चन्द्रागिरि नगरमै पहिलो पटक बृहद कोटीहोम आयोजना हुने

श्रीवैकुण्ठनाथ दिव्यधाम चन्द्रागिरि ८ मातातीर्थमा बृहद् राष्ट्रशान्ति कोटीहवन महायज्ञ एवं चन्द्रागिरि धार्मिक पर्यटन वर्ष महोत्सव २०७६ आयोजना गरिने भएको छ । आयोजकका अनुसार फाल्गुन १ गतेखि ९ गते महाशिवरात्रीका दिनसम्म आयोजना हुने यस कोटी हवन महायज्ञ चन्द्रागिरि नगर मै पहिलो पटक आयोजना हुन लागेको हो ।

श्रीवैकुण्ठनाथ दिव्यधामका उत्तराधिकारी स्वामी हरिप्रपन्नाचार्य (हरि ओमजी) का अनुसार यस खालको धार्मिक उत्सव उक्त दिव्यधाम मन्दिरमा आयोजित अष्टोत्तरशत (१०८) श्रीमद्भागवत सप्ताह महोत्सवको समापनका अवसरमा आयोजना गर्न लागिएको हो ।

आयोजकले जारी गरेको विज्ञप्तीका अनुसार २०७४ फाल्गुन महिनादेखि नेपालकै एकमात्र वैकुण्ठनाथ भगवानको मन्दिर प्राङ्गणमा उक्त संस्थाका प्रमुख संरक्षक श्री १००८ स्वामी भागवताचार्य महाराजज्यूको सत्संकल्पमा सञ्चालन हुँदै आईरहेको १०८ सप्ताहव्यापी अखण्ड श्रीमद्भागवत सप्ताह महोत्सवको पूर्णाहुती एवं पर्यटन भ्रमण वर्ष २०२० को पावन अवसरमा वृहत राष्ट्रशान्ति कोटीहवन महायज्ञ एवं चन्द्रागिरि धार्मिक पर्यटन वर्ष महोत्सव २०७६, राष्ट्र, राष्ट्रियता, राष्ट्रबासी सबै प्राणीहरू एवं परम वैदिक सनातन धर्मको संवृद्धिका साथै मानव कल्याण र नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्दै लाखौं पर्यटक भित्र्याई चन्द्रागिरि नगरपालिकालाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा स्थापना गर्न एवं सम्पूर्ण मनोवाञ्छित फल प्राप्तिका लागि यस महायज्ञको आयोजना गरिएको हो ।

कोटी हवन महायज्ञका क्रममा ३१ फिट उचाइको हवन मण्डप निर्माण गरिनेछ भने २५५ जना ब्राह्मणद्धारा ५४ कुण्डमा वैदिक मन्त्रद्धारा एक करोड आहुती दिइनेछ भने वेद, उपनिषद, गिता, रामायण लगायतका विभिन्न धार्मिक ग्रन्थहरुको पाठपारायण हुनेछ । महायज्ञमा नेपाल, भारत, संयुक्त राज्य अमेरिका लगायतबाट विद्धान, विदुषीहरु, जगतगुरु, महन्त, मठाधिशहरुको समेत उपस्थिति रहने आयोजकले जानकारी दिएका छन् ।