मानव बस्तीमा इँटाभट्टा कि इँटाभट्टामा बस्ती ?

  • 547
    Shares

३ पुस, काठमाडौं । काठमाडौं जिल्लाभरि दुई वर्षअघिसम्म २४ वटा इँटाभट्टा सञ्चालनमा थिए । तर अहिले घटेर १० वटामा आइपुगेको काठमाडौं इँटा उत्पादक संघले जनाएको छ । हाल चन्द्रागिरि नगरपालिकाअन्र्तगत थानकोट क्षेत्रमा ८ र दक्षिणकाली क्षेत्रमा २ वटा उद्योगहरू मात्र सञ्चालनमा छन् ।

यस्ता उद्योगले घनाबस्ती रहेका क्षेत्रमा वातावरण प्रदूषण गरेको भन्दै सबै इँटाभट्टा बन्द गर्न स्थानीयले अभियान थालेका थिए । वातावरण संरक्षण अभियानका नाममा स्थानीयले इँटाभट्टा स्थानान्तरण गर्ने अभियान चलाएको इँटा उद्योगी किरण कार्कीले बताए ।

यो समस्या काठमाडौंको मात्रै होइन, देशका सबै ठूला सहरहरूको हो । घना बस्तीको बीचमा कालो धुँवा पुत्पुताउँदै गरेको इँटाभट्टाहरू देशैभर देख्न सकिन्छ ।

चन्द्रागिरिमा पनि बस्तीका सामुन्नेमा कालो धुँवा फाल्दै गरेका इँटा भट्टाहरू छन् । इँटा उद्योगका कारण श्वासप्रश्वासमा समस्या देखिएका बिरामीको संख्या उल्लेख्य भएको इँटाभट्टापिडित मूल संघर्ष समितिले जनाएको छ । समितीका अध्यक्ष मुकुन्द घिमिरेले भट्टाकै कारण बिहान ३ बजेदेखि सुत्न नसकिएको, व्यायामका लागि टोलमा निस्कन नसकिएको, धूलो र धुवाँले वातावरण प्रदूषित बनेको, सडक बिग्रिएको, घर वरिपरि ठूला–ठूला खाल्टा खनेर टापुजस्तो बनाइएको बताए ।

हराभरा र स्वच्छ चन्द्रागिरि अभियानका लागि इँटाभट्टाहरू बाधक भएको संघर्ष समितिको ठम्याइ छ । ऐतिहासिक चन्द्रागिरि क्षेत्रका सम्पदाहरू सहित कीर्तिपुरका सम्पदामा समेत उद्योगले क्षति पुर्याएको अध्यक्ष घिमिरेले बताए । मानव जीवनमा प्रतिकूल असर पार्ने उद्योगहरू बस्तीबाट हटाउन ढिला गर्न नहुने उनको भनाइ छ । सबै उद्योगहरू नहट्दासम्म विभिन्नखाले आन्दोलन जारी रहने संघर्ष समितिले जनाएको छ ।

घना बस्तीमा रहेको भट्टाले मानव जीवनमा असर पारेको भन्दै थानकोट क्षेत्रमा इँटाभट्टा भत्काउन ०६९ देखि अभियान चलाइएको थियो । तत्कालीन वाण भञ्ज्याङ गाविसमा ०६९ मा चलाइएको आन्दोलनले दुई वटा उद्योग बिस्थापित भए । यस्तै ०७० र ७१ मा भट्टा विरुद्धको त्यस्तै आन्दोलनले दहचोक गाविसबाट पनि भट्टाहरू बन्द र विस्थापित भएका थिए । ०७२ मा चन्द्रागिरि नगरपालिकाको नगरसभाले बस्तीमा प्रदूषणकै कारण भट्टा बन्द गर्ने निर्णय गरेको थियो ।

नवगठित नगरपालिकाले सबै उद्योग बन्द गर्न उतिबेलै पत्राचार गरेको नगरपालिको अभिलेखमा देखिन्छ । व्यवसायीले लगानी डुब्ने भन्दै समय मागेपछि उद्योगहरू सञ्चालनमा थिए । तर ०७६ साउन १ मा सबै उद्योगलाई चन्द्रागिरि छोड्न पुनः नगरपालिकाले पत्राचार गरेको छ । कार्तिक ३ गतेदेखि दबाव समूह नै बनाएर स्थानीय बासिन्दा पनि उद्योग बन्द गराउन लागि परेका छन् ।

