चन्द्रागिरि नगरपालिकामा १५ शैयाको प्राथमिक अस्पताल संचालन

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा १५ शैयाको प्राथमिक अस्पताल संचालन हुने भएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ थानकोट गोदामचौरमा बैशाख २८ गते शनिबार प्राथमिक अस्पतालको उद्घाटन हुन लागेको हो । उद्घाटन प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गर्नुहुने नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिनुभयो । कार्यक्रममा स्वास्थ्य विभाग प्रमुख, प्रदेश नम्बर ३ का सांसद रमा आलेमगर, बेलीमाया घले, १५ वटै वडाका जनप्रतिनिधि, बुद्धिजीवि, समाजसेवी, विभिन्न राजनीतिक दलका नेता, स्थानीयलगायतको उपस्थिति रहने छ ।

थानकोटका स्थानीयबासी अस्पताल संचालनमा आउने भएपछि उत्साहित भएका छन् । औपचारिक उद्घाटन केही दिनमा हुने भएपनि अस्पतालले २४ घण्टा बर्थिङ सेन्टर उपलब्ध गराउँदै आएको छ । यो अस्पताल ९० रोपनी क्षेत्रफल भएको जग्गामा निर्माण भएको छ ।

अस्पताल निर्माणका लागि तत्कालिन माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल स्वास्थ्य मन्त्री हुँदा १ करोड १४ लाख रुपैयाँ रकम विनियोजन भएको थियो ।

आर्ष नेपाल बाट साभार