३० महिनामा नागढुंगा–सिस्ने खोला सुरुङ निर्माण सम्पन्न गरिने

बहुप्रतीक्षित नागढुंगा सुरुङमार्ग खन्ने काम पुसदेखि थालिने भएको छ । २४ कात्तिकदेखि सुरुङ खन्ने योजना भए पनि आवश्यक स्टिलको पोर्टल फ्रेम आइपुग्न ढिला भएकाले काम पछाडि धकेलिएको नागढुंगा सुरुङमार्गका निमित्त आयोजना प्रमुख नरेशमान शाक्यले बताए । उनले भने, ‘सुरुङ खन्न थाल्नुपूर्व ढोकाको चौकोस आकारका फ्रेम राख्नुपर्छ । त्यसपछि मात्र निर्माण थालिन्छ ।’ पोर्टल फ्रेम अर्डर दिएको कम्पनीका कर्मचारी कोरोना संक्रमित हुँदा ढिलाइ भएको उनको भनाइ छ । ‘अझै १० दिन ढिलाइ हुने जानकारी पाएका छौँ,’ उनले भने । त्यसपछि निर्माणस्थलमा ल्याएर जोड्न अर्को १० दिन लाग्नेछ । त्यसपछि मात्र सुरुङ खन्ने काम थालिनेछ । ‘ढिलोमा पनि पुसदेखि सुरुङ खन्ने काम सुरु हुनेछ,’ निमित्त प्रमुख शाक्यले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको बलम्बुबाट थालनी भई धादिङको सिस्ने खोलामा निस्किने सुरुङमार्गको शिलान्यास गरेको वर्ष दिन पूरा भएको छ । सुरुङ र सडक गरी कुल ५ दशमलव १३ किलोमिटर लामो आयोजनामा तीन लेनको सुरुङमार्ग हुनेछ । उपत्यका प्रवेश गर्ने सवारीसाधन दुई लेनबाट यात्रा गर्नेछन् भने बाहिरिने सवारीसाधन एक लेनबाट जानेछन् । यस मार्गमा सुरुङको कुल लम्बाइ २ दशमलव ६ सय ८८ किमि र सडकको लम्बाइ २ दशमलव ४५ किमि हुनेछ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।