बाहिरी चक्रपथ निर्माण अन्योलमा

योजना बनेको १९ वर्षपछि बाहिरी चक्रपथ ‘जिरो माइल’मा : जग्गा अधिग्रहणको निर्णयलगत्तै प्रक्रिया स्थगित, अब कसले र कहिले बनाउने अनिश्चित

लगानी बोर्डको अनिर्णयले बहुप्रतीक्षित बाहिरी चक्रपथ निर्माण योजना अलपत्र परेको छ । योजना बनेको १९ वर्षसम्म पनि सुरु हुन नसकेको बाहिरी चक्रपथ आफ्नै लगानीमा निर्माण गर्न दुई चिनियाँ कम्पनी इच्छुक थिए । त्यसैले पाँच महिनाअघि नै सहरी विकास मन्त्रालयले यससम्बन्धी प्रस्ताव बोर्डमा पेस गरेको थियो । तर, बोर्डले कुनै निर्णय नगर्दा काम कहिले सुरु हुने भन्ने अन्योल कायमै छ । बनाइएको डिपिआर खारेज गरिएको छ ।

सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले लगानी बोर्डका कारण बाहिरी चक्रपथ निर्माणको काम सुरु हुन नसकेको बताए । ‘लगानी सम्मेलनमा दुई चिनियाँ कम्पनीले चक्रपथ बनाउने इच्छा देखाए, उनीहरूले मन्त्रालयमा औपचारिक प्रस्ताव पनि पेस गरे,’ उनले भने, ‘त्यही प्रस्ताव लिएर हामी लगानी बोर्ड पुग्यौँ र प्रस्ताव पेस गर्‍यौँ । तर, बोर्डले हामीलाई अहिलेसम्म कुनै पत्र पठाएको छैन । त्यसैकारण चक्रपथ निर्माण कार्य शून्य बिन्दुमा छ ।’ गत १५ र १६ चैतमा भएको लगानी सम्मेलनमा चाइना सिभिल कन्स्ट्रक्सन कम्पनी र चाइना रेल्वे कम्पनीले बाहिरी चक्रपथ बनाउने प्रस्ताव राखेका थिए ।

लिंक:- नयाँ पत्रिका