डिपबोरिङले निम्त्याउन सक्ने वातावरणीय प्रभाव

  • 645
    Shares

सृष्टि श्रेष्ठ, पृथ्वीमा निरन्तर भइरहेको जनसंख्याका साथै स्रोतहरुको उपयोगमा आएको वृद्धिका कारण वातावरणीय समस्याहरु थपिदैँ गइरहेका छन् । बढ्दो जनसंख्या र तिनका आवश्यकता पुर्ति गर्नका निमित्त प्राकृतिक स्रोतहरुको दोहन गर्ने क्रम बढिरहेको छ । मानविय आवश्यकतामा आएको वृद्धि र त्यसलाई परिपुर्ति गर्ने क्रममा भएका मानविय क्रियाकलापका कारण वनजङ्गल फडानी, अव्यबस्थित शहरीकरण, जलवायु परिवर्तन, वातावरणीय प्रदुषणको बढोत्तरी जस्ता वातावरणीय समस्याहरु बढिरहेका छन्। यी सवैका कारण केहि पानीका स्रोत र मुहानहरु सुक्ने क्रम बढिरहेको छ भने वाँकी स्रोतका पानीको गुणस्तर पनि प्रदुषणका कारण निकै खस्कदै गईरहेको छ । यहि क्रममा नेपालको धेरै ठाँउमा विशेषत तराईका जिल्लाहरुमा सिँचाई र अन्य प्रयोजनका लागि डिप बोरिङको प्रयोग बढिरहेको छ । सम्वन्धित निकाय बेलैमा सचेत भएर नियमन नगर्ने हो भने डिप बोरिङले विभिन्न वातावरणीय समस्या ल्याउने छ ।

स्वच्छ खानेपानीको अभाव विश्वव्यापी रुपमा बढ्दै छ र जनसंख्या वृद्धिका साथै जलवायु परिवर्तनका कारण भविष्यमा यो स्तिथि अझ विकराल बन्ने निश्चित छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक तीनजनामा एक जनाको स्वच्छ, सफा खानेपानीमा पहुँच छैन। त्यसैगरी विश्वमा ७८५ मिलियन मानिसमा आधारभूत खानेपानीको अभाव छ, जसमध्ये १४४ मिलियन मानिसहरु सतहको पानीमा निर्भर रहेका छन्। दुई बिलियन मानिसहरूले दिशाजन्य किटाणु रहेको दूषित पानीको स्रोत प्रयोग गर्छन्। संगठनका अनुसार सन् २०२५ सम्ममा विश्वको आधा जनसंख्या पानीको अति संकट भएका क्षेत्रहरूमा ( Water Stress Areas ) बस्नेछन्। नेपालको संविधानले पानी र सरसफाईलाई आधारभूत मानव अधिकारको रुपमा स्थापित गरेतापनि धेरै घरपरिवार पानीको अभावबाट ग्रस्त छन्। राष्«िटय योजना आयोगकोे रिपार्टे अनुसार ८३.६५ जनसंख्यामा मात्र खानेपानीको सुविधाको पहुँच छ।

बर्षायाममा समेत खानेपानीको समस्या हुँदै गर्दा खानेपानीको सङ्कट टार्नको निम्ति जमिनमुनिको पानी उपभोग गर्ने क्रम पछिल्लो समयमा निकै बढ्दै गईरहेको छ। जमिनमुनिको पानीको प्रयोगको चलन नयाँ होईन किनभने पहिले देखिनै स-साना कुवा, ईनार खनेर जमिन मुनिको पानीको प्रयोग गरिन्थ्यो। बढ्दो जनसङ्ख्याको पानीको प्यास बुझाउन स-साना कुवा र ईनारले नधान्ने र सतहका पानी समेत मानवजन्य रसायन, औद्योगिक क्षेत्रका हानिकारक रसायन, हानीकारक कीटनासकहरूले पिउन अयोग्य भएपछि आधुनिक प्रविधिको उपयोग गरेर जमिनमुनिको धेरै तलको पानी बाहिर निकालेर प्रयोग गर्न सुरु गरियो। तथ्याङ्क हेर्ने हो भने ३० बर्ष अगाडी ८ देखी १० मिटर खन्दा पाईने पानी हाल ४० देखी ५० मिटर खन्दा सम्म पनि पाईन मुस्किल भएको छ। हाल काठमाण्डौं उपत्यकामा मात्रै ५०५ भन्दा बढी जनसङ्ख्या जमिनमुनिको पानीमा पुर्णरुपमा निर्भर छन्। भूमिगत जलस्रोत विकास समितिको अनुसार विगत २० बर्षदेखि भूमिको जलको स्तर (Water Table) हरेक महिना मापन गरिदैं आएको र यो जताततै तीव्र रूपमा खस्कँदै गएको छ।

काठमाण्डौं उपत्यकालाई भौगोलिक रुपमा क्षेत्र निर्धारण गर्दै हेर्न हो भने गोंगाबु, धापासी, टोखा, कपन, मुलपानी, सुन्दरीजल र गोकर्ण जस्ता सुरक्षित क्षेत्रहरूमा प्रयोगकर्ताले प्रति सेकेन्ड २ देखी १५ लिटर पम्प गर्न सक्छन्, जबकि सीतापाइला, नैकाप, कुपण्डोल, ज्वागल, सतुंगल र अन्य क्षेत्रहरूमा प्रति सेकेन्डमा २ देखी ७ लिटर लिटर पम्प गर्न सक्छन् भने दक्षिणकाली, छैमले, ललितपुरका बाँकी भाग र भक्तपुरका केही भागले प्रति सेकेन्डमा ३ लिटर लिटर पम्प गर्न सक्छन् ।

जलस्रोतहरु मानिसले उपयोग गर्नको निम्ति हो यस अर्थमा बोरिङबाट पानी निकालेर उपयोग गर्नु गलत होईन र तत्काल खानेपानी आपूतिको निम्ति बोरिङ प्रविधि निकै उपयोगी रहेको पाईएको छ। तर कुन रुपमा कति प्रयोग हुने भन्ने चाँहि निश्चित हुन निकै जरुरी छ। निरन्तर र एकोहोरो रुपमा जमिनमुनिको पानी निकालेर प्रयोग गरिरहने तर त्यसलाई रिचार्ज (जम्मा) हुन समय नदिने हो भने निकै छोटो समयमा जमिनमुनिको पानी समाप्त हुन्छ र पानी बिनाको जीवन कस्तो हुन्छ त्यो व्याख्या गर्नु जरुरी छैन।

जमिनमुनि रुखका जराहरु जस्तै फैलिएर जताततै पानीका साना साना नशाहरु फैलिएका हुन्छन् जसलाई बैज्ञानिका भाषामा क्यापिलरी भनिन्छ। बोटबिरुवाहरुलाई चाहिने पानी पु¥याउने काम ती क्यापिलरीहरुले नै गर्छन्। त्यो भन्दा तल जमिनमुनि जम्मा भएको पानीको पहिलो सतह हुन्छ। परम्परागत ईनार तथा कुवाहरुमा जम्मा हुने पानी तिनै क्यापिलरीबाट आउने पानी, जमिनमुनिको पहिलो सतहमा जम्मा भएको पानी हो। पहिलो सतहको पानी प्रयोग भैहाले पनि बर्षायाममा केही दिनमै फेरि भरिन्छ र त्यसले वातावरणलाई त्यति हानी गर्दैन। तर, डीप बोरिंग गरेर पानी तान्दा हामीले पहिलो सतहको हैन कि दोस्रो सतहको पानी तान्छौँ, जुन पानी जम्मा हुन एक दुई दिन या एक दुई महिना अथवा एक दुई वर्ष हैन दशकौं या शताब्दि लाग्छ । अन्धाधुन्न डिपबोरिङ गरेर जब हामी दोस्रो सतहको पानी प्रयोगमा ल्याउँछौं, त्यसलाई भरिनका लागि चाहिने समय अपुग हुन्छ र जमीनमुनि पानीको समेत अभाव हुन थाल्छ।

