आज योमरी पुन्ही

काठमाडौँ । हरेक वर्ष मंसिर शुक्ल पूर्णिमाका दिन मनाइने धान्य पूर्णिमा अर्थात योमरी पुन्ही आज देशका विभिन्न ठाउँमा मनाइँदैछ । ‘यो’ र ‘मरी’ शब्द मिलेर ‘योमरी’ बनेको हो । ‘यो’ को अर्थ ‘मनपर्ने’ र ‘मरी’को अर्थ ‘रोटी’ हो । भकारीमा भरेको धान कम नहोस् र धनधान्यले भरिभराउ होस् भन्ने उद्देश्यले मनाइने भएकाले यो पूर्णिमालाई ‘धान्य पूर्णिमा’ भनिएको हो ।

धानको विशेष महत्व हुने यो पर्वमा धानलाई लक्ष्मीका रूपमा पूजा गर्ने परम्परा रहेको छ । नेवार समुदायले यो दिनलाई थिन्ला पुन्ही वा योमरी पुन्हीका नामले पनि मनाउने गर्दछन् ।

धान्यपूर्णिमा र योमरी पुन्ही पर्वका दिन पृथ्वीमाताले दिएको धानप्रति खुसी व्यक्त गर्दै पृथ्वीको पूजा गर्ने प्रचलन पनि रहेको छ । आजको दिन नयाँ खाद्यान्न आफूले उपभोग गर्नुअघि सबैभन्दा पहिला कुल देवता, पितृ देवता र देवी–देवताहरुलाई अर्पण गरी नयाँ अन्न चढाएर, होम गरी नयाँ धानबाट चामलको खीर भोग लगाएपछि मात्र आफूले खाने गर्दछन् ।

जाडोको समयमा चामलको पिठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो । योमरी दिन र रातसँग पनि जोडिएको पाइन्छ । बाहिरको चामलको सेतो भागलाई उज्यालो र भित्रको कालो भागलाई अँध्यारोको प्रतीकसमेत मानिन्छ ।

यस पूर्णिमालाई नेपालभाषामा थिल्ला पुन्ही पनि भनिन्छ। यस दिन चामलको पीठो र चाकु तथा तिलको मिश्रण राखिएको विशेष प्रकारको योमरी खाने भएकोले यसलाई योमरी पुन्ही पनि भनिन्छ।

देशभरका नेपालभाषी योमरी बनाएर देवदेवीलाई चढाइसकेपछि प्रसादको रुपमा आफूहरु पनि खान्छन्। तैपनि यो पुन्ही एकदिनमात्र मनाइँदैन। योमरी पुन्हीको भोलिपल्ट नेपालभाषीहरु आफ्ना नातागोता, छोरी, छोरीज्वाइँलाई घर बोलाएर योमरीसहितको भोज खुवाउने गर्छन्।

File pic: – २०७६