नेपाल कम्युनिष्ट पार्टीको उत्पती र विकास

  • 20
    Shares

नेपाल कम्युनिष्ट पार्टीको उत्पती र विकास
राजु श्रेष्ठ
चन्द्रागिरि नगरपालिका ( ७
विश्वमा कम्युनिष्ट पार्टीको उत्पती भएको करिव करिव ६८ वर्ष पछि नेपालमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो । नेपाल कम्युनिष्ट पार्टीको संस्थापक कमरेड पुष्पलाल श्रेष्ठ हुन । पुष्पलाल शहिद गंगालाल श्रेष्ठका भाई हुन जसलाई राणा शासनको विरोध गरेको कारणले राणाहरुले मिति १९९७ माघ १४ मा गोली हानी हत्या गरेको थियो । राणाहरुले देशको जनताहरुलाई चरम दमन,शोषण र अत्याचार गरेको कारणले त्यसको विरोधमा जनताहरुलाई गोलवन्द पार्न टडकारो आवश्यता महशुस भएको र त्यसको लागि कम्युनिष्ट विचार भएको पार्टीको आवश्यकता भएकोले क.पुष्पलालको अगुवाईमा नेपालमा २००६ साल वैशाख १० (१९४९ अप्रिल २२) मा सर्वप्रथम नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो । स्थापनाको समयमा यस पार्टीमा जम्मा ५ सदस्य पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी,नरवहादुर कर्माचार्य र मोतीदेवी रहेको कुरा विभिन्न नेपाल कम्युनिष्ट पार्टीका लेख रचना दस्तावेजहरुको अध्ययनवाट थाहा पाउन सकिन्छ । नेपाल कम्युनिष्ट पार्टीको प्रथम महाधिवेशन भूमिगत रुपमा २०१० माघ १७ गते पाटनमा भएको थियो । डा.के.आई सिंहले लिएको शसस्त्र आन्दोलन सही भएको निष्कर्ष नेपाली कम्युनिष्ट पाटीको थियो त्यसकारण सो समयमा पार्टी प्रतिवन्धीत हुनु पुग्यो र भुमिगत रुपमा महाधिवेसन गर्न परेको थियो । प्रथम महाधिवेशनले क.मनमोहन अधिकारीलाई महासचिव पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ, डा.केशरजंग रायमाझी, डि.पी.अधिकारी, हिक्कमत शिंह भण्डारी, कमरशाह, कृष्णराज वर्मा, तुल्सीलाल अमात्य, शैलेन्द्र कुमार उपाध्याय, महेश प्रशाद उपाध्याय, धनुषचन्द्र गौतम लगायतका नेताहरुलाई केन्द्रीय नेतृत्वमा चयन गरेको थियो त्यसै गरि महासचिव मनमोहन अधिकारी सहित पुष्पलाल, शैलेन्द्र कुमार उपाध्याय, शम्भुराम श्रेष्ठ, डि.पी अधिकारी आदिलाई पोलिटव्यूरो सदस्यमा निर्वाचित गरेको थियो । यस महाधिवेशनले जनवादी सरकार र व्यवस्थालाई अंगिकार गर्ने नीति पारित गरेको थियो । नेपालको राजनीतिक ईतिहांसमा २००७ सालतिरै विवादहरु देखिएको थियो राजतन्त्र की गणतन्त्र शान्तिपूर्ण आन्दोलनको वाटो की हतियारवन्द आन्दोलनको वाटो भन्ने विचमा त्यतीवेलाको नेताहरुमा पनि विवाद भएको थियो । त्यसखाले विवादहरुले हरेक अधिवेशनहरुमा असर गरेको देखिन्छ । नेपाल कम्युनिष्ट पार्टीको दोस्रो अधिवेशन २०१४ साल जेष्ठ १४ गते काठमाण्डौंको फोहरा दरवारमा खुल्ला रुपमा सम्पन्न भयो । तात्कालिन महासचिव क. मनमोहन अधिकारी चीन गएकोले उक्त अधिवेशनमा पार्टी संस्थापकको हिसावले क. पुष्पलाल श्रेष्ठद्धारा झण्डोतोलन गरेको थियो भने कार्यवाहक महासचिवको हिसावले डा.