यस्ताे थियाे टुंडिखेल


काठमाडाैं । नेपाली खेलकुदको विषयमा चर्चा गर्दा छुटाउनै नहुने एक पक्ष हो दशरथ रंगशाला । देशकै एक मात्र अन्तर्राष्ट्रियस्तरको यो रंगशाला नेपाली खेलकुदको पर्याय नै मान्न सकिन्छ । यसकै काखमा तयार भएका थुप्रै नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा आफुलाई शिद्ध गर्दै देशकै नाम उचो बनाईसकेका छन् । नेपाली खेलकुद आज जुन अवस्थामा छ त्यसको लागि यो रंगशालाको महत्व अतुलनीय छ । त्यसैले आज सबै नेपाली खेलकर्मी यसलाई आफ्नो मन्दिरकै रुपमा लिन्छन् । आज हामी यहि रंगशालाको विषयमा तपाईलाई जानकारी दिँदैछौं ।

वि.सं. २०१३ को कुरो हो । राजा महेन्द्रको राज्यभिषेकको अवसरमा दरबारले कुस्ती, एथ्लेटिक्स, फुटबल, व्याडमिन्टन र टेबल टेनिससहित विभिन्न खेलकुद प्रतियोगिता गर्ने निर्णय गर्यो । तर खेलाउने पो कता ? त्यसताका काठमाडौंमा खुल्ला मैदानको कमी थिएन । फेरी नेपालले ५ वर्ष अघिदेखी नै अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलिरहेको थियो । भोली आफ्नै देशमा खेलाउनु परे मैदान पनि त छैन् । यसै सन्दर्भमा पहिलो पटक राज्य स्तरबाट एउटा रंगशालाको महत्व महसुस गरियो । रंगशाला निर्माणका लागि स्थान छनोट गरियो, त्यस बेलाको सानो टुँडिखेल ।

एक समय एसियाकै ठूलो परेड खेल्ने मैदानका रुपमा रहेको टुँडिखेल अहिलेको रानी पोखरीदेखी त्रिपुरेश्वरसम्म फैलिएको थियो । त्यसकै एक भाग सानो टुँडीखेल हाल खेलकुद परिषद्को कभर्ड हल रहेको स्थान हो । त्यहाँको खाली मैदानमा सार्वजनिकरूपमा फुटबल खेलिन्थ्यो जुन सानो टुँडीखेलको नामले परिचित थियो। अहिले फुटबल मैदान भएको ठाउमा त्यतिबेला पोखरी सहितको ठूलो खाल्डो थियो । त्यस समय त्यो पोखरी नजीकै नजान भन्ने गर्दथे स्थानीयहरु । कारण पोखरीमा तान्ने चिज छ भन्ने विश्वास थियो उनीहरुमा । त्यस समय त्यो ठाँउ मसानघाटको रूपमा परिचित थियो । काठमाडौंका पोडें र बागमती नदी वरपर बस्ने जोगीहरूको लाश जलाउने र गाड्ने गरिएको स्थानीयहरु बताउँछन् । रंगशालाको उत्तर प्याराफिट तर्फ पहिले ठूलो बासको झयाङ रहेको र त्यो झयाङमा नाग भएको भन्दै त्यता नजान पनि सल्लाह दिन्थे । तर त्यहिँ मैदान बनाउने जिम्मेवारी पाए भर्खरै सेनाको प्रधान सेनापतिको कार्यभार पुरा गरेका किरण शम्शेरले । उनले खाल्डो भएको स्थान सम्याउन राता रात बुलडोजर चलाए। यसका लागि २ महिनाको समय लागेको थियो। त्यतिबेला रंगशालाको पूर्वपट्टी सेनाको सानो ब्यारेक र डाडो पनि थियो। उत्तरतर्फ बाँस झयाङ। दक्षिणीतर्फको भाग खुल्ला थियो। पश्चिमतर्फ राजा राजपरिवारका सदस्य, मन्त्रिगण र अतिथीका लागि बस्ने ३,४ वटा गाह्रो उठाइयो। त्यही स्थानमा खेल संचालन नहुँदा आराम गर्ने र शौचालय सहितको एक तल्ले घर तयार पारियो।

हतार हतारमा खाल्डोलाई माटोले सम्माएर जो मैदान तयार पारिएको थियो, खेल मैदानको लेबल राम्रो थिएन। मैदानमा घाँस पनि थिएन। प्रतियोगिताको दिन धुलो नउडोस भन्ने हेतुले सधै पानी छर्किने गरिन्थ्यो। तर पनि खेल भइरहँदा धुलो उडेर विजोग । यहि प्रतियोगिता अन्तर्गत फुटबल खेलाउनका लागि पहिलो पल्ट फ्लड लाईटको प्रयोग भएको थियो। त्यति बेला बिजुली अफिसबाट लाईट झिकाईएको जानकारहरु बताउँछन् ।

