काठमाडौं : सधैंजसो ‘हेभिवेट’ नेताबीच प्रतिस्पर्धाका कारण काठमाडौं क्षेत्र १० को चुनावी चर्चा बढी नै हुन्थ्यो । एमाले-माओवादीबाट विगतमा पार्टी प्रमुखले निर्वाचन लडेको क्षेत्र भएकाले यो क्षेत्रको चुनावलाई चासोका साथ लिने गरिन्छ । भौगोलिक विशिष्टता, दलको प्रभाव, भाषिक-राजनीतिक अवस्थाका कारण यस क्षेत्रको चुनावी चर्चा सधैं शिखरमै हुने गरेको छ ।

यसपटक पनि काठमाडौं १० मा आउनसक्ने सम्भावित नतिजाका विषयमा उम्मेदवार मनोनयन दर्तादेखि नै टीका-टिप्पणी सुरु भएका छन् । कांग्रेस उम्मेदवार तथा युवा तथा खेलकुदमन्त्री राजनकुमार केसी र वाम गठबन्धनका तर्फबाट माओवादी प्रदेश ३ का इन्चार्ज हितमान शाक्य यस पटक प्रतिस्पर्धामा उत्रिएका छन् ।

चुनावी प्रचारका लागि उनीहरू मातदाताबीच पुगिसकेका छैनन्, तर निर्वाचन कसरी जित्ने ? निर्वाचन परिचानलन कार्यक्रम कसरी बनाउने भन्ने तयारीमै अहिले उम्मेदवारहरू जुटेका छन् । वाम गठबन्धनका साझा उम्मेदवार शाक्य एमाले-माओवादीका संयुक्त बैठक राख्ने, आन्तरिक निर्वाचन परिचालन कमिटी एवं योजना बनाउनेमा व्यस्त छन् । उनी बुधबार काठमाडौंमा दुवै पार्टीले गरेको संयुक्त कार्यक्रममा व्यस्त थिए ।

कांग्रेसका उम्मेदवार केसीले भने चन्द्रागिरि नगरपालिकामा चुनाव प्रचारप्रसार समिति बनाए । उनी पनि प्रचार समिति गठनमा व्यस्त छन् । कीर्तिपुर, दक्षिणकाली र चन्द्रागिरि नगरपालिकाको अधिकांश वडा समेटिएको उक्त निर्वाचन क्षेत्रमा कुल ७१ हजार २ सय १ मतदाता छन् । मतदातामाझ पुग्ने प्रभावकारी योजनाबारे अहिले उम्मेदवारहरू आन्तरिक तयारीमा व्यस्त देखिएकाले कुन उम्मेदवारले कस्ता चुनावी कार्यक्रम अगाडि ल्याउलान् स्पस्ट भइसकेको छैन । तर घरदैलो, स-साना कोणसभा र चुनावी सभाजस्ता कार्यक्रम प्रचारमा आउने शाक्य-केसी दुवैको भनाइ छ ।

यसअघिका दुईवटा निर्वाचनमध्ये पहिलोमा हार र दोस्रोमा कांग्रेसका केसीले जित निकालेका थिए । माओवादीका उम्मेदवार शाक्य केसीका लागि नयाँ प्रतिस्पर्धी हुन् । तर उनी यसलाई नयाँ र पुराना प्रतिस्पर्धी भन्न रुचाउँदैनन् । ‘मेरो प्रतिस्पर्धी नयाँ र पुरानो भन्ने छैन, यो प्रतिस्पर्धा लोकतान्त्रिक शक्ति र वामपन्थीबीचको जनमतसंग्रह हो,’ केसीले भने ।

शाक्य यसअघि ०६४ मा काठमाडौं ६ बाट निर्वाचित भएका थिए । तर ०७० को संविधानसभा निर्वाचनमा भने उनले भाग लिएनन् । २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पराजित केसी ०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनै दाहाललाई हराएर चर्चामा आएका थिए । तर शाक्य वामपन्थीहरूको आधार क्षेत्र, एमाले-माओवादीबीचको गठबन्धन, राजनीतिक स्थिरता र समृद्धिको एजेन्डाका कारण आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन् । ०७० को संविधानसभा निर्वाचनमा केसी २० हजार ३ सय ९२ मत ल्याई यस क्षेत्रबाट निर्वाचित भएका थिए । तर स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार मान्ने हो भने यस क्षेत्रमा कांग्रेसको भन्दा कम्युनिस्टको मत झण्डै १२ हजार बढी छ ।

स्थानीय तहको मत परिणाम र गठबन्धनको विगतको मतलाई आधार मानेर जित-हार ननिस्कने केसी जिकिर गर्छन् । केसी भन्छन्, ‘पार्टीहरूले गठबन्धन बनाउँदैमा मतदाताले बनाउँछन भन्ने छैन ।’ तर शाक्य काठमाडौं १० सधैं परिवर्तनको पक्षमा रहेकाले पनि राजनीतिक एजेन्डाका आधारमा मतदाताले परिवर्तनकारी शक्तिलाई जिताउनेमा ढुक्क देखिएका छन् ।

केसी र शाक्यसँगै त्यही क्षेत्रबाट विवेकशील साझाका प्रदीप ढकाल, राष्ट्रिय जनमोर्चाका गणेशबहादुर कँुवर, नेकपा मालेका कृष्णकुमार श्रेष्ठ, कांग्रेस (बीपी)का प्रणय सिंह, राजपाका अर्जुनकुमार रञ्जित, नयाँ शक्तिका पञ्चलाल महर्जन, संघीय समाजवादीका टोकोल तामाङ पनि चुनावी मैदानमा छन् ।
ठाउँ (क्षेत्र)
मतदाता संख्या
कीर्तिपुर नगरपालिका
२९,४७५
दक्षिणकाली नगरपालिका
१६,८०४
चन्द्रागिरि नगरपालिका वडा २,३,४,५,६,७,८,९,१० र ११
२४,९२२
जम्मा
७१,२०१

Chandragirinews rocky काठमाडौं १० : मतदाता फकाउँदै केसी र शाक्य राजनीति    chandragiri
Chandragirinews careerad काठमाडौं १० : मतदाता फकाउँदै केसी र शाक्य राजनीति    chandragiri
Chandragirinews jebsad काठमाडौं १० : मतदाता फकाउँदै केसी र शाक्य राजनीति    chandragiri
नागरिक

Comments

comments