केशरजंग रायमाझीले उदघाटन गरेका थिए । १० सदस्य वरावरा १ सदस्यले प्रतिनिधि गरेको त्यस अधिवेशनमा जम्मा २०० जना प्रतिनिधिहरुले सहभागी जनाएको थिए । दोस्रो महाधिवेशनमा केशरजंग रायमाझीद्धारा प्रस्तुत पार्टी कार्यक्रममा परिर्वतन किन भन्ने दस्तावेज पूर्ण रुपमा अस्वीकृत भई क. पुष्पलाल श्रेष्ठद्धारा प्रस्तुत गणतन्त्रको कार्यक्रमिक नारा पास गरेको थियो । यस महाधिवेशनको विडम्वना के रहयो भने नीति पुष्पलालको पास भयो तर महासचिवमा भने डा.केशरजंग रायमाझी विजयी भएको थिए । नीति कार्यक्रम एक जनाको र त्यसलाई लागु गर्ने नेता अर्को विचारको भए पछि पार्टी भित्र विस्तारै भांडभैलोको अवस्था सृजना भई अधिवेसनले पास गरेको नीति तथा कार्यक्रम कार्यकर्ता र जनता समक्ष जान नसकी तात्कालिन अवस्थामा पार्टी अस्तव्यस्त भएको थियो । त्यसै सिलशिलामा देशमा २०१५ सालमा आम निर्वाचन सम्पन्न भयो । आम निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले भाग लिने की नलिने भन्ने वारे छलफलको लागि २०१५ साल जेष्ठ २१ देखि २४ सम्म रौतहटमा वैठक वसेको थियो र सो वैठकले २०१५ फागुन ७ मा हुने आम निर्वाचनमा भाग लिने निर्णय गर्यो । उक्त आम निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले आफनो घोषणपत्र साथ १०९ स्थानमा भएको आमनिर्वाचनमा जम्मा ४७ स्थानमा उम्मेदवार उठाएको थियो जसमध्ये जम्मा ४ सिट मात्र (रौतहटपाट २ पाल्पावाट १ र पाटन १) जित्न सफल भएको थियोे । यसै सन्र्दमा २०१५ सालको आम निर्वाचनमा पछि २०१७ पौष १ गते राजा महेन्द्रवाट जनताद्धारा चुनिएको सरकारलाई अपदस्त गरि संसदीय व्यवस्थाको अन्त गरे र निरंकुश पंचायती शासनको शुरुवात गरे । नेपाल कम्युनिष्ट पार्टीको प्रजातन्त्रलाई सुदृष्ढीकरण गर्ने सकारात्मक प्रयासहरुलाई नेपाली काग्रेसले नवुझेको कारणले देशमा प्रजातान्त्रीक शक्तिहरु कमजोर हुन गई राजाले संसदीय व्यवस्था प्रति हमला गर्ने मौका पाएका थिए । २०१७ साल पौष १ गतेको शाही कदमले देशभर भएको पार्टीहरुमा प्रतिवन्ध लगाई दलिय आधारमा हुने कार्यक्रमहरु वन्द गराएको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीले भारतको दरभंगामा (दरभंगा प्लेनम )विस्तारी वैठक आयोजन गरेको थियो । सो विस्तारित वैठकमा विभिन्न २४ जिल्लाको ५४ जना प्रतिनिधिहरुले भाग