यसबीच वि.सं. २०१७ साल फाल्गुन १७ गते राष्ट्रिय खेलकुद परिषद्को स्थापना भयो । वि.सं. २०१५ मा स्थापित होराप्रसाद जोशी सदस्य सचिव रहेको राष्ट्रिय स्वास्थ तथा खेलकुद परिषद्लाई राष्ट्रिय खेलकुद परिषद्को रुपमा स्थापना गरियो । सदस्य सचिव बने सुशील शमशेर जबरा । उनकै सक्रियताको परिणाम वि.सं. २०२० मा राजा महेन्द्रले त्रिपुरेश्वरको २ सय रोपनी जग्गा रंगशाला बनाउन परिषद्लाई प्रदान गरे । त्यस अघिसम्म रंगशाला बनेको जग्गा परिषद्को नाममा थिएन। भलै पछि २०३७ सालमा परिषद्ले मालपोत कार्यालयबाट निकालिएको लालपूर्जामा जग्गा घटेर १ सय ३२ रोपनीमा सिमित भयो। २०२१ साल मै भारतीय दूतावासको सहयोगमा कभर्ड हलको प्रारम्भिक निमार्ण कार्य सुरु भयो। तर, फुटबल मैदान रहेको स्थानमा छिटफुट प्रतियोगिता भए पनि वि.सं. २०२२ मा मात्र स्तरोन्ती प्रयास गरियो । प्याराफिट निर्माणका लागि उत्तर तर्फको माटो समेत काट्ने काम पनि भयो। रंगशाला निर्माणका लागि नेपाल र चीन सरकारबीच पहिलो पल्ट भएको सम्झौता अनुसार चीन सरकारले सिमेन्ट र छड उपलब्ध गरायो। तर, पनि आवश्यक रकम जुटाउन नसक्दा काम बीचैमा अडकिन पुग्यो।

२०२४ सालमा राखेप बोर्ड पुर्नगठन भयो। राखेपमा नयाँ सदस्य सचिवका रुपमा आए कुमार खडग विक्रम शाह । यीनले रंगशाला निर्माणको कामलाई आफ्नो मुख्य एजेण्डा बनाए। जसका कारण २०२७ सालमा पूर्व र उत्तरतर्फ ५, ५ लाईनको प्याराफिट तयार पारियो । त्यसैबीच कभर्ड हल पनि निर्माण सम्पन्न भयो र २०२८ सालमा उद्घाटन गरियो।

यहि वर्ष अर्थात् २०२८ माघ १७ गते राजा महेन्द्रको चितवनमा निधन भयो र उनको जेठा छोरा वीरेन्द्रलाई नेपालको नयाँ राजा घोषणा गरियो । राजा वीरेन्द्रको राज्यभिषेक २०३१ सालमा हुने निर्णय भयो । राज्यभिषेकमा विभिन्न खेल प्रतियोगिता गर्ने भएपछि फेरी एक पटक रंगशाला निर्माण कार्य जोडतोडले सुरु गरियो । यसका लागि चीन सरकारसँग पुनः सम्झौता भयो। यहि बेला हो, रंगशालाको पूर्व र उत्तरतर्फ प्याराफिट बढाएर १४, १४ स्टेपको बनाईएको । सँगै पश्चिम तर्फ भिआइपी प्याराफिट र एथ्लेटिक्सका लागि इँट्टाको धुलो हालेर ६ लेनको ट्रयाकसमेत बनाईयो ।

परिषद्मा २०३४ सालमा शरदचन्द्र शाह सदस्य सचिव नियुक्त हुनुभयो । उहाँकै कार्यकालदेखी मैदानले रंगशालाको अहिलेको स्वरुप पाएको मान्न सकिन्छ । यहि रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने दुई वर्ष लगाएर २०३७ सालमा काम पुरा गरियो। भिआइपी प्याराफिटतर्फ लिफ्ट पनि जडान गर्नेदेखी लिएर प्याराफिट मुनि कोठा निकाल्ने र बाहिर सटर हाल्ने सम्मका काम त्यहि समयमा भयो । यसको एक वर्षपछि शरदचन्द्र शाहकै पालामा २०३८ सालमा यहाँ पहिलो बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना भयो । यसको दुई वर्षपछि यो रंगशालामा पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेलाइयो । २०४१ सालमा यहाँ पहिलो दक्षिण एसियाली खेलकुद प्रतियोगिता साफ भयो। त्यसयता यो मैदानको सुरक्षाका लागि पश्चिम दक्षिण र उत्तरतिरको प्याराफिट अगाडि नाङ्गो काडेँ तारले घेरिने गरिन्थ्यो। तर, विडम्बना २०४४ सालमा एक फुटबल खेलको दौरान असिना पानी सहित हावाहुरी चल्दा भएको भागाभागमा ७१ जनाको निधन भयो। यही नाङ्गो काडेँ तारबारले बाहिर निस्कने सिमित ठाउँ भएपछि विश्व फुटबल ईतिहासकै भयानक घटना घटेको निष्कर्ष निकालियो र त्यस उपरान्त तारबार हटाईयो ।

courtesy : @photomuseumNepal


Comments

comments