बढ्दो प्रदूषण नियन्त्रण गर्न छुट्टै एकाइ गठन

सरकारले उपत्यकाको बढ्दो प्रदूषण नियन्त्रण गर्न वन तथा वातावरण मन्त्रालयले वातावरण विभागका उपसचिव शंकर पौडेलको संयोजकत्वमा प्रदूषण नियन्त्रण एकाइ गठन गरेको छ ।

वायू मापन उपकरणले प्रदूषण बढ्दै गएको देखाएपछि नियन्त्रण गर्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले अग्रसरता लिएका हुन् । प्रदूषणसम्बन्धी मापन गर्न काठमाडौंको रत्नपार्क, ललितपुरको पुल्चोक, काभ्रेको धुलिखेल, चितवनको सौराह र लुम्बिनीमा उपकरण राखिएको छ । पौडेलको संयोजकत्वमा बनेको एकाइले प्रदूषण नियन्त्रणसम्बन्धी मात्र काम गर्नेछ ।

‘एकाइले उपत्यकामा कुन–कुन कारणले प्रदूषण बढ्दै गएको छ भन्ने अध्ययन गर्छ ।’ पौडेलले भने, ‘प्रदूषण गर्ने सरोकारवालालाई बोलाएर नियन्त्रण गर्न लगाइन्छ ।’ गाडी, इँटा उद्योग, चक्रपथ विस्तार, मेलम्ची खानेपानीको पाइप गाड्नेजस्ता कारणले उपत्यकामा सबैभन्दा धेरै प्रदूषण हुने गरेको छ ।