शव पाउन पनि सास्ती

  • 116
    Shares

काठमाडौँ । पर्खालबाहिर आफन्तहरूको आर्तनाद छ । अकालमा मृत्युवरण गरेका र भवितव्यमा परेका शवहरू पोष्टमार्टम गर्न हरबखत ल्याइरहन्छन् । र, तीनैका आफन्तको कोलाहलले आर्यघाटको विदारक क्षण बिर्साउँछ भनौँ ।

त्यसको ठिक अघिल्तिर भने सन्नाटा छ । सोमबार त्रिभुवन विमानस्थलको धावनमार्गमै दुर्घटनाग्रस्त भएको यूएस बंगला विमानका दिवंगत ४९ शव ल्याइएको छ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा । त्यही विभाग अघिल्तिरको प्राङ्गणमा शव पर्खिरहेका छन् आफन्तजन, ३६ घन्टादेखि ।

“तीन दिन भयो बिनापानी शव पर्खिएको !,” भीडमा आवाज सुनियो । पुर्पुरोमा हात लगाएर ठिङ्ग उभिएका थिए उनी । खिरिलो ज्यान । बुट्टे सर्ट लाएका । ती कुशादेवी काभ्रे स्थायी घर भएका न्युरो सर्जन डा. बालकृष्णका भतिजा प्रह्लाद थापा रहेछन् ।

“घरमा रुवाबासी छ, छोराछोरीहरू हजुरबा खै भन्दै बर्बराउँछन् मात्रै । काकी दुई दिनदेखि बेहोसै हुुनुहुन्छ । अस्ट्रेलियामा रहेका छोराछोरी बाबु बितेको खबर पाउनासाथ नेपाल हान्निएका छन्, हङकङ आइपुगे, शायद !,” सञ्चारकर्मीसँग बह बिसाउँदैथिए उनी ।

विभागको प्राङ्गणमा त्यस्तै २०–३० जना आफन्त हुँदा हुन् । उनैलाई सोध्थे, “आज शव देलान् त ?”

विमान दुर्घटनामा परेको सुनेलगत्तैदेखिको दौडधूपका बीचमा पनि काका नरहेको विश्वासै लाग्दैन उनलाई । “कसैलाई भनिबिझाएको थाहा छैन । सबको भलो चिताएकाले होला, गावैँ शोकमग्न छ,” बेलाबखत काकालाई सम्झन्छन् र भित्तातिर आँखा पुर्‍याउँछन् । भित्तामा पनि दुर्घटनामा ज्यान गुमाएका भर्खरै एमबीबीएस उत्तीर्ण कलिला चिकित्सकसँगै काकाको हाँसिरहेको तस्बिर टाँसिएको छ । भावविह्वल हुन पुग्छन् उनी ।

०२३ सालका काका । ०२७ सालका उनी । उमेरमा पनि खासै भिन्नता छैन । “हामी तँ दौँतरीजस्ता पो थियौँ,” बचेखुचेको अनुहारको आभा पनि अस्ताउँछ उनको । केहीबेर भक्कानिएपछि ओठ उघार्छन्, “शव पाए दाहसंस्कार गर्न हुन्थ्यो नि !”

भलिबलका सौखिन थिए काका । स्कुल पढ्दाताका खुब खेल्थे भलिबल । शिक्षामा उस्तै विलक्षण, तिलस्मी पनि ।

प्रह्लादलाई सम्झना ताजै छ, “पढाइमा अत्यन्तै तेज हुनुहुन्थ्यो । एक कक्षादेखि न्युरो सर्जन हुँदासम्म कसैले उछिन्न सकेनन् । भरतपुरको अस्पतालमा थुप्रै बिरामीले काकालाई पर्खिइरहेका हुँदा हुन् ।”

शवको सद्गत नभएकाले परिवारका बालखसमेतले नुन खान पाएका छैनन् । काँडाघारीस्थित घरमा आउने–जानेका कसैका आँखा ओभानो छैनन् । वृद्धावस्थाका पिता अचेतजस्तै छन् । शव लिन ओहोरदोहोर गर्दा आफैँ पनि सिकिस्त बिरामीजस्ता भइसके प्रह्लाद ।

डिले हुँदा दुर्दशा
आफैँ पढेको कलेजको सेमिनारमा सहभागी हुन ढाका पुगेका थिए बालकृष्ण । त्यसवर्ष उत्तीर्ण गरेका सबै सर्जनलाई बोलाएर कलेजले सेमिनार आयोजना गरेको थियो, थापा छुट्न चाहेनन् ।