लिएको थिए । उक्त विस्तारीत वैठकमा सके सम्म छिटो तेस्रो महाअधिवेसन गराउने निर्णय गरेको थियो । तात्तकालिन समयमा पार्टी भुमिगत भएको कारणले काम गर्न असजिलो थियो तर पनि पुष्पलाल लगायत केही नेताहरु वाहेकका अरु नेताहरु पार्टी शिदान्त र प्रजातन्त्र प्रति अडिग रहन नसकेको कारणले पाटीले तोकिएको कामहरु सुचारु रुपले हुन नसकी पार्टी अस्तव्यस्त अवस्थामा पुग्न गयो । नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाअधिवेशन मिति २०१९ वैशाष ४ देखि १५ मा भारतको वनारसमा सम्पन्न भएको थियो । यस अधिवेशनवाट दोस्रो महाअधिवेसनवाट आएको अवसरवादी, विर्सनवादी आत्मसम्र्पनवादी नेतृत्वहरुलाई विस्तापित गर्यो । यस महाधिवेसनवाट क.तुल्सीलाल अमात्य महासचिव निर्वाचित गरि राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम पास गर्यो । सर्व शक्ति सम्पन्न सार्वभौम संसदको स्थापना र प्रजातान्त्रिक सयुक्त मोर्चा वनाउने कार्यनीति पारित गरि उक्त महाधिवेशन सकिएको थियो । तेस्रो महाअधिवेशनवाट तुल्सीलाल अमात्य महासचिव निर्वाचित भएका थिए उनी पार्टी महासचिव भए पनि पार्टीलाई सुदृष्ढ वनाई अघि लान सकेनन फलस्वरुप पार्टीका कार्यकर्ताहरु पुष्पलाल र तुल्सीलाल समुहमा विभाजन भए पार्टीको तेस्रो महाधिवेसन पछि पार्टीमा विभिन्न गुट उपगुटहरु देखिए त्यस वेला खास गरेर १.रायमाझी समूह २.तुल्सीलाल समूह ३.पुष्पलाल समूह देखा परेको थियो ।
रायमाझी समूहः पार्टीको तेस्रो महाधिवेशनवाट तुल्सीलाल अमात्य महासचिव निर्वाचन भए पछि रायमाझीले छुटै तेस्रो महाअधिवेसन गरेर आफु महासचिव भएको घोषण गरे । पछि यो समूह वर्मा समूह र मानन्धर समूहमा विभक्त भयो । पंचायतकालको अन्तिम तिर रायमाझी पंचायतमा छिरे । वर्मा समूह पनि अलि पछि आएर निष्कृय भयो । मानन्धर समूह चाही अलिपछि सम्म वाम मोर्चा वन्ने वेला सम्म अस्तित्वमा रही रहेको थियो ।
तूल्सीलाल समूहः तेस्रो महाअधिवेशनवाट तुल्सीलाल महासचिव निर्वाचित भए पनि उनले पार्टीलाई एक ढिक्का वनाई संचालन गर्न सकेनन फलस्वरुप पुष्पलालले तेस्रो राष्ट्रिय सम्मेलन गरि आफनो नेतृत्वमा पार्टी गठन गरे त्यस पछि पार्टीमा स्पष्ट रुपमा फुटन गयो । लामो समय सम्म चलेको तुल्सीलाल समूह पछि एमालेमा विलय भएको थियो ।
