पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदै

आज पुस २७ गते, नेपाल एकीकरण गर्ने तत्कालिन राजा पृथ्वीनारायण शाहको जन्म जयन्ती । राजनीतिक दल तथा निजी क्षेत्रको पहलमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ । विक्रम संवत २००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२-०६३ सालको जनआन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको थियो यसपटक भने सरकारले बिदा दिएको छ ।

पृथ्वीनारायणको शासनकालमा नेपाल ५४ टुक्रामा विभाजित थियो । जसमध्ये बाइसे कर्णाली र चौविसे राज्य गण्डकी प्रदेशमा थिए । लिच्छवीकालमा पनि नेपाल अहिलेकै जस्तो ठूलो रहेको इतिहासमा पाइन्छ ।

पश्चिमा खस राज्य थियो । उनीहरु २२ टुक्रामा विभाजित थिए । त्यसपछि पाल्पाली राजा मुुकुन्दसेन सिमरौनगढका ढोय जातिलाई लिएर काठमाडौं पस्न खोजेका थिए तर सकेनन् ।

अर्का मल्लकालीन राजा जयस्थिति मल्लले पनि एकीकरणको प्रयास गरेका थिए, तर सफल भएनन् । पछि यक्ष मल्लले एकीकरण गर्न सुरु गरे उनका छोरा बुहारीका पालाका नेपालमण्डल तीन टुक्रा काठमाडौं, ललितपुर र भक्तपुर भयो ।

यसरी टुक्राटुक्रामा विभक्त नेपाललाई पृथ्वीनारायण शाह गोरखाबाट पूर्वतर्फ अघि बढेर एकीकरणको अभियान सुरु गर्नुभएको थियो ।

एकीकरण अभियानसँगै पृथ्वीनारायण शाहको दिव्योपदेशलाई सबैले स्मरण गर्छन् । उहाँको दिव्योपदेश आधुनिक नेपालका लागि उत्तिकै सान्दर्भिक र प्रेरणादायी छ ।