प्रहरी कार्यालयको शौचालयमा आत्महत्याको प्रयास

चन्द्रागिरि ।

चन्द्रागिरि नगरपालिका १ नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागको शौचालयमा एक व्यक्तिले आत्महत्याको प्रयास गरेका छन् । चोभार स्थायी घर भएका कुमार कार्कीले आत्महत्या प्रयास गरेका हुन् । २९ बर्षीय कार्कीले शनिवार दिउँसो शौचालय भित्र चुकुल लगाएर ब्लेडले घाँटी रेटेर आत्महत्या प्रयास गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) प्रधुम्न कार्कीले जानकारी दिए ।

शनिबार मध्यान्ह पुर्वतिर यात्रा गरेर आएका कार्कीले प्रहरी प्रभाग अघिल्तिर बसेर केहीबेर धुम्रपान गरेको र त्यसपछि शौचालय छिरेको बताईएको छ । लामो समय शौचालयबाट ननिस्केपपछि प्रहरीले चुकुल फोडेर हेर्दा कार्की लडिरहेको र घाँटीबाट रगत बगेको देखेपछि प्रहरीले नै उनलाई अस्पताल लगेका थिए । हाल उनको ट्रमा सेन्टरमा उपचार भईरहेको एसपी ककार्कीले बताए । प्रहरी स्रोतका अनुसार कार्कि मानसिक रुपमा अस्वस्थ छन् ।