जमिनमुनिको पानीको काम प्यास बुझाउनु र पानीको आपूर्तिलाई सन्तुलित गर्नु मात्र नभएर जमीनमाथिको भूगोललाई पनि सन्तुलित राख्नु हो। यदि जमीनमुनिको पानी सुक्दै गयो भने त्यसको ठाउँ माटोले लिन्छ अनि जमीन विस्तारै भासिँदै जान्छ। यसलाई सामान्यत जमिन भासिने भनिन्छ र भ-बैज्ञानिका भाषामा भने ल्यान्ड सब्सिडेन्स ( Land Subsidence ) वा ग्राउन्ड सब्सिडेन्स ( Ground Subsidence ) भनिन्छ। अत्याधिक मात्रामा जमिनमुनिको पानीको प्रयोगले जमिन भासिने विश्वब्यापी समस्या हो। अमेरिका, मेक्सिको, ईरान, ईन्डोनेसिया, थाईल्यान्ड जस्ता देशहरुमा विस्तारै जमीनमुनि भासिन थालेको कुरा आएको छ। जमिन भासिनाले सडक, रेलवे, पाइपलाइन र भवनहरूको संरचनात्मक क्षति र उच्च मर्मतसम्भार जस्ता ठूलो आर्थिक क्षति पनि निम्त्याउँछ। विश्वमा बार्षिक अरबौं डलरको क्षति केबल जमिन भासिएर हुने गरेको तथ्याङ्क छ।

नेपालमा पनि भुमिगत पानीको उपयोगमा आएको वृद्धिका कारण अनेकन समस्याहरु देखिएका छन् । डिपबोरिङ गरेर प्राकृतिक मुहान जस्तै ढुङ्गेधाराको पानी तथा वरिपरिको सतहको जलशाय सुक्दै गएको घटना नेपालको लागि नौलो कुरा होईन। काठमाडौंजस्तो क्रङ्कृट शहर जहाँ पानी रिचार्ज हुने खुला जमिनको मात्रा निकै कम छ र यस ठाँउको उच्च जोखिमको भूवनोटको कारणले जमिनमुनिको पानी दोहन गर्ने कार्य निकै नै खतरनाक सावित हुने निश्चित छ। पानी रिचार्ज हुने खुला जमिनको अभावमा जमीनमुनिको पानी सुकेपछि क्यापिलरीमा पानी आपूर्ति हुँदैन । भएका रुख बिरुवाहरुले सोसेर पानी लिन सक्दैनन् अनि त्यो ठाउँमा रुख बिरुवा पनि उम्रन छोड्छ । माटोमा ओसिलोपन नहुनाले अन्न बाली पनि उम्रिन छोड्छन् र विस्तारै मरुभूमिकरण शुरु हुन्छ ।

