स्थानीय तहले करारमा कर्मचारी भर्ना गर्न पाउने

  • 30
    Shares

काठमाडौँ, चैत १४ गते । अब स्थानीय तहले करार सेवामा कर्मचारी भर्ना गर्न पाउने भएका छन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापनसम्बन्धी कार्यविधि स्वीकृत गरेसँगै करारमा कर्मचारी भर्नाको बाटो खुलेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मङ्गलबार कार्यविधि स्वीकृत गर्नुभएको हो । स्थानीय तहले आआफ्नो कार्यपालिकाको बैठकबाट नमुना कार्यविधि स्वीकृत गरी करारमा कर्मचारी राख्न सक्ने मन्त्रालयले जानकारी दिएको छ ।

कार्यविधिअनुसार स्थानीय तहलाई आवश्यक पर्ने कृषि, पशु, वन, स्वास्थ्यसँग सम्बन्धित जनशक्ति करार सेवामा लिन सकिनेछ । स्थानीय तहले स्वीकृत गरेको दरबन्दीका आधारमा १५ दिनको सार्वजनिक सूचना जारी गरी कर्मचारी भर्ना गर्नसक्ने व्यवस्था कार्यविधिले गरेको छ । प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा गठन हुने भर्ना छनोट समितिले सूचीकरण गरेपछि आवेदकको योग्यताक्रमअनुसार सूचीकरणको विवरण प्रकाशन गर्नुपर्छ । करार सम्झौतामा कार्यविवरण सर्त, करार अवधि, पारिश्रमकि आदि खुलाउनुपर्ने व्यवस्था गरिएको छ । स्थानीय तहमा कर्मचारी भर्नासँगै सेवा प्रवाहमा सुधार आउने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले बताउनुभयो । साभार: गोरखापत्र


  • 30
    Shares

Comments

comments