अघिल्लो दिन नै फर्कने तयारी थियो । उडान डिले भएकाले भोलिपल्ट फर्किएका हुन् उनी । तर, एअरपोर्टमा अवतरण हुन नपाउँदै जहाजसँगै ‘भष्म’ हुनुपर्‍यो ।

दुर्घटनामा परे–नपरेको यकिन हुन पनि परिवारजनले ठूलै सास्ती बेहोर्नुपर्‍यो । मोबाइल अफ छ । देख्यौँ, भेट्यौँ कसैले भन्दैन । विमानस्थलका कर्मचारीको हप्कीदप्की उस्तै । “भीआईपी एरिया, जो पायो त्यही पस्न मिल्दैन । विमानस्थलमा भए प्रहरीले जानकारी दिइहाल्छन् नि । बरु रेडियो सुन्नु, टेलिभिजन हेर्नू नि ! तिमीहरू गएर घाइते बाँच्छन् र !,” अत्यन्तै रूखो वचनले हकार्थे विमानस्थलका कर्मचारी ।

“बेलुका पाँच बजेदेखि दौडधूप सुरू गरेको मध्यरातिमात्रै टुंगो लाग्यो– काका रहनुभएन । अहिलेसम्म शवसम्म देख्न पाएका छैनौँ,” फेरि भक्कानिए उनी ।

बंगलादेशबाट आएकाको झन् बिजोग
शिक्षण अस्पतालमा दुःख पाउने नेपालीमात्र छैनन् । दिवंगत २६ बंगलादेशी नागरिकका आफन्तको व्यथा पनि एकनासे छ । एकातिर प्रियजन गुमाएको पीडा, अर्कातिर शव नपाउँदाको सास्ती । दोहोरो मारमा छन् उनीहरू ।

“कहिलेकाहीँ आउँछन् र हाम्रैजस्तो रहेछ प्रशासन– ‘लेन्दी’ भन्दै खिसी गरेर जान्छन्,” सुनाउँदैथिए प्रह्लाद ।

२६ बंगालीका आफन्त दिनभर अस्पतालको गेट कुर्छन् र बेलुका फरेन्सिक विभागको ‘ब्रिफिङ’ सुनेर विक्षिप्त हुँदै फर्कन्छन् । “आफन्त गुमाएकालाई बेलैमा शव बुझाउन सके पनि पीडामा मल्हम लाग्दो हो,” प्रह्लादको तर्क छ ।

छिट्टै शव पाउने छाँट नदेखेपछि बंगलादेशबाट आएका आफन्त ठमेलमा बसेका छन् । उनीहरूको माग एउटै छ– शव देऊ छिटो !

“भाषा पनि बुझ्दैनन् । दिनभरजसो यहाँ आएर बस्छन् र बेलुका निराश हुँदै फर्कन्छन्,” ढाकाबाट आएका एक सञ्चारकर्मी भन्दै थिए ।

उता, फरेन्सिक विभागका प्रमुख प्रमोद श्रेष्ठलाई पनि जवाफ दिन भ्याइनभ्याइ छ । भीमकाय दुर्घटनामा परी ज्यान गुमाएका परिवारजन र आफन्तले ताकेता गरेका गर्‍यै छन्– शव यथाशीघ्र उपलब्ध गराऊ । तर, कहिलेसम्म पोष्टमार्टम सकिन्छ, उनी आफैँ भन्न असमर्थ छन् ।

“शनिबारसम्म पोष्टमार्टम सकियो भने केही शव आफन्तको जिम्मा लगाउन सकिन्छ । तर, शनिबारसम्म सकिन्छ कि सकिँदैन यसै भन्नचाहिँ सकिँदैन, बरु विभागले दिएको फारममा विवरण भरेर सहयोग गरिदिनुस्,” पीडित आफन्तजनलाई दिने जवाफ यही छ उनको ।

बुधबार राति अबेरसम्म २४ शवको पोष्टमार्टम भएको छ । अन्य दुर्घटनामा परेजस्तो सजिलो छैन पोष्टमार्टम गर्न । अधिकांश शव डढेर चिन्नै नसक्ने भएका छन् । जलेर खाक भएका शवहरू धोइपखाली गरेर पहिचान गर्नुपर्ने भएकाले समय लागेको पोष्टमार्टममा सहभागी चिकित्सक बताउँछन् ।

