मोटरसाइकलको पछाडी बस्नेले पनि अब अनिवार्य हेल्मेट लगाउनुपर्ने

मोटरसाइकल र स्कूटरमा पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम लागू हुने भएको छ ।

दुर्घटनामा दुईपांग्रे सवारी साधनको पछाडि बस्नेहरूको मृत्यु हुने क्रम बढेपछि दुवै जनलाई हेल्मेट अनिवार्य गरिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखमा आइतवार आयोजित ट्राफिक प्रहरीको प्रगति विवरण र आगामी कार्ययोजनाको जानाकारी विषयमा जानकारी गराउँदै महाशाखाका प्रमुख एसएसपी वसन्तकुमार पन्तले यस्तो बताएका हुन् ।

उनले भने– ‘उपत्यकालगायत देशैभरि दुईपाङ्ग्रे चालकभन्दा पछाडि बस्ने यात्रुको दुर्घटनामा मुत्यु हुने भएकाले यस्तो व्यवस्था ल्याउन लागिएको हो ।’

यातायात विभाग र ट्राफिक प्रहरीले आवश्यक मापदण्ड निधारर्ण गरी आगामी ६ महिनाभित्र लागू गर्ने एसएसपी पन्तले बताए ।

प्रहरीका अनुसार चालू आर्थिक वर्षको फागुन महिनाको अन्त्यसम्ममा उपत्यकामा सवारी दुर्घटनामा परी २ सय ११ जनाको मृत्यु भएको छ ।

जसमध्ये ९६ प्रतिशत दुइपांग्रे सवारी साधन दुर्घटनामा मृत्यु भएको छ ।

जथाभावी सडक पार गर्नु, ट्राफिक नियमको पालना नगनुँ, तीव्र गतिमा सवारी चलाउनु जस्ता कारणले दुर्घटना बढेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।