नेपालमा थप १९ जनालाई कोरोना, संक्रमितको संख्या ६०३ पुग्यो

काठमाडौं, ११ जेठ । नेपालमा आज (आइतबार) थप १९ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थपिएका १९ सहित नेपालमा संक्रमितको संख्या ६०३ पुगेको जानकारी दिए ।  संक्रमितमध्ये हालसम्म ८७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

डा देवकोटाका अनुसार मोरोङका १, बारा कलैयाका १, पर्साका ३, रौतहटका १, सर्लाहीका १, रुपन्देहीका ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोट ककनीका १ जना संक्रमित देखिएका हुन्। यस्तै कपिलवस्तुका ३ जना र गुल्मीका १ गरी १९ जनामा संक्रमण देखिएको हो।

नेपालमा हालसम्म कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ।