कोरोनाले उल्ट्याएको मानव जीवनको परिभाषा


भिक्षुआनन्द  , पुर्व सभासद

मानव जीवनको पारिभाषा २१ औँ शताव्दीसम्म पुग्दा अति-व्यस्त, अति-धावनकारी जीवनशैली अपनाउने आर्थिक मानव, भौतिक मानव, व्यापारिक मानव, यान्त्रिक मानव  हुँदै रोबोट मानवको रूपमा परिभाषित हुँदै गएको छ । मान्छेलाई मन र भावना भएको चेतनशील, संवेदनशील, पारिवारिक, सामाजिक, धार्मिक, संस्कृतिक, आध्यात्मिक प्राणीको रूपमा अर्थ्याउनुभन्दा भौतिक तथा  यान्त्रिक मानवको रूपमा अर्थ्याउँदै आएको देखिन्छ ।

यस्तो अवस्थामा  एउटै  परिवारका सदस्यहरूबीच लामो समय संगै बस्न, भेटघाट गर्न, खान, बस्न, दुःख–सुख बुझ्न समेत आज मानिस  बेफुर्सदिलो छ । घन्टौं काममा अतिव्यस्त जीवनले आफूले आफूलाई संसारबाट अलग एउटा कोठामा सीमित एकलकांटे प्राणीको रूपमा परिभाषित गरिदिएको छ किनभने विकासको मापदण्डमा मानसिक र अध्यात्मिक पक्षलाई  भन्दा बाह्य भौतिक विकासलाई बढी महत्त्व र प्राथमिकता दिएको पाइन्छ । कुनै पनि देशको समृद्धि र विकासका मूल मापदण्डमा मानिसको संवेदना र भावनालाई भन्दा अचेतन संवेदनहीन द्रब्य, वस्तु, मेशिन जस्ता भौतिक स्वभावलाई बढी महत्त्व दिएको पाइन्छ । त्यसैले विकास सम्बन्धी भौतिकवादी मापदण्डमा PQLI  अर्थात् “भौतिक जीवन तत्त्व दर्शक“ सिद्धान्त  ( Physical Quality of  Life  Index) मूल मन्त्रको रूपमा अंगालिरहेको देखिन्छ । जसको तात्पर्य,  कुनै पनि देशमा  विकासको  नाममा मानिसका भावना, संवेदना, चाहना, मर्म, सदाचार, धर्म, संस्कृति, नैतिकता, गुण–धर्म जस्ता पक्षलाई भन्दा भौतिक तथा द्रव्यात्मक पक्षलाई प्राथमिकता दिएको पाइन्छ । देशमा बढीभन्दा बढी जनताले  आआफ्नो  घरमा रेडियो, टेलिभिजन, टेलिफोन, वाशिंग मेशिन, गाडी, कम्प्युटर जस्ता भौतिक उपकरण उपभोग गर्ने प्रतिशतको आधारमा  देश र जनताको विकास र समृद्धि नाप्ने चलन रहँदै आएको छ । तर जनता कति नैतिकवान, चरित्रवान, सदाचारसम्पन्न छन् भन्ने पक्षलाई  विकास र समृद्धिको अति महत्वपूर्ण मापदण्डको रूपमा कुनै पनि राज्य र  सरकारले प्राथमिक चयनमा  राखेको र अंगालेको देखिंदैन । परिणामतः सारा विश्वले भौतिक रूपमा शिखर त चुम्यो तर  नैतिक,  मानसिक, आध्यात्मिक रूपमा पतन हुँदै गयो ! मानिस बाह्यरूपमा सुबिधासम्पन्न, सुखोपभोगी जीवन बाँच्न त सफल भए तर मानसिक रूपमा आत्मकेन्द्रित स्वार्थी, मतलबी, दुराचारी र अपराधी पनि बन्दै गए ।

मानिसको यस्तो अवस्था  हुनुमा “मानव“ शब्दलाई  मानसिक प्राणी, आध्यात्मिक प्राणी, मनोवैज्ञानिक प्राणी भन्दा पनि भौतिक प्राणी र वाणिज्य प्राणीको रूपमा तथाकथित आधुनिक तथा भौतिक विकासका चिन्तकहरू, अर्थविद्हरू  तथा शिक्षाविद्हरूले गलत रूपमा परिभाषित गर्दा जसरी भए पनि पैसा कमाउनुपर्ने बाध्यता वा होडमा होमिइरहेका छन् । आज मानिसहरू देश, परिवार, आफन्त, इस्टमित्र, नाता कुटुम्ब र मानवता हत्याएर पैसा कमाउने होडको यान्त्रिक जीवनमा हाम्फालेका छन् । एकातिर नाफामूलक उत्पादन कार्यमा मानिसले बढीभन्दा बढी घण्टा काम गर्नुपर्ने, एकले अर्कोलाई पछार्दै अगाडि जानुपर्ने प्रतिस्पर्धात्मक खुल्ला बजार नीतिको आर्थिक कारोबार र अर्कोतिर सत्ता, शक्ति र पदका लागि  “नैतिकता र  मानवता भाँडमै जाओस्” भन्ने  आर्थिक, राजनीतिक  सोच हावी भएको स्थिति छ । त्यसैले पैसा कमाउन देशका हजारौँ युवा वर्ग विदेशिने र लाश भएर कफीन बाकसमा फर्किने कहालीलाग्दो घटना देशको यथार्थ एकातिर छ भने अर्कोतिर रातारात सत्ता पल्टाउने र आफ्नो कुर्सी बचाउने खेलमा राजनैतिक दलहरू व्यस्त छन् ।

भौतिक विकासले मानिसलाई अति सुखोपभोगी जीवन एकातिर दिएको छ भने अर्कोतिर ओच्छ्यानमा सुत्न जाँदा  स्लीपिंग ट्याब्लेट लिनुपर्ने बाध्यता छ । युवा पिंढी २१औँ सताब्दीको आधुनिक उत्कृष्ट शिक्षा–दीक्षा, तालिम पाएर पनि लागु पदार्थ, नसालु पदार्थ र आपराधिक क्रियाकलापमा संलग्न छन् । युरोप र अमेरिकामा सन् १९६०–७० तिर भौतिक विकासबाट वाक्कदिक्क भएका युवा जमात परम्परागत संस्कृतिबाट बिचलित भएर  हिप्पी र पंक्स जस्तो विकृत संस्कृतिको जीवनशैली अपनाउन बाध्य भएका थिए यान्त्रिक जीवनबाट मुक्त स्वतन्त्र र स्वछन्द जीवनको खोजीमा !  नेपालमा पनि यसको प्रभाव सन् १९७० को दसकतिर देखापरेको थियो । अतिभौतिक र यान्त्रिक जीवनको  उकुसमुकसबाट  मुक्त हुन र आफ्ना मनभित्र गुम्सिएका पीडाहरू पोख्न उनीहरूले सामाजिक, संस्कृतिक र नैतिक मर्यादा विरोधी स्वच्छन्द जीवन रोजे, जसमा मद्यपदार्थ, नसालु पदार्थ, Hi speed music र खुल्ला यौनसम्पर्क हावी थिए । लण्डनको Hyde Park;  Amsterdam सहरको Dam-Square, डेनमार्कस्थित कोपन्हेगन नगरको  Tivoli Gardens युवा युवतीहरू स्वछन्द र स्वतन्त्र ढङ्गले नांगै बस्ने, एकअर्कालाई अँगालो मार्ने, खुल्ला यौन सम्पर्क गर्ने सार्वजनिक स्थलको रूपमा नामुद थिए । त्यहाँ कसैलाई कसैको मतलब हुँदैनथ्यो । युवा जमातले ती पार्कहरूलाई “Do your own things–capitals of the Western World” अर्थात्  “आफ्नो मनलागी जे पनि गर्ने पाउने पश्चिमा संसारका राजधानी“ का रूपमा चिनाएका थिए ।

एकथरी युवा जमातले  Hi -speed  music रोजे । तिनीहरू पप, र्‍याप, ज्याज जस्ता वेगवत संगीतमार्फत् आफ्नो मनको पीडा पोख्न चिच्याएर, खुट्टा बजारेर गीत गाउने, नाच्ने गर्थे । अर्काथरी युवा जमात नसालु पदार्थ सेवन गरेर आफनै संसारमा मस्त हुन्थे । आज यो दुर्ब्यसनले नेपाल लगायत संसारलाई नै गम्भीर समस्यामा धकेलिरहेको छ ।

एक अनुसन्धानका अनुसार, हरेक  तीन जना मानिसमा एक जना मानसिक रोगी भएको प्रमाणित भएको  छ । मानसिक चिन्ता, तनाव, डिप्रेशन जस्ता मानसिक रोगबाट ग्रसित मानिसहरू बढी छन् ।  दिनहुँ हत्या, हिंसा, मारकाट, बलात्कार, चोरी डकैती, अपहरण जस्ता अपराधहरू बढ्द‌ै छन् । सूचना र प्रविधिको विकास तथा भौतिक सुख साधनको विकासले जीवन सजिलो र आरामदायी  जस्तो भए पनि मानिसमा यसअघि कहिल्यै नभएको डर, त्रास, भय, आशङ्का, असुरक्षा, चिन्ता, तनाव  झन्–झन्  बढिरहेको  छ । जताततै आपराधिक गतिविधि, सडक दुर्घटना, आत्महत्या बढ्दोक्रममा  छ । आखिर सबैथोक पाएर पनि मानिसलाई आफैँभित्र केहि गुमाइरहेको भान भैरहेको  छ ।

