आज वर्षकै लामो दिन, झन्डै १४ घन्टाको हुने


चन्द्रागिरि ।

आज २१ जुन । आजको दिन पृथ्वीमा दक्षिणी गोलार्धमा दिन छोटो र उत्तरी गोलार्धमा दिन लामो हुने गर्छ । नेपाल उत्तरी गोलार्धमा पर्दछ । नेपालमा सूर्योदय र सूर्यास्तकोबीचको समय अनुसार आजको दिन झण्डै १३ घण्टा ५४ मिनेटको हुनेछ ।

ज्योतिषी डा. सुनिल सिटौलाका अनुसार ज्योतिषशास्त्रको ग्रह गती अनुसार आज दिन लामो हुन्छ । भोलीदेखि दिन छोटो र रात लामो हुँदै जान्छ । सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतयाः २१ जुनमा दिन लामो हुन्छ ।

अन्तर्राष्ट्रिय समय अनुसार लामो दिन जुन २०, २१ वा २२ तारिख मध्ये कुनै एक दिन पर्छ । चैतको ७ गते र असोजको ७ गते चाहीं दिन र रात बराबर हुने गर्छ । त्यस दिनलार्इ क्रमशः वसन्त सम्पात र शरद सम्पात भन्ने गरिन्छ ।

पुस ७ गते अर्थात डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले दिन सबैभन्दा छोटो र रात लामो हुने पनि डा. सिटौलाले बताए ।

वैदिक ज्योतिषको काल गणनामा आजदेखि सूर्य दक्षिण लाग्ने र दक्षिणायन सुरु हुने भएता पनि व्यवहारमा आउँदो साउन १ गतेबाट सूर्य दक्षिणतिर लाग्ने मानिएको छ ।