किपुल्चाको कालिका भैरव जात्रा

  • 275
    Shares

चन्द्रागिरि | ज्ञानेन्द्र विवश,

काठमाडौं उपत्यकाको दक्षिण–पश्चिमस्थित थानकोटसँगै रहेको नेवार गाउँ किपुल्चामा परम्परागत जात्राको आफ्नै  महत्व छ । चन्द्रागिरी नगरपालिकास्थित महादेवस्थानका ५ , ६ र ७ वडाभित्र पर्ने किपुल्चा गाउँ ऐतिहासिक, धार्मिक, सांस्कृतिक अनि कलाले भरिएको छ । उपत्यकामा घोडेजात्रा पर्व मनाइँदा सोही जात्राको तिथिअनुरूप यस नगरपालिकाको गाउँमा ‘कालिका भैरव’ नामक स्थानीय जात्रा मनाइन्छ । भनाइअनुसार पहिले यो गाउँ किसी अर्थात् हात्तीबाट पीडितहरूको गाउँ भएकाले किसीपीडित भनिथ्यो । पहिले यहाँ हात्ती हिँड्ने बाटो र हात्ती बस्ने ठाउँ थियो । त्यसैले यस गाउँलाई हस्तिपुर पनि भनिथ्यो । अर्को भनाइअनुसार काठमाडौंमा बस्ने नेवारहरूले हात्ती पालेको छ भने यसै ठाउँमा ल्याएर सिस्नु खुवाउने चलन थियो । यहाँ बस्ने मानिसले हात्तीलाई राम्रोसँग स्याहार–सुसार गर्ने पनि चलन थियो । त्यसैले यहाँका बासिन्दालाई किसिच्यः पनि भनिन्थ्यो ।

यिनै विविध कारणले यो गाउँ किसीपीडित, किपुल्चा र हस्तिपुर नाउँले परिचित रहेको पाइन्छ । वास्तवमा किपुल्चाको विशेषता भन्नु नेपालभाषीका साथै तिनका सांस्कृतिक चाडपर्वहरूको मौलिकता तथा परम्परागत प्रचलनको निरन्तरता पनि हो । तिनै अनेक पर्व–परम्पराहरूकै क्रममा यहाँ हरेक वर्ष देवीदेवतालाई खटमा सजाएर होइन, काठमा झुन्ड्याएर काँधमा बोकी भिन्न किसिमले जात्रा मनाउने परम्परा रहेको छ । यसमा यहाँका आराध्य देव कालिका भगवती र भैरवको प्रतिमूर्तिलाई बोकेर जात्रा मनाइने गरिन्छ । कालिका भैरव जात्रालाई ‘नुवाकोट भैरव जात्रा’ पनि भनिन्छ ।

यो जात्रा यस गाउँभरिमै मनाइने सबैभन्दा ठूलो पर्व हो । यो जात्रा यहाँ सात दिनसम्म लगातार हर्षोल्लासका साथ मनाइने गरिन्छ ।

किंवदन्तीअनुसार नुवाकोटका भैरवको यस गाउँमा रहेकी कालिकासँग असाध्यै प्रेम थियो । दिउँसोको समयमा सबै मानिसले देखेर थाहा पाउने हुँदा उनी आफ्नी प्रेमिका भेट्न राति आउँथे । रात कटाउन उनीहरू पासा खेलेर बस्थे । उनी रातभरि कालिकासँग पासा खेलेर भुलिन्थे अनि उज्यालो नहुँदै अर्थात् बिहानको भाले बास्नुअघि नै नुवाकोट फर्की सक्थे । यही क्रममा दिनहरू बितिरहेका थिए । तर, एक रात खेलमा भुल्दाभुल्दै भाले बासेको र उज्यालो भइसकेको ख्यालै भएन ।

त्यसैले भैरव आफ्नो घर नुवाकोट फर्किन पाएनन् । त्यसपछि उनी एक किसानको घरछेउमा थुपारिराखेको परालभित्र लुकेछन् । किसानले पराल निकाल्न जाँदा लुकेर बसेका अपरिचित मानिस देखेर अवश्य पनि यो मान्छेले कुनै बिगार गरी यहाँ लुक्न आएको होला भनी समातेछ । आफू विनाकारण दण्डित हुनुपर्ला भनी भैरवरूपी मानिसले तथ्य कुरा बताएछन् । त्यसपछि हरेक वर्ष यहाँ उनैको जात्रा मनाउने गरी नुवाकोटका भैरव यसै गाउँमा बसेको भनाइ छ । अन्ततः सोही बेलादेखि यस गाउँमा कालिका–भैरव जात्रा मनाउने चलन रहेको जनविश्वास छ ।

