Home नगरपालिका मातातीर्थमा निर्मित सशस्त्र प्रहरी बलको प्रतिष्ठान हस्तान्तरण

मातातीर्थमा निर्मित सशस्त्र प्रहरी बलको प्रतिष्ठान हस्तान्तरण

0
मातातीर्थमा निर्मित सशस्त्र प्रहरी बलको प्रतिष्ठान हस्तान्तरण


चन्द्रागिरि ।

चीन सरकारको सहयोगमा चन्द्रागिरि नगरपालिका मातातीर्थमा निर्मित सशस्त्र प्रहरी बलको प्रशिक्षण प्रतिष्ठानको संरचना शुक्रबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

बलको प्रधान कार्यालयमा गृहमन्त्री जनार्दन शर्माको उपस्थितिमा मन्त्रालयका सचिव लोकदर्शन रेग्मी र नेपालका लागि चिनियाँ राजदूत यु होङबीच तालिम केन्द्रको संरचना हस्तान्तरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भयो । तीन सय १८ रोपनी क्षेत्रफमा फैलिएको सो प्रतिष्ठान निर्माणका लागि चीनबाट तीन अर्ब ६० करोड सहयोग उपलब्ध भएको थियो । चाइना रेल्वे कन्स्ट्रक्सन कम्पनीले सो निर्माण गर्ने ठेक्का पाएको थियो ।

नेपाल र चीनबीच २०७१ मङ्सिर २६ गते निर्माणसम्बन्धी सम्झौता भएकामा तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम र चिनियाँ विदेशमन्त्री वाङ यीले संयुक्त रुपमा विसं २०७१ पुस ११ गते प्रतिष्ठानको शिलान्यास गरेका थिए। विसं २०७२ वैशाख ३ गतेदेखि निर्माण सुरु भएको र गत जेठ २ गते निर्माण गर्ने लक्ष्य लिइएकामा निर्धारित दुई वर्षमै बनेको छ । त्यहाँ मुख्य शैक्षिक भवन, सभाकक्ष, कभर्ड हल, फुटबल मैदान, स्किमिङ पुल, जिम हल, हेलिप्याड, बास्केटबल कोर्ट, प्रशिक्षक तथा प्रशिक्षार्थी भवनलगायत संरचना छन् ।

संरचना हस्तान्तरण सम्झौतापछि गृहसचिव रेग्मीले प्रतिष्ठानको निर्माणले बलको व्यावसायिकता, क्षमता र सीप अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। राजदूत होङले प्रतिष्ठान निर्माण सुरु भएको केही दिनमै नेपालमा आएको भूकम्पका कारण निर्माणमा समस्या परे पनि तोकिएको अवधिमा निर्माण भएकामा खुसी व्यक्त गरिन्। रासस