यही परिस्थितिमा चार महिनाअगाडि आएको कोरोना महामारीले विश्व मानव जीवनमा अकल्पनीय  उलटपुलट ल्याइदिएको छ । विश्वको  आर्थिक, सामाजिक र राजनैतिक क्षेत्रमा मात्र  होइन, पारिवारिक जीवनमा समेत यसअघि कहिल्यै भोग्नु नपरेको समस्या र परिस्थिति मान्छेले सामना गर्नु परेको छ । मानव जीवनको दिनचर्या बाह्य रूपमा ठप्पप्रायः छ । महिनौँसम्म घरभित्र थुनिएर बस्नु परको छ ।  बजार, कलकारखाना, स्कूल, कलेज, कार्यालय बन्द छन् । अरबौँ, खरबौँको विश्व व्यापार, सञ्चार, आवतजावत ठप्प छ । केवल डाक्टरहरू, नर्सहरू र अस्पतालहरू मात्र पहिलेभन्दा सक्रिय छन् । विशेषतः कोरोना महामारिले आधुनिक सहरी जीवन नै निष्प्राण र निष्क्रिय  बनाइदिएको छ । संक्रमित रोगीहरू एकै दिनमा हजारौँ मरिरहँदा विकसित मुलुकका सहरहरू लाश थुप्रिएको मसानतुल्य भएका छन् । तर, गाउँ परिसरलाई कोरोनाले त्यति धेरै छोएको देखिँदैन । गाउँलेहरूमा  कोरोनाको भयावह डर, त्रास देखिएको छैन । सबै कोरोनाका बावजूद आआफ्नो घरखेतमा सुचारु रूपमा काम गरिरहेका छन् । तेसैले गाउँ छोडेर सहर पसेकाहरू, देश छोडेर विदेश गएकाहरू धमाधम महिनौँ पैदलै हिँडेर भए पनि आफ्नो जन्मथलो गाउँमा जाँदैछन् । यो महामारीले परिवार, आफन्त, छरछिमेकी, साथीभाइसँग दुःखसुख बाँड्ने आत्मीयता बढाइदिएको छ । सहरको धुलो–धुवाँ, रापतापमा कष्टकर जीवन बिताइरहेकाहरूले गाउँघरको स्वच्छ हावापानी सेवन गर्न पाएका छन् । आफ्नै खेतबारीमा स्वतन्त्र, स्वछन्द भएर अब काम गर्न फुर्सद मिलेको छ उनीहरूलाई । यो कोरोना महाव्याधीले मानवलाई जति भए पनि नपुग्ने अतृप्त,अति महत्वाकांक्षी, विलाशी जीवन होइन; सरल, सादा जीवन नै सुखमय र शान्तिपूर्ण जीवनको रूपमा चिनाइदिएको  छ । सहरको बनावटी तडकभडक र रंगीन जीवनभन्दा प्रकृतिले दिएको सुन्दर, स्वच्छ खेतबारी, पाखा–पखेरा, झर्ना र छहारी नै स्वस्थ जीवनका लागि उत्तम थलो हुन् भनी चिनाइदिएको  छ ।

कोरोनाले हाम्रो जीवनलाई फेरि एकपल्ट उल्टो घडीमा घुमाइदिएको छ । सबैलाई  व्यस्त जीवनबाट मुक्त आरामदायी जीवन दिएको छ । मानव–जीवनचक्र फेरि एकचोटि  सताव्दियौं पछाडि पुनरावृत्ति भएको छ । मानौँ, दौडधुप, तँछाडमछाडमुक्त आरामदायी कृषियुगमा फर्केको छ । यो विपत्तिले घर–परिवार, आफन्त, गाउँ–बस्ती, छरछिमेकीसँग पुनर्मिलन गराइदिएको छ । दौडधूप, प्रतिस्पर्धा, छलकपट, तँछाडमछाड बिल्कूल बन्द छ । बाटाघाटा र पर्यावरण, प्रदूषणमुक्त भएका छन् । स्वच्छ वातावरणका कारण पृथ्वीको ओजोनस्तर पहिलेभन्दा सफा भएको छ ।

मानवले व्यस्त जीवनबाट फुर्सद पाउँदा  शारीरिक–मानसिक रूपमा आफूतिर नियाल्ने मौका पाएको छ । आफूले आफूलाई चिन्ने मौका पाएको छ । योग ब्यायाम, ध्यान–साधना, अध्ययन, लेखन गर्न र सृजनशील कार्यमा व्यस्त हुने समय पाएको छ । अरुका लागि भन्दा आफनै लागि जीवन जीउने अवसर मिलेको छ ।विकासको नाममा मानिसलाई भौतिक प्राणी र यान्त्रिक प्राणीको रूपमा दिएको गलत परिभाषा कोरोनाले उल्ट्याइदिएको  छ । आधुनिक विकासको भेलमा बगेर आफ्नो मानव जीवनलाई  संवेदनहीन यान्त्रिक जीवनको रूपमा अंगालेको मानव प्राणीलाई फेरि एकपटक कोरोनाको महामारीले आफ्नो “मूल परिचय“ — एक आत्मीय, संवेदनशील, मानसिक, मनोवैज्ञानिक तथा आध्यात्मिक प्राणीको रूपमा चिनाइदिएको छ । आफ्नै स्वप्रकृतिमा फर्कन सहयोग गरिदिएको छ।


Comments

comments