कलंकी-नागढुंगा सडकः ४ किलोमिटर बैशाख भित्रै कालोपत्रे

काठमाडौं । कलंकी-नागढुंगा सडकको ४ किलोमिटर खण्ड बैशाख भित्रै कालो पत्रे हुने भएको छ । काठमाडौं सडक विस्तार आयोजनाका प्रमुख दिपक केसीका अनुसार कलंकी नागढुंगा सडकको ४ किलोमिटर खण्ड बैशाख भित्रै कालो पत्रे गर्ने काम सुरु गरिएको हो ।

‘४ किलोमिटर सडक चाँही बैशाख भित्रै कालोपत्रे गर्ने तयारी भैसकेको छ, हामीले कहि काम सुरु गरिसकेका छौं’, केसीले भने । केसीका अनुसार अदालतको अवरोध नभएका बिभिन्न ठाउँमा गरि कुल ४ किलोमिटर सडक कालो पत्रे गर्ने काम अघि बढेको हो ।

सडक कालो पत्रे गर्नु पुर्वका सबै काम सम्पन्न भैसकेको पनि जानकारी दिए । ‘४ किलोमिटर खण्डमा ढल, खानेपानी, फुटपाथ, बिजुलीका पोल लगायतका सबै काम गरिसकिएको छ, कालोपत्रे गर्नु अघि बिछ्याइने माटो र ढुंगाको काम समेत सकिएको छ’, केसीले भने ।

आयोजनाले सो खण्डमा असार अघि कालो पत्रे सक्ने गरि काम अघि बढाउन लागेको थियो । तर प्रधामन्त्री कर्यालयले अदालतको अवरोध नभएको ठाउँमा कालो पत्रेको काम सन्पन्न गर्न निर्देशन दिएपछि आयोजनाले काम अघि बढाएको हो ।

१२.४८ किलोमिटर लामो कलंकी नागढुंगा सडक खण्डमा दर्जनौं मुद्धा परेका छन् । २०७४ साल असोजमा सर्वाेच्च अदालतले सडक विस्तारका सवालमा महत्वपुर्ण फैसला गरेको भएपनि अझैसम्म पुर्ण पाठ भने आईसकेको छैन् ।

सर्वाेच्च अदालतका प्रवक्ता नारायण प्रसाद पन्थीले सडक विस्तार सम्बन्धी फैसलाको पुर्ण पाठ कहिले आउने भन्नेबारे कुनै जानकारी नभएको बताए । फैसलाको पुर्ण पाठ कहिले आउँछ भन्ने जानकारी छैन्, फैसला लेखेर आयो भने हामी तुरुन्तै पठाईदिन्छौं’, सर्वाेच्च अदालतका प्रवक्ता पन्थीले भने ।

त्रिपुरेश्वर कलंकी नागढुंगा सडक खण्डमा ५७० वटा घर भत्काउन बाँकी छ भने ३१२ वटा विजुलीको पोल, १७२ वटा टेलिकमको पोल, ३० वटा रुख, २२ वटा स्ट्रिट लाइट, २७ वटा ट्रान्सफर्मर, १५ वटा टेलिफोन म्यान होल र एक वटा पानी ट्यांकीको अवरोध रहेको छ ।

सडक विस्तारको ठेक्का लागेको ३२ महिना बितिसक्दा जम्मा १७ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । साभार : विकास न्युज