घी वा रुढी वा फ्लू भनेर पनि चिनिन्छ । तर कहिलेकाहीं यसले घरपरिवारका धेरै सदस्यलाई, विद्यालय वा छात्रावासका धेरै विद्यार्थीलाई तथा अस्पताल, कारागार, ब्यारेकजस्ता एकत्रित भएर बस्ने मानिसलाई एकसाथ प्रभावित पार्दछ । जसलाई हामी महामारी भन्दछौं ।

२. भाइरल इन्फ्लुएञ्जा भनेको के हो ?
एक्कासी प्रारम्भ हुने ३९ डिग्री से. भन्दा बढीको ज्वरो, श्वासप्रश्वास संक्रमणका लक्षण, जीउ दुख्ने, टाउको दुख्ने लक्षणहरू देखा परेमा हामी त्यस व्यक्तिलाई इन्फ्लुएञ्जा वा भाइरल इन्फ्लुएञ्जा भएको भन्दछौं । कडा घाम र पानी पर्ने मौसममा यसले प्रायः प्रकोपको रूप लिने गरेकाले यसलाई हामी मौसमी इन्फ्लुएञ्जा पनि भन्ने गर्दछौं ।

३. यो रोग कसरी लाग्छ ?
यो रोग भाइरस वा विषाणुका कारणबाट हुन्छ । जसलाई इन्फ्लुएञ्जा भाइरस भन्दछौं । यो भाइरस तीनप्रकारको हुन्छ– ए, बी, र सी । इन्फ्लुएञ्जा ए र बी भाइरसबाट यो रोग लाग्दछ ।

४. यो रोग कसरी सर्छ ?
हाच्छिऊ गर्दा, खोक्दा मुख र नाकबाट निस्कने मसिना थूक, ¥याल, सिंगानका कणहरूबाट वातावरणमा यसका भाइरस निस्कन्छन् र नजिकै बसेको मानिसले सास फेर्दा यो भाइरस सर्दछ । यसका साथै विरामीसित हात मिलाउँदा, विरामीले प्रयोग गरेका रुमाल, कलम आदिबाट पनि रोग सर्दछ ।

५. यो रोगको लक्षण के के हुन् ?
यसका मुख्य लक्षणहरुमा एक्कासी ज्वरो आउनु, खोकी लाग्नु, घाँटी दुख्नु हुन् । यसका साथै हाच्छिऊँ आउनु, नाकबाट पानी आउनु, टाउको दुख्नु, मांसपेशी दुख्नु, हाडजोर्नी दुख्नु र आलस्य लाग्नु हुनसक्छ । यसका साथै बालबालिकामा वाकवाकी लाग्ने वा वान्ता आउने, पेट मडारिने, झाडापखाला जस्ता लक्षणहरु पनि देखा पर्दछन् ।

६. यो रोग लागेमा खतरनाक चिन्हहरु के के हुन् ?
छिटोछिटो स्वास फेर्नु, छाती दुख्नु, रगत वान्ता हुनु, शरीर निलो हुनु, उच्चज्वरो आई शरीर कम्पन हुनु, बोली लरबराउनु र बालबालिकामा झाडापखाला भएर जलवियोजनका लक्षणहरु देखा परेमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा उपचार गर्नु पर्दछ ।

७. संक्रमण नियन्त्रण गर्ने उपायहरु
यो रोग फैलिएमा नियन्त्रण गर्ने चार प्रमुख उपायहरु छन् । पहिलो हो खोक्दा हाच्छिऊँ गर्दा रुमाल वा रुमाल नभएको अवस्थामा आफ्नो पाखुराले नाक, मुख छोप्ने । दोस्रो, बारम्बार हात धुने र हात सफा राख्ने । तेस्रो, विरामी मानिससित कुरा गर्दा कमसेकम एक मीटरको दुरीमा बस्ने । चौथो, रोगीलाई रोग निको नभएसम्म बेग्लै राख्ने ।

८. घरमा सामान्य लक्षणहरुको व्यवस्थापन
यो रोग लाग्दा देखा पर्ने सामान्य लक्षणहरु जस्तै ज्वरो आउनु, थकान लाग्ने, जीऊ दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, नाक बन्द हुने आदिको व्यवस्थापन घरैमा गर्न सकिन्छ । यसको लागि तातो पानीको वाफ लिने, नूनपानीले कुल्ला गर्ने जस्ता घरेलु उपचार गर्न सकिन्छ । ज्वरो र जीऊ दुखाई कम पार्न पारासिटामोल पनि दिन सकिन्छ । इन्फ्लुएञ्जा भई ज्वरो आएको वा झाडापखाला भएको व्यक्तिलाई प्रशस्त मात्रामा झोल खानेकुरा दिएर जलवियोजन हुनबाट जोगाउनु पर्दछ । विरामीलाई साविक बमोजिमको खानेकुराका अतिरिक्त थप पोषिलो खानेकुरा तथा झोलिलो खानेकुरा पनि खुवाउनु पर्दछ । आमाको दूध खाने बालक भएमा साविक भन्दा बढी मात्रामा दूध चुसाउनु पर्दछ ।

९. कस्तो अवस्थामा स्वास्थ्य संस्थामा जाने ?
इन्फ्लुएञ्जाका सामान्य लक्षणहरुको घरमै उपचार गर्न सकिए पनि कहिलेकाहीं जटिलता देखिएर स्वास्थ्य संस्थामा लगेर उपचार गर्नु पर्दछ । उच्च जोखिममा रहेका समूह जस्तै गर्भवती महिला, बालबालिका, बृद्ध व्यक्ति, दीर्घरोगी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुको निगरानी निकटताबाट गरिनु पर्दछ । कसैमा पनि निमोनिया वा ब्रोङ्काइटिसका लक्षण, चिन्ह देखिएमा, कडा जलवियोजन भएमा वा व्यक्ति गम्भीर रुपले विरामी भएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा लैजानु पर्दछ । सास फेर्न गाह«ो हुनु, चाँडो चाँडो सास फेर्नु, ओठ र अनुहार निलो देखिनु, खोकीमा रगत देखिनु, बोल्न नसक्नु वा अरुले बोलेको नबुझ्नु, छाती बेस्सरी दुख्नु, कम्पन हुनु, राम्रो भएर फेरि रोगले च्याप्नु जस्ता लक्षणहरु खतराका चिन्हहरु हुन् । दुई महिनाभन्दा साना नानीहरुमा इन्फ्लुएञ्जा भएमा वा इन्फ्लुएञ्जा भएको कुनै व्यक्ति सिकिस्त विरामी भएमा त्यो पनि खतराको निशानी हो ।

Chandragirinews rocky भाइरल ज्वरो भनेको के हो ? मुख्य राष्ट्रिय शिक्षा स्वास्थ्य    chandragiriChandragirinews careerad भाइरल ज्वरो भनेको के हो ? मुख्य राष्ट्रिय शिक्षा स्वास्थ्य    chandragiriChandragirinews jebsad भाइरल ज्वरो भनेको के हो ? मुख्य राष्ट्रिय शिक्षा स्वास्थ्य    chandragiri

Comments

comments