४ सय ४८ जनाले चढे यस पटक सर्वोच्च शिखर

  • 23
    Shares

चन्द्रागिरि ।

यस वर्षको वसन्तकालीन सिजनमा स्वदेशी र विदेशी गरी ४ सय ४८ आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । चैतदेखि सुरु भई जेठमा सकिएको आरोहण सिजनमा १ सय ८९ विदेशी र २ सय ५९ नेपाली गरी ४ सय ४८ आरोही सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ । गत वर्षको यही वसन्तकालीन याममा २९ मुलुकका १ सय ९९ विदेशी र २ सय ५७ जना नेपाली गरी ४ सय ५६ ले सगरमाथा अरोहण गरेका थिए ।

विभागको पर्वतारोहण शाखाका नायब सुब्बा खेमराज अर्यालका अनुसार यसपटक सगरमाथा आरोहणका लागि सलामी दस्तुर तिरेर परमिट लिनेमा २१ जना नेपालीसहित ३ सय ७५ थिए । सगरमाथा आरोहणका लागि विदेशीले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर (११ लाख ४३ हजार हाराहारी) र नेपालीले ७५ हजार रुपैयाँ सलामी दस्तुर तिर्नुपर्छ । यसपटकको सिजनमा सगरमाथा आरोहणका लागि नेपालसहित ४५ भन्दा बढी मुलुकका नागरिकले अनुमति लिएका थिए ।

यस सिजनमा सगरमाथा चुचुरोमा पुग्ने २ सय ५९ नेपालीमध्ये अधिकांश सलामी दस्तुर तिर्नु नपर्ने नेपाली थिए । विदेशीलाई आरोहणमा सघाउने, हाई अल्टिच्युट गाइड, सरदार, शेर्पा आदिले सलामी दस्तुर तिर्नु पर्दैन । तर, आरोहण दलको सदस्य वा टिम लिडरको अनुमति लिने नेपाली आरोहीले प्रतिव्यक्ति ७५ हजार रुपैयाँ तिर्नुपर्छ । विभागका प्रवक्ता दुर्गादत्त ढकालका अनुसार यस वर्ष सगरमाथा आरोहणका क्रममा एक नेपालीसहित ५ जनाको मृत्यु भएको छ ।

 नेपालले ५ हजारभन्दा अग्ला ८ हजार ८ सय ४८ मिटरसम्मका १३ सय १० वटा हिमचुचुरा पहिचान गरेको छ । यीमध्ये ४ सय १४ हिमाल आरोहणका लागि खुला गरेको छ । तर, हरेक वर्षको वसन्तकालीनलगायतका सिजनमा सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से, नुप्से, अन्नपूर्ण, मनास्लु र धौलागिरि आरोहण गर्न अनुमति लिनेको संख्या अधिक हुन्छ । सरकारले वर्षमा चारपटक (वसन्त, वर्षा, शरद र हिउँदयाम हिमाल आरोहणका लागि खोल्ने गरेको छ । यी चार सिजनमध्ये वसन्तकालीन याममा सबैभन्दा धेरै आरोहणका लागि हिमालका आधार शिविरमा पुग्ने गर्छन् ।

विभागबाट यसपटक कञ्चनजंघा आरोहणका लागि ११ जना विदेशी पुगेका थिए । तर, आरोहण सफल हुन नसकेको नायब सुब्बा अर्यालले बताए । त्यस्तै मकालु आरोहणका लागि ४५ जना विदेशी गएका थिए । यीमध्ये १२ विदेशी र १४ नेपालीले आरोहण गरेका थिए, इकान्तिपुरमा खबर छ। ल्होत्सेका लागि १ सय १३ विदेशी त्यहाँ पुगेका थिए । उनीहरूमध्ये ५९ विदेशीसहित ९५ चुचुरोमा पुग्न सफल भए । यो हिमाल आरोहमा ३६ नेपाली थिए ।

यता पश्चिमतर्फको अन्नपूर्ण आरोहणका लागि १४ र धौलागिरिका लागि ७७ जना विदेशीले अनुमति लिएका थिए । तीमध्ये अन्नपूर्णमा ६ जना र धौलागिरिमा ३२ विदेशीसहित ५९ ले आरोहण सके ।

नेपालमा भएका हिमालमध्ये सबैभन्दा धेरै खर्च सगरमाथा आरोहणमा लाग्छ । विदेशीले एकपटक सगरमाथा आरोहण गर्दा सरकारलाई तिर्ने आरोहण दस्तुर ११ लाख रुपैयाँसहित कम्तीमा ३० लाखदेखि १ करोड रुपैयाँसम्म खर्च गर्छन् ।

 


  • 23
    Shares

Comments

comments