किपुल्चा गाउँका बासिन्दा हिन्दु तथा बौद्ध दुवै धर्मअनुसारका पर्व मान्ने गर्दछन् । यहाँको मूल जात्रा भनेकै वर्षको अन्तिम पर्व पाहाँचहे्रका साथै साक्षात् देवी मानिने कालिका र भैरवको जात्रा हो । यो जात्रा गुरुजुहरूले तान्त्रिक विधिमार्फत पूजा गरी धार्मिक विधिविधान पूरा गरेपछि प्रारम्भ हुने गर्दछ । यस जात्रालाई स्थानीय कालिका–भैरव गुठीले सञ्चालन गर्दै आइरहेको छ । यहाँका महर्जन जातिले जात्रामा मुखियाको भूमिका खेल्दछन् । गुठीमा पनि यिनै जाति मात्रै रहेका हुन्छन् । यद्यपि, जात्रामा यहाँ अन्य जाति र समुदायको पनि उत्तिकै संलग्नता रहने गर्दछ ।

घोडेजात्राकै दिन सजाइएको खटमा यहाँ कालिका र गणेशका मूर्ति विराजमान गराइन्छ । त्यसपछि बिहानैदेखि सो स्थानमा पूजा गरिन्छ । सोही दिनको मध्यरातमा भैरवलाई विधिपूर्वक तीन पटकसम्म शृंगार गर्दै बिगार्दै गुठीबाट भैरवलाई बोक्न छुट्याइएका चार व्यक्तिमध्ये दुई व्यक्तिद्वारा काँधमा हाली भैरवलाई भैरवकै घरबाट जात्रा गरिन्छ । जात्रा अवधिभर तिनै चार व्यक्तिले नै जात्रा नसकुन्जेल बोक्ने चलन छ । भैरवको रथ ती चारजनाबाहेक अरू कसैले पनि बोक्न पाउँदैनन् । बिहान रथ निकालेपछि देवतालाई गुठी घरमा नलगेसम्म एकचोटि मात्र बिसाउन पाइन्छ ।

त्यसैले देवता बोक्न बलिया मान्छेहरू चाहिन्छ । जोकोहीले बोक्छु भन्दैमा बोक्न पाउँदैनन् । देवता बोक्ने व्यक्तिले सेतो जामा र सेतै रङको फेटा बाँध्नु पर्दछ । जात्रामा आगन्तुकलाई रमाइलो गराउन नाचगान प्रस्तुत गरिन्छ । परम्परागत विभिन्न बाजागाजा पनि बजाउने गरिन्छ । ती बाजामध्ये काः बाजा बजाएपछि जात्रा सुरु गरिन्छ । अन्य बाजामा धिमे समूह दुई, बाँसुरी समूह तीन, धाः बाजा समूह, नाय्खी बाजा समूह आदि हुन्छन् । जात्रा सञ्चालनका लागि स्थानीयको आस्था र विश्वास नै सबैभन्दा ठूलो कुरा हो । यद्यपि, यहाँका संस्कृतिपे्रमी समुदायको सक्रियता र संलग्नताका कारण जात्राको परम्पराले विश्राम लिन सकेको छैन । आपसी मिलेमतो र सहयोगी भावनाले पुख्र्यौली प्रचलनको अस्तित्व अद्यापि अक्षुण्ण रहँदै आइरहेको देख्न सकिन्छ ।

त्यसैले यस जात्रामा संलग्न हुने व्यक्तिले केही नियमको पालना गर्नुपर्दछ । भैरव बोक्न छानिएका व्यक्तिले जात्रा सुरु हुने निश्चित दिनदेखि जात्रा नसकिएसम्म लसुन, प्याज आदि खान नहुने, महिनावारी भएका महिलालाई छुन नहुने, कुकुर, कुखुरा र सुँगुर छुन नहुने चलन रहेको छ । मुख्य जात्राको तीन दिनअघिदेखि पाहुना बोलाएर खुवाउने चलन छ । यस जात्रामा पाहुनाहरूको विशेष सत्कार गरिन्छ ।

जात्रा प्रारम्भको दिन कालिका र गणेशको खटको सुरक्षामा बस्नका लागि खटनजिकै आगो बालिने गरिन्छ । भोलिपल्ट भैरव जात्राका लागि निस्किनुभन्दा अगाडि सो आगो निभाउने गर्दछन् । सोही दिनको साँझ आफन्तहरूलाई आफ्नो घरमा नखःत्याः बोलाई भोज खुवाउने चलन पनि रहेको छ । यस अवसरमा लामो समयपछिको भेटघाट र भलाकुसारीले आपसमा हार्दिकतापूर्ण सद्भावको वातावरण स्वतः नै निर्माण हुन पुग्दछ । गाउँलेहरू सामाजिक, सांस्कृतिक एवम् धार्मिक समारोहमा सामेल हुन्छन् ।

