मट्टितेलको डिपोमा पेट्रोल हालियो, अब ५ हजार ६ सय किलोलिटर पेट्रोल भण्डारण गर्न सकिने


चन्द्रागिरि ।

नेपाल आयल निगमले राजधानीको थानकोटस्थित पेट्रोल भण्डारण डिपोमा ५६ सय किलोलिटर पेट्रोल भण्डारण गरेको छ । मट्टीतेलको माग घटेपछि मट्टीतेल डिपो खाली गरेर पेट्रोल भण्डारण गर्न लागेको निगमले आइतबार मात्रै ५ हजार ६ सय किलोलिटर पेट्रोल भण्डारण गरिएको औपचारिक घोषणा गरेको हो ।

यसअघि थानकोटस्थित पेट्रोल भण्डारण डिपोमा १ हजार १ सय किलोलिटर पेट्रोल भण्डारण गरिँदै आएकोमा अबदेखि ५ हजार ६ सय किलोलिटर पेट्रोल भण्डारण क्षमता पुगेको नेपाल आयल निगमका प्रवक्ता सीताराम पोखरेलले जानकारी दिए । योसँगै काठमाडौं उपत्यकामा मात्रै कम्तीमा १० दिनलाई पुग्ने गरी पेट्रोल भण्डारण भएको उनले बताए । ‘थानकोटस्थित पेट्रोल भण्डारण डिपोमा आइतबारदेखि ५ हजार ६ सय किलोलिटर पेट्रोल भण्डारण भएको छ । यसअघि १ हजार १ सय किलोलिटर पेट्रोल भण्डारण हुन्थ्यो । भण्डारण गरिएको पेट्रोल थप १० देखि ११ दिनलाई पुग्छ ।

निगमले थानकोटमा रहेका २१-२१ सयका दुईवटा मट्टीतेलका ट्यांकी खाली गरेर त्यसमा पेट्रोल भण्डारण गरेको हो । यसरी पेट्रोल भण्डारण गर्न मट्टीतेलका ट्यांकी खाली गर्न भारतबाट प्राविधिक आएका र करिब तीन महिना समय लागेको उनको भनाइ छ । ‘यो निमार्ण र भण्डारण गर्न करिब तीन महिना लाग्यो, ट्यांक टेक एसिया प्राइभेट लिमिटेड चेन्नई भारतका प्राविधिक र हामीले ल्याएका थियौं,’ प्रवक्ता पोखरेलले थपे ।

यसरी निगमले मट्टीतेलको ट्यांकीमा समेत पेट्रोल भण्डारण गरेसँगै अब एक दिन बिदा हुँदा लाम लाग्नुपर्ने अवस्था नआउनेमा आयल निगम ढुक्क रहेको निगम प्रवक्ता पोखरेलको भनाइ छ ।

हाल काठमाडौं उपत्यकामा दैनिक ४ सयदेखि ५ सय किलोलिटर पेट्रोल र ५ सयदेखि साढे ५ सय किलोलिटर डिजेल खपत हुँदै आएको छ । दैनिक यही औषतले खपत हुँदा अहिले भण्डारण गरिएको पेट्रोल १०–११ दिनभन्दा बढी पुग्ने निगमको अपेक्षा छ । काठमाडौं उपत्यकामा मात्रै १ सय ६४ वटा पेट्रोल पम्प रहेको निगमले जनाएको छ ।

मट्टीतेल डिपोमा पेट्रोल भण्डारण गरी पेट्रोलको भण्डारण क्षमता बढाए पनि निगमले डिजेलको भण्डारण क्षमतामा भने कुनै हेरफेर गरेको छैन । निगमका अनुसार हाल थानकोटस्थित डिपोमा ८ हजार ४ सय किलोलिटर डिजल भण्डारण गरिँदै आएको छ ।

यसैबीच नेपाल आयल निगमले मुलुकभरि नै भण्डारण क्षमता वृद्धि गर्न विभिन्न स्थानमा जग्गा खरिद गर्ने काम अघि बढाएको छ । निगमले भण्डारण क्षमता वृद्धिका लागि भण्डारण गृह निर्माण गर्न चितवनमा २२ बिघा र झापा तथा सर्लाहीमा क्रमशः २०-२० बिघा जग्गा यसअघि नै खरिद गरिसकेको छ ।