शहरहरुमा र औद्योगिक क्षेत्रहरुमा हानिकारक रसायनहरू, बालीनालीमा प्रयोग हुने हानीकारक कीटनासहरु, औषधिका हानिकारक अवशेषहरु र मानवका फोहरहरु बर्षाको पानीसँगै घुलेर जमीनमुनि पुगेका हुन्छन् । कतिपय रसायनहरु पानी उमाल्दा पनि नष्ट हुँदैनन् । काठमाण्डौंका कतिपय बोरिङबाट ई. कोली नामक दिसामा पाईने ब्याक्टेरिया पाईएको छ। त्यसैगरी आर्सेनिक, आईरन, जिन्क, मैंगनीज जस्ता Heavy metals पनि राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डले तोकेको भन्दा कैयौं गुणा बढी पाईएको छ। नेपाल जस्तो बिकासोन्मुख राष्ट्र जहाँ स्वास्थ्य क्षेत्र पिछडिएको छ र यस्ता पानीमा रसायनहरु र ब्याक्टेरिया मापन गर्ने पानी परिक्षण प्रयोगशाला पर्याप्त छैन त्यस्तो अवश्थामा डीप बोरिङबाट पानी तानेर पिउनका लागि प्रयोग गर्दा एकातिर वातावरणीय क्षति त छँदैछ अर्कोतिर स्वास्थमा दीर्घकालीन नकारात्मक असरहरु पर्न सक्छ। तसर्थ जमीनमुनिको पानीलाई जथाभावी निकाल्ने प्रवृत्तिलाई तुरुन्त सरकारी स्तरमा नै नियन्त्रण थाल्नु जरुरी छ र आवश्यक कानुनहरु परिमार्जन गर्ने वा बनाउने काम अबिलम्ब सुरु गर्नु पर्छ।

जमीनमुनिको पानी डिप बोरिङ गरेर निकाल्नुको सट्टा बैकल्पिक उपाय अपनाउनु जरुरी छ। नेपाल जलस्रोतमा धनी भएतापनि खानेपानीको समस्या अत्यन्तै रहेको कुरा सर्वबिदितै छ। देशमा जहाँ औसत वार्षिक वर्षा १,६०० मिलिमिटर हुन्छ आकाशेपानी संकलनको बिधि (Rainwater Harvesting) अपनाउने हो भने पानि भुमिगत पानीको निर्भरताबाट धेरै छुटकारा पाउन सकिन्छ। आकाशेपानी संकलनको बिधि डिप बोरिङ भन्दा निकै सस्तो रहेको पनि छ। आकाशेपानी घरेलु उद्देश्यका लागि मात्र नभई खेतमा चाहिने सिँचाइ पानीको समाधान, भूमिगत पानीलाई पुनःभरण गर्ने, बालीनाली र गाईवस्तुका आधारभूत पानीको आवश्यकता पूरा गर्ने र अन्य धेरै उद्देश्यका लागि पनि हो। यसका साथै संकलन गरिएको पानी शुद्दिकरण गरेपछि पिउनका लागि पनि प्रयोग गर्न सकिन्छ।

डीप बोरिङको आवश्यकता नै भयो भने, पानी निकाल्न भूगर्भविद, वातावरण वैज्ञानिक, जल बैज्ञानिक र अन्य प्राविधिकहरुसँग छलफल गरेर मात्र मात्रै बोरिङ खन्ने गर्नु पर्छ। Electrical Resistivity Tomography नामक प्रविधिको सहायता लिएर भौगोलिक सर्वेक्षण, भुमिगत जलविज्ञान अन्वेषण गर्नु पनि जरुरी हुन्छ। वातावरण वैज्ञानिक, समुदाय, सरकारी निकायको समहति र स्वीकृतिमा मात्रै बोरिङ खन्ने, बोरिङ गरेको समुदायमा अनिवार्य रुपमा पानी रिचार्ज हुने ठाँउ बनाउने, पानी रिचार्ज हुने ईनार वा सानो सानो खाडलहरु बनाउने, रुख रोप्ने, हरियाली जोगाउने कृयाकलापमा जोड दिनु पर्छ।


डिप बोरिङबाट भविष्यमा आईपर्ने वातावरणीय समस्याप्रति कतिले जानेर र कतिले नजानेर यसलाई गम्भीर रुपमा नलिई वास्ता नगरी बसेका छन्। समुदाय, सरकार, वातावरण वैज्ञानिकले यो विषयलाई गम्भीरतापूर्वक लिएर भविश्यमा आउने पानीको समस्याबाट बच्न र सन्ततिलाई बचाउन तत्काल वातावरणमैत्री रुपमा पानी आपुर्तिको निम्ति कदम चाल्नु जरुरी छ।


  • 645
    Shares

Comments

comments