पुष्पलाल समूहः२०१९ सालमा पार्टीको तेस्रो अधिवेशसन भए पनि निर्वाचित कमिटिले केही काम गर्न सकेन भनेर माथि नै उल्लेख भई सक्यो पछि २०२५ सालमा तेस्रो ऐतिहांसिक सम्मेलन गरि पुष्पलालको नेतृत्वमा पार्टी गठन भयो त्यस वेला देखि मात्र नेपाल कम्युनिष्ट पार्टीले नेपालको क्रान्तीको वाटो समातेको देसिन्छ । मूलत तेस्रो महाअधिवेसन पश्चात नेपाल कम्युनिष्ट पार्टीमा व्यापक रुपमा फुट शुरु भएको थियो र नेपाल कम्युनिष्ट पार्टीको पछाडि विभिन्न फुर्काहरु झुण्डीने अवस्थाको सृजना यसै महाधिवेसन पछाडिवाट शुरु भयो । यस समूहमा रहेका धेरै नेताहरु विस्तारै विभिन्न समूहमा विभक्त भए र यो समूह छोडे ।
केन्द्रीय न्युक्लियस ःतेस्रो महाधिवेसनवाट फुट भएको कम्युनिष्ट पार्टीलाई एकतावद्ध वनाएर लानको लागि जेलवाट छुटिएर आएका नेताहरु मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठहरुको नेतृत्वमा २०२८ साल मंसिर २० गते केन्द्रीय न्युक्लियसको गठन भयो यसले मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ र मोहन विक्रम शिंहलाई कार्यालय संचालन गर्ने जिम्मा दिएको थियो । यसले सहि ढंगले काम गर्न नसके पछि गठन भएको लगभग डेढ दुई वर्षको अन्र्तरालमा मोहन विक्रम शिंहले २०३१ साल भदौंमा चौथो महाधिवेसन गरि अर्को पाटी वनाए । मोहन विक्रमले अर्को पार्टी वनाए पछि २०३६ मा एकता सम्मेलन गरि मनमोहनहरुले नेकपाको घोषण गरे ।
ने.क.पा (माले) ः पुष्पलाल समूहमा रहेको पूर्वकोशी प्रान्तीय कमिटिसंग सम्वद्ध झापा जिल्ला कमिटिले २०२७ सालको अन्ततिर झापामा सशस्त्र आन्दोलन शुरु गर्यो । यस सर्घषले देशभर नेपाल कम्युनिष्ट आन्दोलनमा गंभिर हलचल ल्यायो । दक्षिणपन्थी शंसोधनवादको विरोध गरि सशस्त्र सर्घषको प्रक्रियानुसार अघि वढेको यो सर्घष चिनिया सांस्कृतिक क्रान्ति र भारको नक्सालवाडी आन्दोलनवाट प्रेरित थियो । त्यस वखत यसले एक एरिया,एक युनिट,एक स्कवायड र एक एक्सानमा आधारित वर्गशत्रु खतम गर्ने लाइन पारित गरेको थियो । झापा आन्दोलनको त्याग र बलिदानी भावनाले नेपालको परिवर्तनकामी जनताहरु र क्रान्तिकारी वर्गहरुलाई व्यापक प्रभावित गर्यो फलस्वरुप २०३२ साल जेष्ठ २४(२५ मा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी (माले) को गठन भयो । यसमा २०३४ भाद्र १४मा मुक्तिमोर्चा (मदन भण्डारी,जीवराज आश्रित,मोदनाथ प्रश्रित,वामदेव गौतम) पूर्वको रातो झण्डा समूहको (वासु शाक्य) लगायत धेरै कम्युनिष्टका झुण्डहरु एकतावद्ध भए र अन्तमा २०३५ पुष ११ गते कोअर्डिनेशन केन्द्रले एक सम्मेलन गरि नेकपा(माले) को स्थापना गर्यो । ने.क.पा मालेको केन्द्रीय समितिमा रत्न कुमार वात्तवा, मदन भण्डारी, माधव नेपाल, इश्वर पोखरेल, मुकुन्द न्यौपाने, अमृत वोहोरा, जीवराज आश्रीत, प्रदिप नेपाल, मोदनाथ प्रश्रित रहेका थिए भने महासचिवमा सीपी मैनाली रहेका थिए । यस पार्टीमा नयां नयां क्रान्तीकारी समूहहरु एकतावद्ध हुने लहर चल्यो फलस्वरुप यो पार्टी नेपाल कम्युनिष्ट आन्दोलनको एक सशक्त प्रभावशाली पार्टीको रुपमा विकास हुदै गयो । ने.