सतुंगलमा फेला परेका सात बर्षीय संक्रमित पालुङबाट आएको


सतुंगलमा फेला परेका सात बर्षीय कोरोना संक्रमित बालक मकवानपुरको पालुङबाट आएको हो ।

चन्द्रागिरि नगरपालिका वडा न १० सतुंगलमा वडा कार्यालय नकिजै बस्ने उनलाई शुक्रवार साँझ कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । चन्द्रागिरि–१० का वडा अध्यक्ष गोपाल कृष्ण महर्जनका अनुसार संक्रमित बालक पैदल हिँडेर २९ वैशाखमा काठमाडौं आइपुगेका हुन् । उनीसँगै पालुङबाट पैदल आउँने यात्रु एक दर्जन थिए ।

स्थायी घर पालुङ भएका संक्रमित बालक बुबा, आमासँग सतुंगलमा भाडाको घरमा बस्छन् ।

वडा अध्यक्ष महर्जनका अनुसार उनको परिवार बस्ने घरमा घरधनी सहित ४३ जना बस्छन् । सो घर १४ दिनका लागी सिल गरिएको छ । त्यहाँ सुरक्षाकर्मी र स्वास्थ्यकर्मी खटिएका छन् ।

पालुङ्बाट आएको थाहा पाएपछि छिमेकीले वडामा खबर गरि दिएका थिए । त्यसपछि उनीहरुको कोरोना परिक्षण गरिएको थियो ।

संक्रमित बालकलाई हाल बलम्बुस्थित एपीएफ अस्पतालको आइसोलेशनमा राखिएको छ ।


Comments

comments