“यस्तो कोलाहलका बीच ढिलासुस्ती गर्न कसलाई रहर छ र ! प्रशस्त जनशक्ति भए पनि शवको प्रकृतिले नै लम्बेतान बनाइरहेको छ,” चिकित्सकको दुखेसो आफ्नै छ ।

४९ शव परीक्षण गर्न १५ जना चिकित्सक खटिएका छन्, ४ समूह बनाएर । पहिलो समूहले प्रहरीसँग निधन भएकाहरूको गरगहना, कपडा, उनीहरूले प्रयोग गरेका सामग्री संकलन गरिहेका छन् । दोस्रो र तेस्रो समूहले शव परीक्षण गरिरहेको छ भने चौथो समूहले शवको पहिचान हुनसक्ने गरी पीडितजनसँग विवरण भराइरहेको छ । बुधबारसम्ममा ४४ जना आफन्तले विवरण भरी फारम उपलब्ध गराएको फरेन्सिक विभागको तथ्याङ्क छ ।

डीएनए टेस्ट गर्नुपर्ने हुनसक्छ
पोस्टमार्टमबाट मात्रै शवको पहिचान हुन नसके डीएनए टेस्ट गर्नुपर्ने हुन्छ । कपाल, रगत, हड्डी, दाँत आदिबाट डीएनए टेस्ट गर्न सकिन्छ । तर, नेपालमा रगत र हड्डीबाटमात्रै डीएनए टेस्ट गर्न थालिएको छ ।

राष्ट्रिय विधिविज्ञान प्रयोगशाला र केन्द्रीय प्रहरी कार्यालयको विधि विज्ञान प्रयोगशाला दुई ठाउँमा बाहेक अन्यत्र डीएनए परीक्षण हुँदैन । रिपोर्ट आउन झन्डै एक महिना लाग्नसक्ने हुनाले कतिपय आफन्तजनले अझै पीडा झेल्नुपर्ने अस्पताल प्रशासन लख काट्छ ।

“पीडित परिवारको सहयोगमा हामीले भरमग्दुर प्रयास गरिरहेका छौँ । शवको प्रकृति हेर्दा कतिपय शवको डीएनए परीक्षण नै गर्नुपर्ने हुनसक्छ,” सम्भावना औँल्याउँछन् प्रमोद ।

‘दुर्घटनाको सत्यतथ्य छानबिन होस्’

नेपाली आकाश असुरक्षित रहेको चर्चा बेलाबखत हुनेगरेकै हो । तर, यसपटक विमानस्थल नै असुरक्षित रहेको सन्देश फिँजिएको छ । विमान दुर्घटनामा परेको १३ मिनेटपछि दमकल पुगेको भन्दै विमानस्थल प्रशासनको लापरवाहीको प्रश्नसमेत आफन्तले उठाएका छन् । “दमकल नहुँदा दुर्घटनालगत्तै पुगेका नेपाली सेना र प्रहरी रमिते बन्नुपर्‍यो । विमानस्थलजस्तो पहुँचयुक्त ठाउँमा पनि दमकल तयारी हालतमा राख्न सकिँदैनथ्यो ?” प्रश्न गर्छन्, कतिपय आफन्तजन ।

त्यसबाहेक दुर्घटनालगत्तै विमानस्थल पुगेका परिवारजनलाई विमानस्थलका कर्मचारीले प्रताडित तुल्याएको भन्दै पीडितहरूको आक्रोस छ ।

उनीहरूको अर्को माग छ– सत्यतथ्य छानबिन होस् । मर्नेहरू त मरेर गइहाले, दुर्घटनाका यथार्थ कारणको पहिचान गर्न सकिएन भने नेपाली उड्ययन उद्योग धराशायी बन्ने र अन्तर्राष्ट्रिय उडान कम्पनीहरू नेपालमा उडान नभर्ने अवस्था आउन सक्छ ।

“विमान दुर्घटनापछि पाइलटको थाप्लोमा दोष थोपरेर छानबिन प्रतिवेदन तयार पारिन्छ । यसपटक पनि त्यस्तो नहोस् । यथार्थ कुरा पत्ता लगाइएन भने मृतकको आत्माले पनि शान्ति पाउँदैन,” आफन्तको भीडबाट खबरदारी पनि सुनियो ।१२ खरी


  • 116
    Shares

Comments

comments