बाहिरी चक्रपथको जग्गा अधिग्रहण सुरु, पाइलट प्रोजेक्ट क्षेत्रका ८० घर भत्कने

  • 262
    Shares

चन्द्रागिरि ।

चर्चाको केन्द्र बनेको बाहिरी चक्रपथ आयोजनाको पाइलट प्रोजेक्ट अन्तर्गत पर्ने चोभार-सतुंगल खण्डको जग्गा अधिग्रहण सुरु भएको छ । काठमाण्डाै उपत्यका विकास प्राधिकरणका प्रारम्भिक अधिकृत ध्रुव प्रसाद सापकोटाले बिहिबार पाइलट प्रोजेक्टमा पर्ने चन्द्रागिरि र किर्तिपुर नगरपालिकामा चार किल्ला तोकेर सूचना टाँसेका हुन् ।

आयोजनाले सोमबार सार्वजनिक सूचना प्रकाशित गरेर ७ हजार ८ सय रोपनी जमिन अधिग्रहण गर्नेछ ।‘सोमबार ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेपछि पाइलट प्रोजेक्ट अन्तर्गत पर्ने ८९५६ रोपनी जमिन सरकारी स्वामित्वमा आउनेछ’, आयोजनाका अधिकृत सापकोटाले भने । बाहिरी चक्रपथ विकास आयोजनाले पहिलो चरणमा पाइलट प्रोजेक्टका रुपमा चोभार सतुंगल खण्डको ६ दशमलब ६१८ किलोमिटरको काम अघि बढाउन लागेको हो । सो खण्डमा ८० वटा घर भत्काउनुपर्ने आयोजनाले जनाएको छ । ती घरहरुको उचित मुआब्जा दिने पनि अधिकृत सापकोटाले बताए । अघिल्लो सरकारका शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले बैशाख १३ गते बाहिरी चक्रपथको सतुंगल–चोभार क्षेत्रमा पर्ने ६ दशमलब ६१८ किलोमिटर खण्डको डिपिआर स्विकृत गरेका थिए । पाइटल प्रोजेक्टका रुपमा अघि सारिएको यो खण्डको अनुमानित लागत ६ अर्ब ३० करोड रुपैंयाँ रहेको छ । २०६५ सालमा यस्तो लागत जम्मा २ अर्ब ९ करोड रुपैंयाँ मात्रै थियो ।



  • 262
    Shares

Comments

comments