क.पा मालेको चौथौ महाधिवेस २०४६ साल भदौं ९(१४सम्म भूमिगत रुपमा सिराहामा सम्पन्न भयो । यसै अधिवेशनवाट ने.क.पा (माले) खुल्ला भई संसदीय राजनीतिमा प्रवेश गरेको थियो । यस अधिवेशनवाट कम्युनिष्ट शासन व्यवस्थामा पनि वहुदलियता कायम गर्नु पर्छ भन्ने नयां दृष्टिकोण अघि आयोे । यस अवस्था सम्म आई पुग्दा सम्ममा नेकपा(माले) मा भएको उग्रवामपन्थी भडकावा लगभग समाप्त भई सकेको अवस्था थियो । सिराहा महाधिवेसनलाई चौथो महाधिवेसन घोषणा गरि यस पार्टीले आफनो मातृपार्टीको महाधिवेशनको क्रमसंग जोडने काम गरेको थियो । चौथो महाधिवेशनवाट मदन भण्डारी महासचिव (प्रवक्ता) पोलिटव्युरो सदस्यहरुमा सीपी मैनाली,झलनाथ खनाल,जीवराज आश्रित,माधव नेपाल,अमृत वोहरा साथै १७ सदस्यीय केन्द्रीय समिति र ४ सदस्यीय वैकल्पीक केन्द्रीय सदस्य निर्वाचित गरेको थियो । ने.क.पा मालेको यही लचिलो व्यवहारको कारणले नेपाली कांग्रेससंग कार्यगत एकता गरि वामपन्थीहरु विचमा सयुक्तवाम गठवन्धन वनाइ निरंङ्घकूस पंचायती व्यवस्थालाई सदाको लागि देशवाट विस्थापन गर्न सम्भव भयो । यसै सन्र्दभमा २०४६ सालको जनआन्दोलनको सम्पन्न भए पछि २०४७ साल चैत्र महिनामा नेकपा (माले) र नेकपा (मार्कसवादी) विच एैतिहांसिक पार्टी एकता भयो एकीकृत पाटीको नाम नेकपा (एमाले) रहन गयो जस्को अध्यक्षमा क.मनमोहन अधिकारी र महासचिवमा क.मदन भण्डारी रहनु भयो । नेकपा(एमाले)को पांचौ महाधिवेशन २०४९ साल माघ १४ देखि २० सम्म काठमाण्डौंमा सम्पन्न भयो यसले जनताको वहुदलिय जनवादको कार्यक्रमलाई आफनो मार्गदर्शक शिद्धान्तको रुपमा अंगिकार गर्यो त्यस महाधिवेशनवाट पनि अध्यक्षमा मनमोहन अधिकारी र महासचिवमा क.मदन भण्डारीलाई चयन हुनु भयो । नेकपा एमालेको छैठो महाधिवेशन भने नेपालगंजमा २०५४ माघ १२ देखि १८ सम्म सम्पन्न भयो । यस महाधिवेशनमा क.वामदेव गौतमले फरक मतको लाइन र महासचिव कमरेडले केन्द्रीय समितिको वहुमतको लाइन दर्ता गरको थियो । सिङ्गो पार्टीे जनताको वहुदलिय जनवाद कार्यक्रममा एकमत हुदा हूदै पनि महाकाली सन्धी सम्वन्धमा भएको कार्यनीतिमा थोरै फरकले गर्दा अन्तमा मिति २०५४ फागुन २१ गते पार्टीमा फुट भई पुन नेकपा.