यस जात्राको पहिलो दिन कों अर्थात् तामाको घ्याम्पो निकालेपछि सुरु हुन्छ । विधिपूर्वक तामाको घ्याम्पो गुठीका व्यक्तिहरूबाट निकालेपछि जात्रा सुरु भएको मानिन्छ । मूल थकालीको घरमा सो घ्याम्पो राखिएको हुन्छ । दोस्रो दिनलाई गुठी छोयलाबु भनिन्छ । यस दिन गुठीभित्र सम्यबजिका साथै छोयला, कचिला र अन्य विविध परिकार बनाई गुठियारहरू भोज खाने गर्छन् । त्यस्तै आ–आफ्ना घरआँगन सफासुग्घर पार्ने गर्दछन् ।

तेस्रो दिनलाई पनि छोयलाबु नै भनिन्छ । यस दिन घर–घरमा छोयला र अन्य विविध परिकार बनाई आफन्त, परिवारका सदस्य, छोरीचेलीलाई समेत बोलाई भोज खाने चलन छ । छोयला अनिवार्य रूपमा बनाउनुपर्ने भएकाले यो दिनलाई ‘छोयलाबु’ भनिन्छ । यो दिनको रातमा गाउँको मूल गणेश मन्दिरमा राँगाको विधिपूर्वक पूजा गरेर बलि दिइन्छ । चौथो दिन अर्थात् जात्राको मुख्य दिन उपत्यकाभित्र घोडेजात्रा मानिन्छ भने किपुल्चा गाउँको बीचमा कालिका र गणेशका सजिएका खटमा मूर्तिहरू प्रतिस्थापन गरी पूजा गरिन्छ । भैरव बोक्न छानिएका व्यक्तिले जात्रा सुरु गर्दछन् ।

चौथो दिन सिनया अर्थात् जात्राको प्रमुख दिन हो । यस दिन सबेरै बाजागाजासहित कालिका र गणेशको खट गाउँभन्दा केही पर रहेको कालिका शक्तिपीठमा लगिन्छ । त्यसअघि भैरवको खट घर–घर पुगी पूजा लिएपछि मात्र शक्तिपीठ लगिन्छ, जहाँ ठूलो मेला पनि लाग्दछ । मध्याह्न हुनुअगाडि भैरवको खट पनि शक्तिपीठ लगिन्छ । भैरवलाई जात्राका लागि बाहिर निकालेदेखि नबिसाएसम्म अरू कसैले बोक्न मिल्दैन । दिउँसो घ्याम्पोसहित तीनवटै खटलाई बाजागाजासहित गाउँ ल्याइन्छ । भैरवको लागि बाटोभरि बसला अर्थात् सेतो कपडा बिछ्याइन्छ्र । गाउँकै बत्ती दिन सक्नेहरूले यो बसला बन्दोबस्त गरिन्छ । गाउँभित्र खट जात्रा गर्दै नचाइन्छ । साँझ गणेश र कालिकाको खटलाई कालिका मन्दिरअगाडि राखिन्छ । भैरवलाई गुठी घरभित्र लगिन्छ ।

पाँचौं दिन सुलंका रूपमा आफ्ना पाहुनालाई घरमा निम्त्याएर भोज खुवाइन्छ । त्यस्तै, यस दिनलाई आराम गर्ने दिनका रूपमा पनि लिइने गरिन्छ । छैठौं दिन सम्पूर्ण बाजागाजासहित जात्रामा सहभागी हुनेहरू गुठी घरमा जम्मा हुन्छन् । गुठी घरबाट भैरव निकाली पुनः भैरव रहने घरमा भिœयाइन्छ । त्यस दिन गुठियारहरू हातमा बसां लिएर भैरव भाग्ला भनेर बाटो रोक्ने गर्दछन् । किन कि यदि भैरव गाउँको सिमानाको द्वारबाहिर गएमा पुनः पहिलो दिनदेखि नै पूर्ण रूपले जात्रा मान्नुपर्ने हुन्छ । सातौं दिनलाई ल्याचा अर्थात् भेटघाट गर्ने दिनका रूपमा मनाइन्छ । यस दिन गुठीका व्यक्तिहरू भिœयाइसकेको भैरवलाई भेट्न जाने अर्थात् पूजाआजा गर्ने चलन छ । यो पूजासँगै जात्रा वर्ष दिनका लागि सम्पन्न भएको मानिन्छ ।राजधानी


  • 275
    Shares

Comments

comments