२०६८ को जनगणना अनुसार, हालको चन्द्रागिरि नगरपालिका रहेको विभिन्न गाविसको कुल रैथाने घरधुरी संख्या ८० हजार हाराहारीमात्रै थियो । चन्द्रागिरि नगरपालिका क्षेत्रमा हाल सञ्चालित इँटा उद्योगहरू तत्कालीन गाउँ विकास समितिको कार्यालयको सिफारिसमा सञ्चालनमा आएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले बताए । तत्कालीन समय बस्ती भएको ठाउँमा गाविसले कुनै पनि इँटाभट्टा खोल्नका लागि सिफारिस नगरेको उनको भनाइ छ ।

केही समयअघिको एक सर्वेक्षण अनुसार, नगरपालिका क्षेत्रमा रैथाने घरधुरी संख्या १ लाख २५ हजार नाघेको छ । प्राप्त आँकाडामै २५ प्रतिशतभन्दा बढीको वृद्धिदर भएको नगरपालिकाले जनाएको छ । भाडामा अस्थायी बसोबास गर्ने तथा स्थायी संरचना बनाएर पनि बसाइँसराइ नल्याएका अन्य हजारौं नयाँ घरहरू नगरपालिकामा थपिएको र अभिलेख बन्नै बाँकी रहेको नगरपालिकाको दाबी छ ।

संघर्स समितिका अध्यक्ष घिमिरेको घर इँटाभट्टाबाट टाढा छैन । भट्टाको प्रदूषणबाट पीडित हुने अरू कैयौंमध्ये आफू पनि एक भएको उनी बताउँछन् ।

तर घिमेरेको घर नजिक इँटाभट्टा खुलेको नभई उनी आफैं भट्टा नजिक घर बनाउन आएको इँटा उद्योगी बताउँछन् । काठमाडौं इँटा उत्पादक संघको दाबी अनुसार, अहिले पीडित भन्दै आन्दोलनमा उत्रेकाहरू सबै सस्तोमा जग्गा र इँटा पाइन्छ भनेर नजिक आएर बसेका हुन् ।

काठमाडौंमा हाल सञ्चालनमा रहेका इँटा उद्योगहरू भएको ठाउँमा पहिले मानव वस्ती नरहेको व्यवसायीहरू बताउँछन् । कस्तो ठाउँमा कस्तो उद्योग राख्दा प्रदूषण मात्रा के रहन्छ भन्ने जानेरै उतिबेला इँटाभट्टा खोल्न अनुमति दिइएको व्यवसायी किरण कार्कीले बताए ।

‘इँटाभट्टा जहाँको त्यहीँ छ, तर केही वर्षयता वस्तीहरू इँटाभटा भएको ठाउँमै आइपुगे । भट्टीबाट सस्तोमा इँटा लिएर घर पनि बनाए तर अहिले प्रदूषण भयो भन्दै भट्टीविरुद्ध लागेका छन्’, व्यवसायी कार्कीले भने ।

उनी थप्छन्, ‘भट्टा त जहाँ खोले पनि प्रदूषण हुन्छ । उद्योगको प्रकृति नै यस्तै छ । अब इँटा उद्योग बन्द गर्ने कि लखेट्दा लखेट्दै कर्णाली पुर्याउने हो ?’

प्रदूषणको मात्रा घटाउन सरकारी तथा गैरसरकारी निकायसँग मिलेर काम गरिरहेको व्यवसायीहरू बताउँछन् । संसारको सबैभन्दा उत्तम प्रविधिमार्फत सेतो धुवाँ निकाल्नेसम्मको काम आफूहरूले गरिरहेको व्यवसायी कार्कीले बताए ।

एउटा इँटा उद्योग सञ्चालन गर्न कम्तीमा ७ करोड रुपैयाँ सुरुवाती पूँजी लाग्ने व्यवसायी बताउँछन् । आफ्नो घर बनाएपछि उद्योगी जहाँसुकै जाऊन् भन्ने स्थानीयको तर्क ठीक नभएको उनीहरूको भनाइ छ । ठूलो लगानीकै कारण उद्योगको स्थायित्व, निरन्तरता र उत्पादन जरूरी भएको भन्दै व्यवसायीले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

वातावरण प्रदूषण गरेको भन्दै पछिल्लो समय विभिन्न स्थानीय तहले इँटाभट्टाका चिम्नीहरू डोजर प्रयोग गरेर भत्काइरहेका छन् ।

अनलाइन खबर बाट साभार

लिन्क:- https://www.onlinekhabar.com/2019/12/821555


  • 547
    Shares

Comments

comments