२८ विद्यालयका करिब ३०० विद्यार्थीलाई जेसिस इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कुलले गर्यो सम्मान

काठमाडौँ, काठमाडौँको पश्चिम क्षेत्रमा अवस्थित चन्द्रागिरी नगरपालिकाबाट ३.६ देखि ४.० जी.पी.ए. सहित एस.ई.ई.मा सफलता हासिल गरेका २८ विद्यालयका करिब ३०० विद्यार्थीलाई जेसिस इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कुलले एक भव्य कार्यक्रमका बिच सम्मान गरेको छ ।

शनिबार आफ्नै विद्यालय प्राङ्गणमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथिको आशनबाट चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले नगरपालिकाका विद्यालयहरुले प्राप्त गरेको सफलताले आफूलाई खुसी लागेको बताउनु भयो । “यस क्षेत्रका विद्यायलहरुले आफ्नै स्रोतबाट नयाँ नयाँ योजना सहित विविध कार्यक्रमहरु सञ्चालन गरेर शैक्षिक लगनशीलताको पहिचान दिएका छन्, म शैक्षिक उन्नयनका लागि यहाँहरुलाई हरतरहले सहयोग गर्छु” उहाँले अगाडि भन्नुभयो, चन्द्रागिरी नगरपालिकालाई शैक्षिक केन्द्रका रुपमा विकास गर्नका लागि हामी सबै अगाडि बढौँ, त्यसमा नीति निर्माण गर्ने तथा सरकारी स्तरबाट व्यवस्थापन गर्ने काम म गर्छु ।”

सो समारोहमा विशेष अतिथिको भूमिकामा रहनुभएका हिमालयन कलेज अफ एग्रिकल्चर साइन्स (हिकास्ट)का संस्थापक अध्यक्ष विनायक राजभण्डारीले जेसिले कृषि र कम्प्युटर साइन्सका लागि नयाँ कार्यक्रम सञ्चालन गर्न लागेकोमा खुसी लागेको बताउँदै अबको समय भनेको कृषि क्रान्तिको समय भएकाले सबैले कृषि शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले कृषि पढेका विद्यार्थीहरुको कक्षा १२ पछिको भविष्यको लागि आफूले जिम्मेवारी लिने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा पश्चिम क्षेत्रीय विद्यालय समाजका अध्यक्ष दयाराम थापाले चन्द्रागिरी नगरलाई इन्डियाको बङ्गलोर जस्तै शैक्षिक हब बनाउने आफ्नो सोच रहेको धारणा राख्दै जेसिस स्कुलले कक्षा ११ मा सुरु गर्दै गरेको एग्रिकल्चर साइन्स तथा कम्प्युटर साइन्सको कक्षाको लागि आफ्ना तर्फबाट शतप्रतिशत सहयोग रहेको बताउनु भयो । उहाँले अगाडि भन्नुभयो, “हामी यस क्षेत्रका विद्यालयबिच अस्वस्थ प्रतिस्पर्धा छैन र हामी गर्दैनौँ पनि । सबै विद्यालयले आपसी समझदारी कायम गरी कक्षा ११ मा विविध विषयका कार्यक्रम सञ्चालन गर्नुपर्छ, त्यसमा एकले अर्कोलाई सहयोग गर्ने परिपाटीको विकास गर्नुपर्छ ।”
कार्यक्रममा विद्यालयका प्रिन्सिपल सरोज महर्जनले विद्यार्थीहरुले गुणस्तरीय शिक्षा चन्द्रागिरी क्षेत्रमै पाउने भएकाले विद्यार्थीहरुलाई अन्यत्र नभौतारिन सुझाउनुभयो । उहाँले जेसिसले सबैतिरबाट साथ र सहयोग पाइ रहेको र आगामी भविष्यमा पनि पाउने कुरामा विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रमका सभाध्यक्ष विद्यालयका अध्यक्ष रमेश चन्द्र श्रेष्ठले विद्यार्थीलाई प्रयोगात्मक शिक्षाको लागि जेसिसले निस्वार्थ रुपमा लाग्ने धारणा व्यक्त गर्नुभयो ।