चन्द्रागिरि नगरपालिका वडा नं १२ का वडाअध्यक्ष प्रकाश श्रेष्ठद्वारा पैदल यात्रीलाई खाजा, पानी वितरण गर्दै

काठमाडौं । पछिल्लो समय उपत्यकामा बस्दै आएका सर्वसाधारणहरु पैदल यात्रा गरी आफ्नो गृह जिल्ला फर्कने क्रम बढ्दो छ । दोस्रो पटक थप गरिएको लकडाउनपछि झन् उपत्यका छाड्नेको संख्यामा वृद्धि नै भएको छ । सो क्रम आज लकडाउनको २४ औं दिनसम्म पनि जारी छ । यस्तो अवस्थामा शुक्रबार त्रिभुवन राजमार्ग हुँदै गृह जिल्ला फर्किरहेका पैदल यात्रीहरुलाई चन्द्रागिरी नगरपालिका वडा नं १२ का वडाअध्यक्ष प्रकाश श्रेष्ठ र सद्भाव नेपालको संयोजकत्वमा आवश्यक खाजा ,पानी सहयोग गरिएको छ ।

वडाअध्यक्ष श्रेष्ठका अनुसार पैदल यात्रीहरुलाई यात्रामा सहज हुने गरी चाउचाउ, पानी, बिस्कुटका साथै मास्क उपलब्ध गराइएको छ । साथै उनीहरुलाई आफ्नो गन्तव्य सम्म पुग्नको लागि चालु रहेको मालवाहक ट्रकमा व्यवस्थापन गरि पठाएको पनि जानकारी गराए। यस अघि पनि वडाका विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराएर सद्भाव नेपालले सहयोग गरेको थियो । वडा अध्यक्ष श्रेष्ठको नेतृत्वमा वडामा लकडाउनको पालना भइरहेको छ कि छैन भन्दै अनुगमन पनि गर्ने क्रम जारी छ ।