(माले) को जन्म भयो । नेकपा (माले) मा सहाना प्रधान, वामदेव गौतम, सिपी मैनाली, राधा कृष्ण मैनाली, केशवलाल श्रेष्ठ लगायत धेरै एमालेको नेताहरु गए । । नेकपा एमालेको सातौ महाधिवेशन भने २०५९ साल माघ १८ देखि २२ सम्म धनुषाको जनकपुर धामको वाह्रविगाहामा सम्पन्न भयो । महाधिवेशनमा प्रजातन्त्र, शान्ति र सम्रग विकास प्रतिगमनका विरुद्ध अग्रगामी निकास भन्ने मूल नारा तय गरेको थियो । महाधिवेसशनमा करिव १०१२ प्रतिनिधिहरुले भाग लिएका थिए । महाधिवेसनले पूर्ण ४३ वैकल्पीक १२ जना गरि ५५ सदस्य निर्वाचित गरेको थियो भने क.माधव नेपाललाई महासचिवमा निर्वाचित गरेको थियो । महाधिवेशन हलमा विश्व सर्वहारा वर्गका महान दार्शनिक नेताहरु मार्कस, लेनिन, स्टालिन र माओको फोटो नराखी अधिवेशन भएको भनि अधिवेशन हलमा व्यापक चर्चा समेत चलेको थियो । ने.क.पा (एमाले) को आठौ महाधिवेशन २०६५ साल फागुन ५ देखि १४ सम्म वुटवलमा सम्पन्न भएको थियो । आठौं महाधिवेशनले क.झलनाथ खनाललाई अध्यक्ष र क.इश्वर पोखरेललाई महासचिवको रुपमा निर्वाचित गरेको थियो । नेकपा (एमाले ) को नवौं अधिवेशन भने मिति २०७१ असार १९ देखि २५ सम्म काठमाण्डौंमा सम्पन्न भयो जस्ले अध्यक्षमा के.पी शर्मा ओली उपाध्यक्षमा वामदेव गौतम,अष्टलक्ष्मी शाक्य,भिम रावल,युवराज ज्ञवाली,विद्यादेवी भण्डारी र महासचिवमा इश्वर पोखरेललाई निर्वाचित गरेको थियो ।
ने.क.पा संयुक्त चौंम ः दरभंगा प्लेनममा पुष्पलालसंग मनमोहन अधिकारीहरुको कुरा नमिले पछि २०२८ सालमा मनमोहन,शम्भुरामहरुले न्युक्लस खोलेका थिए मोहन विक्रम जेलवाट मुक्त भएपछि यसैमा आवद्ध भए । गठन भएको एक दुई वर्षमा यो न्युक्लसमा फुट आयो । त्यस पछि ०३१ सालमा चौथो महाअधिवेशन सम्पन्न भयो र यसै वाट ने.क.पा संयुक्त चौंमको स्थापना भयो । यसले देशभर छरिएर रहेका देशभक्त र जनतान्त्रिक शक्तिहरुको सरकारको कार्यनीति पारित गर्यो । यसको महामन्त्रीमा क.मोहनव्रिकम शिंह रहेको थियो । २०४० साल पछि ने.क.पा संयुक्त चौम,ने.क.पा.(मशाल),ने.क.पा.(मसाल) ने.क.पा.(चौम) तिन समूहमा विभाजन हुन पुग्यो । २०४० सालको सम्मेलनले निर्मल लामा सहितका केहि नेताहरुलाई पार्टीवाट निस्कासन गरि सेक्रेटरीमा चित्र वहादुर के.सीलाई मनोनयन गरि ने.क.पा (मशाल) को गठन गर्यो । उता निश्कासित निर्मल लामा समूहले ने.क.पा.(चौम)को गठन गर्यो र आफनोे महासचिवमा क.निर्मल लामालाई चयन गर्यो । २०४१ साल मंसिर १ देखि ६ सम्म ने.क.पा.(मशाल)को पांचौ सम्मेलन सम्पन्न भयो सम्मेलनले क.मोहन विक्रम शिंहको सारसंग्रहवादी कार्यदिशा पास गर्यो तर यौनकाण्डले उनलाई महामन्त्री वन्न दिईएन र क.किरण ( मोहन वैद्य ) लाई महामन्त्रीमा निर्वाचन गर्यो । पछि वैद्यको पालोमा सेक्टरकाण्ड घटन गयो जसले पार्टीलाई ठुलो क्षती हुन गयो सो कारणले मोहन वैद्यले महामन्त्रीवाट राजीनामा दिए र २०४५ सालमा नेकपा (मशाल) को सम्मलेलन गरि क.