Home नगरपालिका नेवार समुदायमा भुतप्रेत पन्छाउने गथाँमुग पर्व मनाइदै

नेवार समुदायमा भुतप्रेत पन्छाउने गथाँमुग पर्व मनाइदै

0
नेवार समुदायमा भुतप्रेत पन्छाउने गथाँमुग पर्व मनाइदै

रोपाईं पछिको पहिलो चाड गठेमङ्गल (घण्टाकर्ण चतुदर्शी) नेवार समुदायले दोबाटो र चौबाटोमा नर्कटको लिङ्गाकृत तीनखुट्टे गठेमङ्गल ठड्याई मनाउँछन्। साउन कृष्ण चतुर्दशीका दिन बिहानै गठेमङ्गल बनाई केटाहरूले ‘घण्टाकर्णको जगात ले’ भन्दै बटुवाहरूसँग जगात अर्थात् कर माग्ने परम्परा छ। गठेमङ्गलमा फलामका औंठी लगाउने गरिन्छ। यस चाडमा महिलाहरू हातमा मेहन्दी (लैंचा) लगाउने र स-साना नानीले आफूले खेल्ने पुतलीहरू औठीमा छुवाई घर लाने गर्छन् भने कसैले गठेमङ्गलमा नै झुन्ड्याई राख्ने पनि गर्छन्। घाम अस्ताएपछि कुनै एक चण्डाल (हालाहुलु)को हातमा छ्वालीको चिराग समात्न लगाई गठेमङ्गललाई तीनपटक परिक्रमा गराएर ढालेपछि नजीकको नदीमा पुर्‍याई विसर्जन गर्ने परम्परा छ। त्यसपछि टोलका मानिसहरू आ-आफ्ना घरबाट माटोको पालामा चिउराको ढुटो, कट (जाँडको छोक्रा वा सिठी) राँगाका फोक्सोका टुक्रा, रगत, लसुन, छापी र एउटा सिंगै काँचो अण्डा राखी चिकंधाला बछा कचा र बौ स्वाँ (फूलका प्रकारहरू)ले सिंगारेर बौ राखी भूत पन्छाउने गर्छन्। त्यसरी भूत पन्छाउन लग्नुअघि सिंगारिएको बौलाई बीचमा राखी चारैतर्फ परिवारका सबै सदस्य बसेर लसुन, छापीका साथ समेबजी (चिउरा, पोलेको मासु, भुटेको भटमास, अदुवा र जाँडरक्सी) खाने परम्परा छ। मौन रहेर बौ राखेपछि घरको मूल ढोकाका ठेलो (लुखाखरु)मा तीनखुट्टे किला ठोक्ने गरिन्छ। गठेमङ्गलदेखि क्रमशः गाईजात्रा, इन्द्रजात्रा, बाडाजात्रा (पञ्चदान), दसै, तिहार आदि चाडपर्वहरू लहरै आउने गर्छन्।

नर्कटको लिंगाकृत -तीनखुट्टे) गथाँमुग बनाई टोलका दोबाटो-चौबाटोमा ठड्याई गथाँमुग पर्व मनाइन्छ। यो पर्व १४ औं शताब्दीदखि मनाइूदै आएको संस्कृतिविद्हरूको भनाइ छ।