प्रचण्ड महामन्त्री वने । उता पांचौ महाधिवेशनमा सदस्य निर्वाचित भएका मध्ये ४ जना सदस्यहरुलाई लिएर २०४२ सालमा क.मोहन विक्रम शिहले नयां पार्टी ने.क.पा (मसाल) खोले यसको महामन्त्रीमा मोहन विक्रम शिह भए । २०४७ साल श्रावणमा पुन नेकपा (मशाल),प्रचण्ड, ने.क.पा.(चौम)निर्मल लामा र सर्वहारावादी श्रमीक संगठन,रुपलाल विश्वकर्मा विद्रोही मसाल,हरिवोल गजुरेल,वावुराम भट्टराई समेत मिली ने.क.पा.(एकता केन्द्र) वनाई २०४८ मंसिर ४ मा भएको एकता राष्ट्रिय महाधिवेशनले जनयुद्धको कार्यदिशा पास गरे । एकता महाधिवेशनमा प्रचण्डले आधार इलाका सहितको दीर्घकालिन जनयुद्ध रुपलाल विश्वकर्माले आधार इलाका विनाको दीर्घकालिन जनयुद्ध र निर्मल लामाले सशस्त्र शहरी विद्रोह गरि तिन लाईन विचार प्रस्तावित भएका थिए जसमध्ये क.प्रचण्डको लाइन पास भएको थियो । सोही समयमा संसदीय निर्वाचनलाई जनवादी क्रान्तीको पक्षमा प्रयोग गर्न सयुक्त जनमोर्चा नामक चुनावी मोर्चा निर्माण गरि सो पार्टीले २०४८ सालको संसदिय चुनावमा भाग लियो जस्मा जम्मा ९ सिट मात्र जित्न सफल भयो । संसदीय निर्वाचनलाई जनवादी क्रान्तीको पक्षमा प्रयोग गर्ने नीति लगभग असफल भए पछि २०५१ साल फागुन २ देखि ४ सम्म ने.क.पा (एकता केन्द्र) को तेस्रो विस्तारीत वैठकवाट ने.क.पा (एकता केन्द्र) को ठाउमा ने.क.पा (माओवादी) नामाकरण गरि क्रान्तीको राजनैतिक तथा फौजी कार्यदिशा निर्माण गर्ने काम भयो । सोही समयमा क.निर्मल लामाहरुले वैधानिक सर्घषलाई मुख्य मानी जनयुद्ध प्रति असहमत जाहेर गरि निर्मल लामा सिहित नारायण काजी श्रेष्ठ,अमिक शेरचन,लिलामणी पोखरेलहरुले छुटै एकता केन्द्र गठन गरे फलस्वरुपम क.पचण्डले आफनो पार्टीको नामाकरण ने.क.पा (माओवादी) राखे । माओवादीले २०५१ फागुन १ वाट शसस्त्र आन्दोलनको शुरुवात गर्यो ।यस विचमा देशमा धेरै परिवर्तनहरु भए हजारौं नेपाली आमाको सपुतहरुले यसै अवधिमा ज्यान गुमाए देशले केही गुमायो केही नयांपन पायो र अन्तमा २०५१ सालमा शुरु भएको शसस्त्र क्रान्ती २०६३ साल मंसिर ५ गते वृस्त्रीत शान्ति सम्झौता मार्फत टुङ्घीई देशमा शान्ती प्रकृया शुरु भयो ।
सन्र्दभ सामाग्रीहरु ः
१.ऐतिहांसिक दस्तावेज संग्रह (पहिलो भाग) डा. सुरेन्द्र के.सी
२. ऐतिहांसिक दस्तावेज संग्रह (दोस्रो भाग) डा. सुरेन्द्र के.सी
३.माक्र्सवादी राजनीति शास्त्र प्रा.डा.गोपाल सिवाकोटी
४.क्रान्ती र शिद्धान्त मोहन वैद्य
५.राजनीतिक जीवनको ५५ वर्ष लक्ष्मी भक्त उपाध्याय
६.केही सम्झना केही चिन्तन डा केशरजंग रायमाझी


  • 20
    Shares

Comments

comments